नेपाली कांग्रेसको आन्तरिक विवाद चुलिएको छ। पुसमा विशेष महाधिवेशन सकेयता कांग्रेसभित्र तीव्र असन्तुष्टि देखिन्छ। असन्तुष्ट नेताहरूको अगुवाइ पूर्णबहादुर खड्का, विमलेन्द्र निधि, शशांक कोइराला, प्रकाशमान सिंह र कृष्ण सिटौलालगायतले गरेका छन्। यसै सन्दर्भमा नेता मीनबहादुर विश्वकर्माले अबको १०-१५ दिनभित्र पार्टी एक रहने वा नयाँ कांग्रेस जन्मिने टुंगो लाग्ने बताएका छन्। १५औँ महाधिवेशनको तयारी, संस्थापन र संस्थापन इतर समूहबीचको मतभेद, एकताको सम्भावना तथा नयाँ पार्टी गठनसम्मका विषयमा केन्द्रित रहेर गरिएको कुराकानीका क्रममा उनले यस्तो दाबी गरेका हुन्। नेपाली कांग्रेसका पूर्व प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्मा आफूहरू एकताका पक्षमा भिएको दाबी गरे। प्रस्तुत छ- विश्वकर्मासँग धैर्यकान्त दत्तले गरेको कुराकानी :
नेपाली कांग्रेस फुट्न लागेको हो?
पार्टी विभाजन हुनु राम्रो होइन, एकता गर्नुपर्छ। एकता गर्ने क्रममा ढिलाइ भएर सार्थक परिणाम ननिस्किएपछि एकता गर्नका लागि दबाब सिर्जना गर्ने भनेर सम्पर्क कार्यालय बनाएका हौँ। यो पार्टी कार्यालय होइन, नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधरहरूको सम्पर्क कार्यालय हो।
१५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने प्रयत्न गर्न, सम्पर्क, समन्वय र सम्बन्ध विस्तार गर्नका लागि कार्यालय उद्घाटन गरेका हौँ। एकता हुँदैहुँदैन भन्ने होइन, एकता होस् भन्ने कामना गर्दै कार्यालय खोलेका हौँ। एकता भएन भने यही कार्यालयमा अर्को पार्टीको नाम बस्न पनि सक्छ भन्ने चिन्ता हो।
संस्थापन पक्षसँग तपाईँहरूको कस्तो विमति हो? कुरा कहाँ मिल्न सकेको छैन?
कुराचाहिँ उहाँहरूले मिलाउन नचाहेको देखिन्छ। नमिल्ने कुरा केही पनि छैन, सबै मिल्या छ। पहिले जेजे कुरा हुन्छ भन्नुहुन्छ भइहाल्छ त भन्नुहुन्छ। फेरि यो त हुँदैन भन्नुहुन्छ। अहिलेचाहिँ टेबुलटक ठ्याक्कै कसैले नगर्ने। म्यासेज पठाउने, व्हाट्सएप पठाउने, व्यक्तिबाट कुराकानी पठाउने। टेबुलमा बस्यो भने एकछिनमै कुरा मिल्छ भन्ने मलाई विश्वास छ। विशेष महाधिवेशन पक्षधरलाई कुरा मिलाउने मनै देखिएको छैन। सभापतिलाई मात्रै के दोष दिने? विशेष महाधिवेशन पक्षधरलाई नियमित महाधिवेशन पक्षधरसँग सहकार्य गर्न सायद अहिले त्यति जाँगर नलागेको हुन सक्छ।
संस्थापनसँग तपाईँहरूले चाहेको के हो?
हाम्रो माग एकदम सजिलो छ। उहाँहरूले भनेको ५४ प्रतिशत, ५४ प्रतिशतले विशेष महाधिवेशन गरे। उहाँहरूकै भाषामा ४६ प्रतिशत बाहिरै छन्। १५ औँ महाधिवेशनमा जाने भए विशेष महाधिवेशनको औचित्य पनि सकियो। किनभने फागुन २१ को निर्वाचनमा फलानोको अनुहार देखाएर हामी निर्वाचनमा जान सक्दैनौँ भनेर उहाँहरूले भन्नुभयो। उहाँहरूले भनेअनुसार फलानाको अनुहार नदेखाई हामी चुनावमा गयौँ, परिणाम पनि गलतै आयो। त्यसैले विशेष महाधिवेशन जेका लागि गरियो त्यो त असफल भइसक्यो।
१५ औँ महाधिवेशनमा जाँदा नियमित महाधिवेशन पक्षधरलाई पनि सँगै लिएर जाऔँ भनेका हौँ। अब उहाँहरूले सँगै लिएर जान सकिँदैन भन्ने कुरा उहाँहरूबाटै सीधै त सुनेको छैन। तर मिडियामा आएकोले कि त उहाँहरूले खण्डन गर्नुपर्यो, होइन भने त्यही कुरा हो भने पार्टी मिल्ने अवस्था देखिरहेको छैन।
तपाईँँहरूको तर्फबाट पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १११ जनालाई केन्द्रीय सदस्य बनाउनुपर्ने प्रस्ताव राख्नुभएको भन्ने छ नि?
यति जना उति जना भन्ने छैन। उहाँहरू एक्लाएक्लै सबै जनालाई अनुरोध गरिरहनुभएको छ। आइदिनुस् बसिदिनुस् भनिरहनुभएको छ। तर सबैलाई ल्याउँदाचाहिँ नियमित महाधिवेशन पक्षधर पनि आउने भए, पार्टी मिल्ने भए। एक्लै एक्ले भेटेर तपाईँलाई वरिष्ठ बनाउँछौँ, यो पद दिन्छु, त्यो पद दिन्छु, एक्ला एक्लै सबैलाई भन्नुभएको छ।
सामूहिक रूपले पार्टी एकताको सन्देश दिन नियमित महाधिवेशन पक्षधर र विशेष महाधिवेशन पक्षधरलाई एकता गर्न, दुवै पक्षका नेताहरू समावेश गरी बृहत् केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने भन्नेबित्तिकै पार्टी एक हुन्छ, मान्छे समूहबाट व्यक्तिमा रूपान्तरण हुन्छ। त्यसपछि स्वाभाविक ढंगले पार्टी कार्यालयमा सबै पुग्छन्। १५ औँ महाधिवेशन उमंगका साथ हुनेछ। तर त्यो कुरा किन गरिरहेका छैनन् यो चाहिँ रहस्यमयी छ। जसरी जिद्दी गरेर विशेष महाधिवेशन नभई हुँदैन भन्नुभयो त्यसैगरी अहिले एकता गर्न नचाहेको हो कि जस्तो लाग्छ।
तपाईँहरूको समूहका शीर्ष नेताहरू नयाँ पार्टी बनाएर अगाडि बढ्नुपर्नेमा एकमत हुनुहुन्छ भनिएको छ नि। यो सही हो?
अहिले चाहिँ उहाँहरू के भन्नुहुन्छ भने अलमल गरेर बसेर हामी त पूर्वपदाधिकारी भइसक्यौँ। तर धेरै साथीहरूलाई क्रियाशील अद्यावधिक गर्नु पर्दैन पनि भनिसक्यौँ। अद्यावधिक पनि नगर्ने, विकल्प पनि नदिने, पार्टी एकतातर्फ पनि नजाने जस्ता अनिर्णय गर्नु हुँदैन। वार कि पार गर्नुपर्छ भन्ने उहाँहरूको भनाइ छ।
तपाईँहरूको समूहमा राष्ट्रिय भेला बोलाउने प्रस्ताव आएको हो?
हो, राष्ट्रिय भेला बोलाउने प्रस्ताव आएको छ। सम्भवतः भोलिको बैठकले यसबारे निर्णय गर्ला। आजचाहिँ सम्पर्क कार्यालय उद्घाटन गर्ने निणय भएको छ। साउन ६ गते काठमाडौँमा बीपी दिवस भव्य रूपमा सम्पन्न गर्ने निर्णय गरेको छ।
राष्ट्रिय भेलाले नयाँ नेतृत्व चयन गर्ने हो?
अब यसको कार्यविधि बनाइएला। राष्ट्रिय भेला किन, केका लागि, किन गर्ने, कसरी गर्ने, कसले गर्ने भन्ने कुरा भोलिको बैठकले निर्णय गर्ला। तपाईँहरूले उठाएको कदमप्रति
नेता शेखर कोइरालाको धारणा कस्तो पाउनु भएको छ?
उहाँ सकारात्मक हुनुहुन्छ। यो कार्यक्रमप्रति उहाँलाई सकारात्मक पाएका छौँ।
संस्थापनसँग सहमति जुट्न अवस्था बन्न नसके कांग्रेस फुट्यो भन्दा हुन्छ?
नेपाली कांग्रेस पार्टी अर्को पनि बन्ने भयो भन्दा हुन्छ, फुट्यो भन्ने भाषा प्रयोग गरेको छैन। किनभने सानेपाकै केन्द्रीय कार्यसमितिका साथीहरू बाहिर निस्किनुभयो भने त्यसलाई फुटेको मान्न सकिन्छ। आयोग र अदालतबाट वैधानिकता पाइसकेपछि त्यो नेपाली कांग्रेस भयो। त्यहाँबाट साथीहरू निस्कनुभयो भने त्यो फुटेको भयो, बाहिरै रहेका साथीहरूले बनाउनु भयो भने नयाँ कांग्रेस बन्ने भयो। उहाँहरू आफूलाई बदलिएको कांग्रेस भने पनि नबदलिएको कांग्रेस रहने भयो।
त्यसो भए तपाईँहरू २०५९ तिर फर्कन लाग्नुभएको हो?
अब त्यही सिनारियो त होइन। नेपाली कांग्रेस अबको १०-१५ दिनमा एक नरहन सक्ने सम्भावना बढी देखिरहेको छु मैले।
फागुन २१ को चुनावपछि पुराना दलहरू एक हिसाबले बढारिएका छन्। यस्तो अवस्थामा कांग्रेसको आन्तरिक झगडाले तपाईँहरू कहाँ पुग्नु हुन्छ?
सबै सकिन्छौँ हामी, तहस नहस हुन्छैँ, राम्ररी थाहा छ। त्यसैले हामीले के भन्यौँ भने निर्वाचनअगाडि कुनै अधिवेशन गर्नु हुँदैन। विशेषत: झनै गर्नु हुँदैन भनेर हामीले भनेका थियौँ। उहाँहरूले निर्वाचनअगाडि अधिवेशन हुनैपर्छ भन्ने अडान लिनुभयो, त्यसमा विशेष महाधिवेशन झन् राम्रो हुन्छ भनेर भन्नुभयो।
हाम्रो नीतिगत भिन्नता त्यहीँबाट सुरु भयो। निर्वाचन आयोगले विना कुनै जानकारी बदनियतपूर्ण ढंगले उहाँहरूलाई अद्यावधिक गरिदियो। हामीलाई चित्त बुझने अदालत गयौँ। अदालतले त्यसैमा सही छाप लगाइदियो। भनेपछि आयोगले बदनियत गर्यो अदालतले अन्याय गर्यो। तर पनि हामी सहेर अहिलेसम्म धैर्यतासाथ बस्यौँ। गगनजीको चुनावी अभियानमा हामीले सँगैसँगै हिँडेर लाज, अपमान सबै सहेर, रगतको आँसु पिएर रूख चिह्नमा मत माग्न लाग्यौँ।
त्यति गर्दा पनि अब तपाईँ विशेष महाधिवेशनको सभापति होइन नेपाली कांग्रेसको सभापति बन्नुपर्छ गगनजी भन्दा पनि उहाँलाई चाहिँ चित्त नबुझेर होइन म सिंगो कांग्रेसको नभएर विशेषको मात्रै हुन्छु भनिरहनुभयो भने गगनजीकै भाषामा लासहरू बस्लान् बाँकी त बस्दैनन् नि। स्वाभिमान भएकाहरू त दबिएर, निचोरिएर, अपमानित, अपहेलित भएर त बस्दैनन्। धर्म, राजनीति, समाज भनेको स्वाभिमानका लागि हो। त्यसरी दबिएर, थिचिएर बस्दैनन्, बाहिर विकल्प खोज्छन्, विकल्प खोज्नु भनेको नयाँ पार्टी बन्न सक्छ। त्यो नहोस् भनेर हाम्रो धैर्य हो। आज भोलिपर्सि हामीले त्यसै कुरालाई प्रतिक्षा गरेको हो। तर, मूल कुरा भने कुनै सुनुवाइ नभएपछि रोक्न सकिँदैन कि भन्ने हामीलाई लागेको हो।





