सूर्यवंशीको डेब्यु खेलमा इंग्ल्यान्डसँग भारतको हार

हिमाल प्रेस २१ असार २०८३ ८:०६ | Sunday, July 5, 2026
सूर्यवंशीको डेब्यु खेलमा इंग्ल्यान्डसँग भारतको हार

काठमाडौँ- वैभव सूर्यवंशीले अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक डेब्यु गरेको खेलमा घरेलु टोली इंग्ल्यान्डले भारतलाई पराजित गरेको छ।

म्यान्चेस्टरमा शनिबार राती सम्पन्न दोस्रो टी२० अन्तर्राष्ट्रिय खेलमा इङ्ल्याण्डले ४ विकेटको जित हासिल गर्यो। जितसँगै इङ्ल्याण्डले ५ खेलको टी२० शृंखलामा १-० को अग्रता लिएको छ । पहिलो खेल नतिजाबिहीन रुपमा सकिएको थियो।

भारतका लागि ओपनर सूर्यवंशीले ऐतिहासिक डेब्यु गरेका थिए । उनी भारतका लागि अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । उनले ३७ वर्ष पुरानो सचिन तेन्दुल्करको नाममा रहेको कीर्तिमान आफ्नो नाममा गरे । सचिनले पाकिस्तानविरुद्धको टेस्टमा सन् १९८९ मा डेब्यु गर्दा मात्र १६ वर्ष २०५ दिनका थिए । सूर्यवंशी भने डेब्यु गर्दा मात्र १५ वर्ष ९९ दिनका रहेका थिए।

भारतले दिएको १९१ रनको लक्ष्य इंग्ल्यान्डले १९ ओभरमा मात्र ६ विकेट गुमाएर पूरा गरेको थियो। इंग्ल्यान्डका लागि जेकोब बेथहेलले ४६ बलमा ५ चौका र ५ छक्काको सहयोगमा ७६ रनको अविजित इनिङ्स खेले बेथहेलले कप्तान ह्यारी ब्रुकसँग २३ बलमा ५० रनको साझेदारी गरे। कप्तान ब्रुक १५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ३९ रन बनाउँदै आउट भए।

बेथहेलले चौथो विकेटका लागि टम बेन्टनसँग ६७ रनको साझेदारी गरे। बेन्टन ३२ बलमा ६ चौकाको सहयोगमा ३९ रनमा आउट भए । जोफ्रा आर्चर १० रनमा अविजित रहे। भारतका लागि अर्शदिप सिंहले ३ तथा हर्षित राना, अक्षर पटेल र वरुण चक्रवर्तीले समान १ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १९० रनको योगफल तयार गरेको थियो । भारतका लागि इशान किसनले ४० बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४९ रन बनाए। ओपनर अभिषेक शर्मा ४३ र कप्तान श्रेयस अय्यर ३७ बलमा आउट हुँदा तिलक बर्मा २४ रनमा अविजित रहे।

डेब्यु गरेका ओपनर सूर्यवंशीले भने १० बलमा २ छक्काको सहयोगमा १४ रन बनाए। इंग्ल्यान्डका लागि साम करनले ३ तथा जोफ्रा आर्चर, विल ज्याक्स र लियम डसनले समान १ विकेट लिए। दुई देश बीच तेस्रो टी२० अन्तराष्ट्रिय खेल मंगलबार राती रहेको छ।

प्रकाशित: २१ असार २०८३ ८:०६ | Sunday, July 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast