तत्काल महाधिवेशनको पक्षमा देखिएन कांग्रेसको देउवा समूह

हिमाल प्रेस १९ असार २०८३ १८:४२ | Friday, July 3, 2026
10
SHARES
तत्काल महाधिवेशनको पक्षमा देखिएन कांग्रेसको देउवा समूह बैठकपछि पत्रकारसँग कुरा गर्दै कांग्रेस नेता मीन विश्वकर्मा।

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापन इतर अर्थात् पूर्वसभापति शेरबहादुर देउवा समूहले पार्टी नेतृत्वसँग सहमतिका सम्भावना कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ। संस्थापन पक्ष एकतर्फी ढंगले अघि बढ्न खोजेकाले तत्काल एकताको आधारमा महाधिवेशन हुने सम्भावना क्षीण बन्दै गएको समूहको ठहर छ।

शुक्रबार काठमाडौँस्थित नेता पूर्णबहादुर खड्काको निवासमा बसेको इतर समूहका नेताहरूको बैठकपछि नेता मीन विश्वकर्माले संस्थापन पक्षको कार्यशैलीका कारण एकताको वातावरण कमजोर बनेको बताए। यद्यपि नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी भएकाले मतभेदका बीच पनि सहमतिको प्रयास भने निरन्तर जारी रहने उनको भनाइ थियो।

उनका अनुसार सहमति निर्माणका लागि केही समय दिएर अधिकतम पहल गर्ने निर्णय बैठकले गरेको छ। साथै, आगामी असार २२ गते (सोमबार) देखि १५औँ महाधिवेशनको तयारी, संगठन विस्तार तथा सम्पर्क अभियानका कामहरू सम्पर्क कार्यालयबाट अघि बढाउने निर्णय पनि बैठकले गरेको उनले जानकारी दिए।

बैठकमा सहभागी नेताहरूले पार्टीभित्र भावनात्मक, वैचारिक, सांगठनिक र व्यवहारिक एकता अपरिहार्य रहेकोमा जोड दिएका थिए। वार्ता र संवादहीनताको अवस्थाको अन्त्य गर्दै असहमतिहरूलाई पन्छाएर पार्टीलाई एकताबद्ध रूपमा अघि बढाउन नेतृत्वले पहल गर्नुपर्ने सुझाव बैठकले दिएको विश्वकर्माले बताए।

उनले मुलुकमा विधिको शासनमाथि चुनौती बढ्दै गएको, नागरिक अधिकार खुम्चिँदै गएको, राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि दबाब सिर्जना भएको तथा सत्तारुढ दलहरूको कार्यशैलीका कारण राजनीतिक अस्थिरता बढेको अवस्थामा कांग्रेसभित्र बलियो एकता र सक्षम नेतृत्व आवश्यक रहेको धारणा पनि राखे।

पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गर्ने र गत निर्वाचनमा व्यहोरेको पराजयको गम्भीर समीक्षा गर्न सातै प्रदेशमा सम्पन्न भेलाहरूको निष्कर्षका आधारमा छिट्टै राष्ट्रिय भेला आयोजना गरिने उनले बताए। असार २२ गते बस्ने बैठकले राष्ट्रिय भेलाको मिति पनि तय गर्न सक्ने उनको भनाइ छ।

प्रकाशित: १९ असार २०८३ १८:४२ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast