गुल्मी अस्पताल : ५० शय्याको अस्पताल बनाउन चार पटकसम्म म्याद थप

हिमाल प्रेस १९ असार २०८३ १०:४३ | Friday, July 3, 2026
4
SHARES
गुल्मी अस्पताल : ५० शय्याको अस्पताल बनाउन चार पटकसम्म म्याद थप

गुल्मी- पाँच वर्षअघिदेखि निर्माण सुरु भएको गुल्मी अस्पतालले अझै पूर्णता पाउन सकेको छैन। जिल्ला सदरमुकाम तम्घासमा निर्माणाधीन ५० शय्याको अस्पताल बनाउन चार पटकसम्म म्याद थप गरिए पनि हालसम्म काम सम्पन्न नहुँदा अस्पतालमा आउने बिरामी समस्यामा परेका छन्।

लामो समयसम्म भवन निर्माणमा ढिलाइ हुँदा अस्पतालको सेवा विस्तार प्रभावित हुनुका साथै दैनिक सेवा प्रवाहमा समस्या परेको अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले बताए।

वि.सं. २०७८ असार १८ गते स्वच्छन्द-बानियाँ जेभी, मकवानपुरले उक्त अस्पतालको नयाँ भवन निर्माणको जिम्मा लिएको थियो। रु २५ करोड ९४ लाख लागतमा निर्माण हुन लागेको भवन तोकिएको समयमा सम्पन्न नभएपछि पटकपटक म्याद थप गर्नुपरेको हो।

सघन सहरी तथा भवन निर्माण आयोजना पाल्पाका सूचना अधिकारी पुष्पराज भट्टका अनुसार हालसम्म भवनको भौतिक प्रगति ८५ प्रतिशत र वित्तिय ७२ प्रतिशत भएको छ। सम्झौताअनुसार निर्माण कम्पनीले वि.सं. २०८० असार १७ गतेभित्र काम सम्पन्न गर्नुपर्नेमा निर्धारित समयमा काम नसकिएपछि पहिलो पटक वि.सं. २०८० असार १८ देखि पुस १७ गतेसम्म म्याद थप गरिएको थियो।

दोस्रो पटक वि.सं. २०८० पुस १८ देखि वि.सं. २०८१ पुस १७ गतेसम्म, तेस्रो पटक वि.सं. २०८१ पुस १८ देखि वि.सं. २०८२ कात्तिक ७ गतेसम्म र चौँथो पटक वि.सं. २०८२ कात्तिक ९ गतेदेखि गत जेठ १७ सम्म म्याद थप गरिएको थियो। बाँकी काम सम्पन्न गर्न पाँचौँ पटक म्याद थप गर्ने प्रक्रियामा रहेको कार्यालयले जनाएको छ।

‘भवन बाहिरको संरचनालाई अन्तिम रुप दिन तथा ट्रान्सफर्मर, जेनेरेटर जडानलगायत काम अझै बाँकी छन्। निर्माण व्यवसायीले कम जनशक्ति राखेर निर्माण गरिरहेकाले पनि कामले गति लिएको छैन’,सूचना अधिकारी भट्टले भने। उनका अनुसार निर्माण व्यवसायीलाई शीघ्र भवन सम्पन्न गराउन पत्राचार र ताकेता गर्दै आएको छ।

भवन निर्माणमा भएको ढिलाइले अस्पतालको दैनिक सेवा सञ्चालनमा समस्या थपिएको छ। पचास शय्यामा स्तरोन्नति भइसक्दा पनि पुरानै संरचनाबाट सेवा दिनुपरेकाले सेवाग्राही र स्वास्थ्यकर्मी दुवैले सास्ती भोग्नुपरेको अस्पताल प्रशासनले जनाएको छ।

गुल्मी अस्पतालमा दैनिक २५० जनाभन्दा बढी बिरामीले सेवा लिँदै आएका अस्पतालका प्रमुख विभव बस्यालले जानकारी दिए। बिरामी जाँच गर्ने कोठा पर्याप्त नहुँदा एउटै कोठाबाट सेवा दिनुपर्ने बाध्यता रहेको उनले बताए। निर्माण कम्पनीले रङरोगन, विद्युतीय उपकरण जडान, फिनिसिङ्लगायत काम समयमा नगरिदिँदा सेवा प्रवाह प्रभावित हुँदै आएको उनको भनाइ छ।

अस्पतालका प्रमुख बस्यालले निर्माण सुस्त गतिमा भइरहेकाले भवन अभावका कारण अस्पतालको सेवा विस्तार र व्यवस्थापनमा चुनौती थपिएको बताए। सघन उपचार कक्ष (आइसियु) सञ्चालन तथा मिर्गौलाको डायलाइसिस सेवा विस्तार गर्न समस्या भइरहेको भन्दै बिरामीका लागि प्रतिक्षा गर्ने स्थान पनि अभाव रहेको उनको भनाइ छ।

नयाँ भवन सम्पन्न भई सञ्चालनमा ल्याउनका लागि रेसुङ्गा नगरपालिकाले पनि पटकपटक निर्माण कम्पनीका प्रतिनिधिलाई ताकेता गरिरहेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए। गुल्मी अस्पतालबाट हाल अर्घाखाँची, बागलुङ र प्युठानसम्मका बिरामीले सेवा लिँदै आइरहेका छन्।

प्रकाशित: १९ असार २०८३ १०:४३ | Friday, July 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast