पोखरा- वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र दुर्व्यवहारको विरोधमा चिकित्सकहरूले आन्दोलन गरेपछि पोखराका विभिन्न अस्पतालको उपचार सेवा प्रभावित भएको छ।
नेपाल चिकित्सक संघको आह्वानमा देशव्यापी रूपमा भइरहेको आन्दोलनअन्तर्गत पोखराका अधिकांश अस्पतालको बहिरंग (ओपीडी) सेवा बन्द गरिएको नेपाल चिकित्सक संघ गण्डकी शाखाका अध्यक्ष डा.सुनिल पनेरुले बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, गण्डकी मेडिकल कलेज, मणिपाल शिक्षण अस्पताल, चरक मेमोरियल अस्पताल र फेवा सिटी अस्पताललगायतमा ओपीडी सेवा बन्द हुँदा सयौं बिरामी प्रभावित भएका छन्।
डा.पनेरुले आकस्मिकसहित अन्य सेवा भने नियमित सञ्चालनमा रहेको बताए। आन्दोलन जारी रहने वा फिर्ता हुने विषय केन्द्रको निर्णयअनुसार तय हुने उनको भनाइ छ।


