काठमाडौँ- नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने भन्दै सरकारले खरिद गरेका करोडौँ मूल्यका अत्याधुनिक स्वास्थ्य उपकरण वर्षौँदेखि सरकारी अस्पतालका गोदाममै थन्किएको पाइएको छ। उपकरण खरिद भए पनि सञ्चालनमा ल्याउन सकेका छैनन्। जनशक्ति व्यवस्थापन र अनुगमन कमजोर हुँदा राज्यको ठूलो लगानी उपयोगविहीन बनेको हो।
महालेखापरीक्षकको कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको ६३औँ वार्षिक प्रतिवेदनमा सरकारी स्वास्थ्य संस्थामा ५१ करोड ४९ लाखभन्दा बढीका उपकरण प्रयोगविहीन अवस्थामा रहेको उल्लेख छ। प्रतिवेदनले उपकरण अभाव नभएर व्यवस्थापन र सञ्चालन कमजोरी नै मुख्य समस्या भएको संकेत गरेको छ।
प्रतिवेदनअनुसार राष्ट्रिय ट्रमा सेन्टरमा पाँच करोड ३७ लाख ८२ हजार बराबरको ‘क्याथल्याब मेसिन’ जनशक्ति अभावका कारण २०७२ सालदेखि सञ्चालनमा आउन सकेको छैन। त्यस्तै २४ करोड ७७ लाख नौ हजार मूल्यको ‘सिटी स्क्यान सिस्टम’, १४ वटा भेन्टिलेटर र पाँच वटा ‘सी–आर्म मेसिन’ पनि प्रयोगविहीन छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रु ७२ लाख ६० हजार मूल्यका ३०० वटा ‘इसिजी केबुल’ थन्किएका छन् भने गजेन्द्रनारायण सिंह अस्पतालमा चार करोड ९० लाख ९५ हजार बराबरका ‘एक्स–रे मेसिन’, ‘इन्डो युरोलोजी’, ‘ल्याप्रोस्कोपी सिस्टम’, एनेस्थेसिया र इलेक्ट्रो कार्डियोलोजी उपकरण प्रयोगमा आएका छैनन्।
सिंहदरबार वैद्यखाना विकास समितिमा विभिन्न ६० प्रकारका मेसिन लामो समयदेखि गोदाममै राखिएको छ। नेपाल प्रहरी अस्पतालमा १६ स्लाइस सिटी स्क्यान र १ दशमलव ५ टेस्ला एमआरआई मेसिनसमेत उपयोगविहीन रहेको प्रतिवेदनमा उल्लेख छ।
स्वास्थ्य सेवा विभागले यस वर्ष छ करोड ७३ लाखभन्दा बढी खर्च गरेर ९६५ हाइड बोर्ड र ९६५ इलेक्ट्रोनिक वेट स्केल खरिद गरेको थियो। तर अघिल्लो वर्ष किनिएका छ करोड ५३ लाख ९९ हजार बराबरका एक हजार ३३६ इलेक्ट्रोनिक वेट स्केल अझै प्रयोगमा आएका छैनन्। त्यस्तै दुई करोड ४२ लाख ५४ हजार बराबरका १३३ थान उपकरण पनि गोदाममै थन्किएका छन्।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको ‘टेलिथेरापी मेसिन’ चार वर्षदेखि ‘बङ्कर’भित्रै थन्किएको छ। मेसिनभित्र रहेको रेडियोधर्मी स्रोतको आयु सकिन लागेकाले विकिरण जोखिमसमेत बढ्दै गएको महालेखाले औँल्याएको छ। महालेखाको आँखा पर्ने गरी यति थन्किएका छन भने अन्य कैयन यस्ता वेथिति होलान भन्ने आम प्रश्न पनि उत्तिकै छ।
सामान खरिद गर्दा कमिसनको चक्कर रहने हुनाले सामान किनेर थन्क्याउने चलन पुरानै रहेको विषयमा पनि समाचारहरु आइरहेका हुँदा यसमा पनि कतै त्यस्तै भएको त होइन भन्नेमा चिकित्सकहरु नै बताउँछन्।




