काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार प्रतिपक्षसँग पञ्चायतमा भन्दा निकृष्ट र घटिया ढंगले व्यवहार गरिरहेको बताएका छन्।
निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धमा सुझाव संकलनका लागि बिहीबार पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई भुर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
सरकार जनताको सेवक नभइ शासक बन्न खोजिरहेको आरोप लगाउँदै ओलीले प्रतिकूल परिस्थितिमा पार्टी कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल केन्द्रित गर्न भेलामा सहभागी नेता कार्यकर्तालाई आग्रह गरे।
उनले वर्तमान सरकार जर्मनीमा नाजी र इटलीमा मुसोलिनीले गरेजस्तो देशमा द्वन्द्व निम्त्याउन खोजिरहेको आरोप लगाए। ‘हिटलर र मसोलिनी आफ्ना कदमका करण पतन भए। दमन र अत्याचारविरूद्ध जनविस्फोट हुन्छ, उनीहरू पराजित हुन्छन्,’ ओलीले भने।
ओलीले आफूहरूमाथि झुटा आरोप लगाई कृत्रिम ढंगले पराजित गरिएको दाबी गरे। उनले एउटा निर्वाचन हार्दैमा सुदृढ संगठन र व्यापक जनाधार रहेको एमालेका नेताकार्यकर्ता निराश नहुने जिकिर गरे।
सरकार अपदस्थ गर्ने र सत्ता कब्जा गर्ने षडयन्त्रअन्तर्गत भदौ २३ गते बच्चा हत्या र २४ गते आगजनी गरिएको बताउँदै उनले आफूमाथि बच्चा हत्याको झुटो आरोप लगाइएको उल्लेख गरे।
उनले भने,‘अझै पनि झुटा आरोप लगाउन खोजिँदैछ, म ढल्न तयार हुन्छ, मारिन तयार हुन्छ तर शिर झुकाउन्न।’
पार्टीका लागि संघर्षबाहेक अर्को विकल्प नभएको भन्दै उनले एकताबद्ध भएर अगाडि बढ्न पार्टीपंक्तिसँग आग्रह गरे।




