नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली
काठमाडौँ- नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णु पौडेललाई गैरकानुनी ढंगले अपहरण शैलीमा गिरफ्तार गरिएको आरोप लगाएको छन्।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार साँझ वक्तव्य निकालेर यस्तो आरोप लगाएका हुन्।
‘नेकपा एमाले सदैव कानुनी राज्य, शुसान र विधिको शासनको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ। वर्तमान सत्तापक्षले विपक्षी दलहरुप्रति अख्तियार गरिरहेको अराजनीतिक, अलोकतान्त्रिक र नांगो प्रतिशोधको यो अर्को पराकाष्ठा हो। यो दमनकारी कदम म र हाम्रो पार्टी नेकपा एमालेमाथि लगातार भइरहेको शृंखलाबद्ध प्रहार र राजनीतिक षडयन्त्रको निरन्तरता हो भन्ने कुरा स्पष्ट छ,’ ओलीले भनेका छन्।
उनले जुनसुकै बेला सोधपुछ गर्न सकिने भए पनि विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै पौडेललाई गिरफ्तार गरिएको जिकिर गरेका छन्। ओलीले राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि गिरफ्तार गरिएको आरोप लगाएका छन्।
उपाध्यक्ष पौडेलको सुर्खेतको कार्यक्रम सकेत मंगलबार काठमाडौँ फर्कने पूर्वनिर्धारित कार्यक्रम रहेको उनले बताएका छन्।
‘विधिको शासन र सामान्य कानुनी प्रक्रियाको समेत धज्जी उडाउँदै, जुनसुकै बेला सोधपुछ गर्न सकिने वा उहाँकै उपस्थितिमा प्रक्रिया अगाडि बढाउन सकिने विकल्पलाई नियतवश लत्याइएको छ,’ ओलीले भनेका छन्,‘सार्वजनिक पद धारण गरिसकेका र कानुनलाई सैदव सम्मान गर्ने राजनीतिक व्यक्तित्वलाई केवल सस्तो ‘स्टन्ट’ र सस्तो राजनीतिक खपतका लागि बदनियतपूर्वक गिरफ्तार गरिएको छ।’
सत्ताको उन्मादमा गरिएको यस प्रकारका अधिनायकवादी कदमको आफ्नो पार्टीले डटेर सामना गर्ने उल्लेख गर्दै उनले विपक्षी दलका नेताप्रति प्रतिशोधपूर्ण कार्य बन्द गर्न चेतावनी दिएका छन्।
‘वर्तमान सरकार अलोकतान्त्रिक, सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख छ। हामी सरकारलाई चेतावनी दिन चाहन्छौँ–विपक्षी दलका नेताहरुमाथि लक्षित यस्ता निकृष्ट र प्रतिशोधपूर्ण हर्कतहरु तत्काल बन्द गरियोस्,’ ओलीले भनेका छन्।
अध्यक्ष ओलीले लोकतान्त्रिक शक्तिहरुलाई एकजुट हुन आह्वानसमेत गरेका छन्।
‘सरकारका यस्ता स्वेच्छाचारी र लोकतन्त्रविरोधी कृयाकलापका विरुद्ध सामूहिक प्रतिवाद गर्न हामी सम्पूर्ण देशभक्त, न्यायप्रेमी र लोकतान्त्रिक शक्तिहरुलाई एकजुट हुन हार्दिक आह्वा गर्दछौँ,’ वक्तव्यमा भनिएको छ।





