प्रधानमन्त्री बालेनले दिए यी विषयमा स्पष्टीकरण

हिमाल प्रेस ७ असार २०८३ १८:३२ | Sunday, June 21, 2026
16
SHARES
प्रधानमन्त्री बालेनले दिए यी विषयमा स्पष्टीकरण रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह।

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सरकारमाथि उठेका विभिन्न विषयमा स्पष्टीकरण दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेतासमेत रहेका शाहले आइतबार चितवनमा आरम्भ भएको पार्टीको पहिलो महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै स्पष्टीकरण दिएका हुन्।

सीमा विवाद र आफ्नो राष्ट्रियता

प्रधानमन्त्री शाहले सीमा विषयमा आफूले बोलेका कुरा सही भएको र विवादित लिपुलेक, लिम्पियाधुरा, कालापानी लगायतका भूमि फिर्ता ल्याइने बताए। उनले सीमा विवाद कूटनीतिक वार्ताबाट समाधान गरिने बताउँदै नेपाल भारत सीमा विवाद समाधानका लागि आफूले तेस्रो पक्षको मध्यस्थता नखोजेको स्पष्ट पारे।

उनले भने, ‘हामीसँग कालापानी लिपुलेकको प्रमाण छ। हामीले पहिले ब्रिटिसले राज गर्दाको प्रमाण ल्याउनुपर्छ भने ल्याउँछौं भनेका हौँ। हामीले ब्रिटिसलाई मध्यस्त बनाउन खोजेका हैनौं।’

उनले सुगौली सन्धिताकाको सीमाको प्रमाण जुटाउन आफूले बेलायतसँग सहयोग लिन खोजेको बताए। यसैगरी शाहले सीमाको विषयमा आफूले बोलेका विषयलाई लिएर भएको विवादप्रति इंगित गर्दै भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नु पर्दैन।’

सुकुमबासी र सहकारी समस्या

प्रधानमन्त्री शाहले सुकुमबासी समस्याको समाधान यही कार्यकालमा गरिने बताए। उनले भने, ‘हामीले यही कार्यकालमा सुकुमबासी समस्या समाधान गर्छौँ। यही कार्यकालमा सहकारी समस्या समाधान गर्छौँ। अर्को चुनावमा फेरि यही एजेन्डा बोकेर जाँदैनौँ। अर्को चुनावमा नयाँ एजेन्डा बोकेर जाने हो।’

सरकारको गति सम्बन्धमा

प्रधानमन्त्री शाहले आफू नेतृत्वको सरकार लोकल रोडमा हिँड्ने गाडीजस्तो नरहेको बताए। उनले भने, ‘लोकल रोडमा सीधा गइरहँदा कहिले लेफ्ट, कहिले राइटबाट मान्छे आउँछ। हाम्रो गाडी लोकल रोडमा हिँडेको होइन। हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो। गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ।’

अख्तियारसँग पाँच वर्षसम्म छलफल गरिन्छ

प्रधानमन्त्री शाहले विगतमा भएका फट्याइँबारे खोज्दा आवश्यक परे अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई ५ घण्टा मात्रै नभई पाँच वर्षसम्म नै राखेर सल्लाह गर्ने बताए। उनले यस्ता काम विधिसम्मत गरिने पनि बताए। ‘अख्तियारलाई ५ घण्टा सोधपुछ गर्नुपर्छ, सल्लाह लिनुपर्छ भने ५ घण्टा मात्रै होइन ५ वर्ष नै अख्तियारलाई राखेर सल्लाह गरिन्छ। हामी नियम भन्दा बाहिर जाँदैनौँ’, उनले भने।

पार्टीमा गुटबन्दी स्वीकार्य छैन

प्रधानमन्त्री शाहले पार्टीभित्र कुनै गुटबन्दी आवश्यक नरहेको बताए। उनले भने, ‘हाम्रो गठबन्धन सरकार होइन। त्यसैले पार्टीमा गुटबन्दी मौलाउन दिनु हुँदैन।’ उनले रास्वपका हरेक कार्यकर्ता प्रधानमन्त्रीजस्तै भएकाले कुनै समस्या भएमा पार्टीमा राख्न कार्यकर्तालाई आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast