तयारी पोसाक उद्योगको समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन

हिमाल प्रेस ५ साउन २०८३ १४:४८ | Tuesday, July 21, 2026
तयारी पोसाक उद्योगको समस्या समाधान गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री बालेन प्रधानमन्त्रीसँगको भेटबारे जानकारी गराउँदै तयारी पोसाक उद्यमी।

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले तयारी पोसाक उद्योगले भोगिरहेका समस्याहरु समाधानका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीहरूसँग छलफल गर्दै प्रधानमन्त्री शाहले उद्योगले भोगिरहेका समस्या समाधान र उत्पादन तथा निर्यात प्रवर्धनलाई सरकारले प्राथमिकतामा राखेको बताएका हुन्। प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको वर्तमान अवस्थाका बारेमा जानकारी समेत लिएको नेपाल तयारी पोसाक उद्योग संघका पशुपतिदेव पाण्डेले जानकारी दिए।

सन् २००५ अघिको अवस्थामा जस्तै नेपाली तयारी पोसाक उद्योगलाई पुनर्जीवित गरी देशको अर्थतन्त्र सबल बनाउने विषयमा गहन छलफल भएको उनले बताए। छलफलका क्रममा प्रधानमन्त्रीले मन्त्रालयहरूमा रोकिएका र अड्केका समस्याहरूलाई तुरुन्तै बैठक बसी समाधान गर्न सम्बन्धित निकायलाई तत्काल निर्देशन दिएका थिए।

‘प्रधानमन्त्री शाहले २०औँ वर्षदेखि बन्द रहेका तयारी पोसाकका रुग्ण उद्योगहरूलाई पुनः सञ्चालनमा ल्याई आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने योजना रहेको समेत जनाउनुभयो’, पाण्डेले भने।

साथै पोसाक उद्योगलाई सुदृढ बनाउन टेक्स्टाइल काउन्सिल गठन गरी यस क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गरिने समेत प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका थिए।

त्यसैगरी अमेरिकातर्फको निर्यातमा देखिएको प्रयोगशाला÷परीक्षण सम्बन्धी अवरोध फुकाउन परराष्ट्र मन्त्रालयमार्फत तत्काल सहजीकरण गर्न प्रधानमन्त्रीले निर्देशन दिएको नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष पाण्डेले जानकारी दिए।

प्रकाशित: ५ साउन २०८३ १४:४८ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast