चितवन- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको तयारी पूरा भएको छ। चितवनको भरतपुरमा आइतबार सुरु हुन लागेको महाधिवेशनको तयारी पूरा भएको हो। महाधिवेशन मंगलबार सम्पन्न हुने कार्यतालिका छ। महाधिवेशनअघि शनिबार वर्तमान केन्द्रीय कार्यसमितिको अन्तिम बैठक भरतपुरमा बसेको छ। बैठकले पार्टी विधान संशोधनसहित महाधिवेशनमा प्रस्तुत हुने नीति, आगामी कार्यदिशालगायतका विषय पारित गरेको छ।
पार्टीको उद्गमस्थल चितवनमा प्रथम महाधिवेशन आयोजना गरेर रास्वपाले आगामी नेतृत्व चयन गर्नेछ। रास्वपाको अध्यक्ष पदका लागि हालसम्म कसैले औपचारिक घोषणा गरेका छैनन्। रास्वपाले निर्वाचन आचारसंहिता जारी गरी निर्वाचन आयोगले विधिवत रूपमा उम्मेदवारी प्रमाणित गरेपछि मात्र उम्मेदवारलाई औपचारिक प्रचारप्रसार गर्न निर्देशन दिएको छ।
त्यस्तै महाधिवेशनको निर्वाचन प्रक्रियामा प्यानल वा गुट बनाउन निषेध गरिएको छ। ‘निर्वाचन पूर्णतः व्यक्तिगत प्रतिस्पर्धामा आधारित हुनेछ। निर्वाचनको क्रममा कुनै पनि प्रकारको प्यानल, गठबन्धन, संयुक्त सूची वा गुटगत आधारमा प्रचारप्रसार गर्न वा गराउन पाइने छैन,’ आचारसंहितामा भनिएको छ।
रास्वपाले महाधिवेशनमा उम्मेदवार बन्नेहरुलाई सामाजिक सञ्जालका माध्यमबाट समेत विज्ञापन गर्न निषेध गरेको छ। ‘सामाजिक सञ्जाल (फेसबुक, टिकट, इन्स्टाग्राम आदि), एसएमएस र विशुद्ध सञ्चारमाध्यमबाट भ्रामक सूचना सम्प्रेषण गर्न, सशुल्क विज्ञापन गर्न वा मत माग्न पाइने छैन। प्रचार सामग्रीहरु मर्यादित, तथ्यपरक र विशुद्ध व्यक्तित हुनुपर्नेछ,’ आचारसंहितामा उल्लेख छ।
केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले जुन भूमिकामा रहे पनि आफूलाई जिम्मेवार नागरिकका रुपमा प्रस्तुत गर्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए। उनले अस्वस्थ्य प्रतिस्पर्धाबाट टाढा रहनुपर्नेमा जोड दिए।
सभापति लामिछानेले आन्तरिक लोकतन्त्रलाई मजबुत पार्न सकिएन भने कुनै न कुनै विन्दुमा पुगेर त्यसले दुर्घटना निम्त्याउने उल्लेख गरे। पार्टीलाई अझ व्यवस्थित एवं गतिशील तुल्याउन अधिवेशन सफल हुने उनको भनाइ थियो।
सभापतिको उम्मेदवार बन्न ५१ हजार दस्तुर
महाधिवेशनमार्फत सभापतिसहित पदाधिकारी तथा केन्द्रीय सदस्यको उम्मदेवार बन्न प्रमुख केन्द्रीय निर्वाचन आयोगले निश्चित मापदण्ड तोकेको छ। प्रमुख केन्द्रीय निर्वाचन आयुक्त भुवन केसीले जनाएअनुसार सभापतिको उम्मेदवार बन्न ५१ हजार रुपैयाँ दस्तुर र ५१ जना समर्थक आवश्यक पर्नेछ।
त्यस्तै पार्टी पदाधिकारीका लागि ४१ हजार रुपैयाँ दस्तुर र २१ जना समर्थक अनिवार्य चाहिने भएको छ। केन्द्रीय सदस्यका उम्मेदवारले २१ हजार रुपैयाँ दस्तुर र २१ जना समर्थकको हस्ताक्षर बुझाउनुपर्ने छ।
एम्बुलेन्स र स्वास्थ्यकर्मीको व्यवस्था
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को यहाँ हुने प्रथम राष्ट्रिय महाधिवेशनमा चिकित्सक–स्वास्थ्यकर्मीसहित तीन वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने भएको छ। चर्को गर्मी र भीडभाड हुने भएकाले स्वास्थ्यलाई मध्यनजर गर्दै चिकित्सकसहितको एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो।
महाधिवेशन मूल आयोजक समितिको स्वास्थ्य उपसमितिका संयोजक डा. मनोहर प्रधानका अनुसार महाधिवेशन उद्घाटन सत्रमा तीन वटा सुविधासम्पन्न एम्बुलेन्ससहित चिकित्सक, नर्स र पारामेडिक्सको व्यवस्था गरिएको छ। उद्घाटन स्थलको तीन ठाउँमा स्वास्थ्य डेस्क रहने उनले बताए। त्यसमध्ये एउटा अतिथि दीर्घातर्फ हुनेछ भने दुई वटा दर्शकदीर्घातर्फ राखिनेछ।
आकस्मिक उपचारका लागि आवश्यक औषधि, कीटहरूसहित आकस्मिक सेवा सोही ठाउँमा दिइने र थप उपचार आवश्यक भएमा जिल्लाका ठूला अस्पतालहरूमा लगिनेछ। प्रधानका अनुसार प्रमुख जिल्ला अधिकारीको रोहवरमा जिल्लास्थित अस्पतालका सञ्चालक र प्रहरी रहेको स्वास्थ्य उपचारका लागि समन्वय समिति बनाइएको छ। समितिले आवश्यकता अनुसार अस्पतालहरूमा समन्वय गरी उपचारको व्यवस्था गर्ने प्रधानले बताए।
चितवनमा अहिले अत्यधिक गर्मी छ। हिमाली र पहाडी जिल्लाबाट सहभागी आउने हुँदा ‘हिटस्ट्रोक’ हुन सक्ने भएकाले त्यसलाई मध्यनजर गर्दै तयारी गरिएको उनको भनाइ छ। खानपानमा सावधानी अपनाउन आवश्यक समन्वय भइरहेको उनले बताए।
जिल्लाका अस्पतालहरूलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ। महाधिवेशन आइतबारदेखि सुरु हुनेछ। उद्घाटन सत्र भरतपुरको गेष्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा हुनेछ।
बन्द सत्रभित्र हुने भएकाले बढी जोखिम नहुने भए पनि उद्घाटन सत्र चौरमा हुने भएकाले स्वास्थ्यका हिसाबले जोखिम मानिएको छ। महाधिवेशनमा चार हजारभन्दा बढी प्रतिनिधि आउनेछन्। पर्यवेक्षक र शुभेच्छुकहरू ठूलो संख्यामा आउने भएकाले सोही अनुरूप तयारी गरिएको छ।
जनचाप लक्षित गर्दै नेटवर्क क्षमता वृद्धि
नेपाल टेलिकम दूरसञ्चार कार्यालय भरतपुरले रास्वपाको महाधिवेशनमा सहभागी हुने सेवाग्राहीको चापलाई मध्यनजर गर्दै दूरसञ्चार सेवाको क्षमता विस्तार गर्ने भएको छ। भरतपुरस्थित मुख्य टावर तथा आसपासका अन्य टावरमा विशेष एन्टेना र अतिरिक्त उपकरण जडान गरी नेटवर्क क्षमता वृद्धि गरिएको कार्यालयले जनाएको छ।
कार्यालयका निमित्त प्रमुख चन्दनकुमार झाका अनुसार आगामी ७ गते हुने महाधिवेशनको उद्घाटन समारोहमा ठूलो संख्यामा सहभागी हुने अनुमान भएकाले सेवा अवरुद्ध नहोस् भन्ने उद्देश्यले पूर्वतयारी गरिएको हो। उनले रास्वपा महाधिवेशनमात्र नभई यहाँ हुने अन्य भीडभाड तथा मेला–महोत्सवका समयमा पनि सधैँ क्षमता विस्तार गरिँदै आएको बताए।
उनले भीडभाडका समयमा फोन नलाग्ने, ‘कल ड्रप’ हुने तथा डेटा सेवा प्रभावित हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै अतिरिक्त उपकरण जडान गरिएको बताए।
‘सेवाग्राहीले कुनै समस्या भोग्न नपरोस् भनेर हामीले आवश्यक पूर्वतयारी गरेका छौँ,’ उनले भने। झाका अनुसार मुख्य टावर र आसपासका टावरमा सेक्टर एन्टेना थपिनाका साथै अतिरिक्त आरआरयू जडान गरिएको छ।
‘यी उपकरण जडानपछि फोन सम्पर्क र डेटा सेवामा समस्या आउने सम्भावना न्यून हुन्छ,’ उनले भने। उनले टावरको क्षमता विस्तार गरिएकाले महाधिवेशनका क्रममा नेटवर्कमा चाप बढे पनि सेवा सञ्चालन सहज हुने विश्वास व्यक्त गरे।
‘आजकल अधिकांश प्रयोगकर्ताले डेटा सेवा प्रयोग गर्नुहुन्छ र मोबाइलमार्फत निरन्तर सम्पर्कमा रहनुहुन्छ। त्यसैले सम्भावित गुनासो आउन नदिन पहिल्यै तयारी गरेका हौँ,’ उनले भने।
निमित्त प्रमुख झाका अनुसार आफ्नो कार्यक्षेत्रभित्र हुने ठूला सभा, सम्मेलन तथा भीडभाड हुने कार्यक्रमहरूमा आवश्यकताअनुसार प्राविधिक उपकरण तथा ‘एन्टेना’ जडान गरी सेवा क्षमता बढाउने गरिएको छ। उनका अनुसार सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनु कार्यालयको प्राथमिकता हो।




