राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत बन्दसत्र सञ्चालन भइरहेको उद्योग संघको प्रदर्शनी केन्द्र परिसरमा बुधबार उम्मेदवार, प्रतिनिधि, समर्थक तथा कार्यकर्ताहरू देउडा खेल्दै मत माग्दै। तस्बिर : रासस
चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा पहिलो चरणको उम्मेदवारको नामावली सार्वजनिक गरिएको छ। राससका अनुसार ९९ जना केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरिएको हो।
रास्वपा चितवनका नेता नेत्र लामिछानेका अनुसार पहिलो चरणको केन्द्रीय सदस्यको निर्वाचनमा तीन सय ८४ जनाले उम्मेदवारले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। जसमा खुलातर्फ दुई सय १० जनाको उम्मेदवारी परेको छ भने भूगोलतर्फ एक सय ७४ जनाको उम्मेदवारी परेको छ। एउटा प्रदेशबाट पाँच जना निर्वाचित हुनेछन्।
सात प्रदेशबाट ३५ जना निर्वाचित हुनेछन् भने ६४ जना खुलाका लागि दुई सय १० जनाको उम्मेदवारी परेको हो। लामिछानेका अनुसार सुदूरपश्चिम प्रदेशमा १८ जना, मधेशमा २० जना, लुम्बिनीमा ३१ जना, कोशीमा २० जना, कर्णालीमा ३१ जना, बागमतीमा २७ जना र गण्डकी प्रदेशमा २७ जनाको उम्मेदवारी परेको छ।
नामावली सार्वजनिकसँगै दाबी विरोधका लागि समय दिइएको छ। यसपछि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ। लामछिानेले अन्तिम नामावली विद्युतीय मतदान उपकरणमा प्रविष्ट गरेपछि बुधबार राति नै निर्वाचन गर्ने तयारी गरिएको जानकारी दिए। सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन्।




