काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालका अनुसार बिहान ८ बजे बसेको बैठकले नतिजा औपचारिक रूपमा प्रकाशित गरेको हो।
नियमिततर्फ ६९.७५ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। वैशाख १४ देखि २७ गतेसम्म सञ्चालन भएको परीक्षामा कुल ४ लाख १८ हजार १७० विद्यार्थी सहभागी भएका थिए।
त्यसमध्ये नियमिततर्फ ३ लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ विद्यार्थी सहभागी रहेको बोर्डले जनाएको छ।
नतिजा बोर्डको वेबसाइट result.neb.gov.np र neb.gov.np, नेपाल टेलिकमको वेबसाइट साथै एसएमएस, आईभीआर र यूएसएसडी सेवामार्फत हेर्न सकिने जनाइएको छ।
नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रतिविषय एक हजार रुपैयाँ शुल्क तिरेर असार ६ गते बिहान ११ बजेदेखि असार १२ गते साँझ ५ बजेसम्म पुनर्योग (रिटोटलिङ) का लागि अनलाइन आवेदन दिन सक्नेछन्।
सरकारले ४५ दिनभित्र नतिजा सार्वजनिक गर्न निर्देशन दिएको भए पनि बोर्डले निर्धारित समयभन्दा अघि नै नतिजा प्रकाशन गरेको हो। यसअघि एसईईको नतिजा पनि २९ दिनमै सार्वजनिक गरिएको थियो।




