चीन भ्रमणबाट स्वदेश फर्किँए परराष्ट्रमन्त्री

हिमाल प्रेस ४ असार २०८३ ७:३१ | Thursday, June 18, 2026
12
SHARES
चीन भ्रमणबाट स्वदेश फर्किँए परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री शिशिर खनाल

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनाल मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको चार दिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार राति स्वदेश फर्किएका छन्। उनी चीनका विदेश मामिलामन्त्री तथा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका राजनीतिक ब्युरो सदस्य वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार बेइजिङ पुगेका थिए।

भ्रमणका क्रममा सोमबार मन्त्री खनाल र विदेश मन्त्री वाङबीच द्विपक्षीय भेटवार्ता भएको मन्त्रालयले जनाएको छ। सो अवसरमा दुबै देशका प्रतिनिधिमण्डलबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका सबै पक्षहरूमा गहन एवम् उपलब्धिमूलक छलफल भएको मन्त्रालयद्वारा आज जारी भ्रमणसम्बन्धी प्रेस विज्ञप्तिमा जनाइएको छ।

‘आपसी मित्रता, सद्भावना र सहयोगमा आधारित नेपाल–चीन सम्बन्धलाई थप सुदृढ तुल्याउने विषयमा दुवै पक्षबीच एकमत रहेको थियो । नेपालका तर्फबाट एक चीन सिद्धान्तप्रति रहिआएको नेपाल सरकारको प्रतिबद्धता दोहोर्‍याउँदै नेपालको भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘चिनियाँ पक्षबाट नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति रहिआएको चीन सरकारको दृढ समर्थन दोहोर्‍याउँदै सुशासन तथा आर्थिक विकासका क्षेत्रमा नेपाल सरकारले निर्दिष्ट गरेका प्राथमिकता उपर पूर्ण समर्थन रहने विश्वास व्यक्त गरिएको छ।’

पारस्परिक सम्मान तथा एकअर्काका प्राथमिकता एवम् संवेदनशीलताप्रति रहिआएको प्रतिबद्धता दोहोर्‍याउँदै दुई पक्षबीच पूर्वाधार, कनेक्टिभिटी, सीमा व्यवस्थापन, ऊर्जा, व्यापार, लगानी, कृषि, प्रविधि हस्तान्तरण, सूचना प्रविधि तथा डिजिटलाइजेसन, पर्यटन, रासायनिक मल, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण र जनस्तरको सम्बन्धलगायत विविध क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको थियो।

 विगतमा सहमति भएका द्विपक्षीय कार्यक्रम तथा परियोजनाहरूको शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै बहुपक्षीय एवम् क्षेत्रीय मञ्चहरूमा साझा हितका विषयमा सहकार्य अघि बढाउने कुरामा जोड दिइएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ असार २०८३ ७:३१ | Thursday, June 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast