काठमाडौँ- नेपाल राष्ट्रिय शिक्षक संगठनले शिक्षक ट्रेड युनियन खारेज हुने भन्ने विषयमा फैलाइएका भ्रमपूर्ण प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
संगठनका अध्यक्ष हंसबहादुर शाहीद्वारा जारी विज्ञप्तिमा सामाजिक सञ्जाल तथा केही संविधान, लोकतन्त्र र ट्रेड युनियन अधिकारविरोधी तत्वहरूले शिक्षक ट्रेड युनियनहरू खारेज हुने भनी अफवाह फैलाएको तथा संगठनलाई विभिन्न राजनीतिक शक्तिसँग जोडेर दुष्प्रचार गरेको उल्लेख गरिएको छ।
नेपाल राष्ट्रिय शिक्षक संगठन २०३६ सालमा स्थापना भएको शिक्षक तथा शिक्षाकर्मीहरूको साझा र स्वतन्त्र ट्रेड युनियन संगठन भएको उल्लेख गर्दै शिक्षकहरूको पेसागत सुरक्षा, हक, हित तथा अधिकार संरक्षणका साथै निःशुल्क, गुणस्तरीय र जीवनोपयोगी शिक्षाको सुनिश्चितताका लागि निरन्तर क्रियाशील रहेको जनाएको छ।
संगठनले नेपालको संविधान, प्रचलित कानुन तथा राष्ट्रिय अन्तर्राष्ट्रिय ट्रेड युनियन आन्दोलनका सिद्धान्त र मूल्यमा आधारित भएर शिक्षक समुदायको साझा आवाजका रूपमा काम गर्दै आएको दाबी गरेको छ। कुनै पनि राजनीतिक दल, सरकार, धर्म, जात, समुदाय वा भौगोलिक प्रभावबाट स्वतन्त्र रही कार्य गर्नु संगठनको मूल उद्देश्य रहेको पनि विज्ञप्तिमा उल्लेख छ।
संगठनले विशेषगरी नेपाल निजामती कर्मचारी संगठनसँग सम्बन्धित विषयमा सर्वोच्च अदालतबाट जारी आदेशलाई शिक्षक संगठन र शिक्षक ट्रेड युनियन आन्दोलनसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास तथ्यहीन, भ्रामक र पूर्वाग्रहपूर्ण रहेको बताएको छ। यस्ता अफवाह र दुष्प्रचारबाट प्रभावित नहुन तथा सत्य तथ्यका आधारमा मात्रै धारणा बनाउन संगठनले सम्पूर्ण शिक्षक तथा शिक्षाकर्मीलाई आग्रह गरेको छ।
संगठनले आफ्ना वैधानिक तथा सांगठनिक गतिविधिलाई थप सशक्त बनाउँदै सदस्यता विस्तार, संगठन सुदृढीकरण, स्थानीय, जिल्ला तथा प्रदेश परिषद् सम्पन्न गर्ने तथा मार्च देखि स्थानीय स्तर-२०२६ अभियानलाई सफल बनाउने दिशामा अघि बढिरहेको जानकारी दिएको छ।
हालसम्म संगठनमा आबद्ध नभएका शिक्षक, शिक्षाकर्मी तथा विभिन्न समूहमा आबद्ध शिक्षक संघसंगठनहरूलाई साझा अभियानमा सहभागी हुन आह्वान गर्दै शिक्षक तथा श्रमजीवी वर्गको हकहित संरक्षणका लागि व्यापक ट्रेड युनियन एकताको आवश्यकता रहेको जनाएको छ।
संगठनले शिक्षक समुदायलाई भ्रम, विभाजन र दुष्प्रचारको पछि नलागी संगठनात्मक एकता, पेसागत मर्यादा, लोकतान्त्रिक मूल्यमान्यता तथा ट्रेड युनियन अधिकारको रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न समेत अपिल गरेको छ।
‘संगठन हाम्रो शक्ति हो, एकता हाम्रो आधार हो। ट्रेड युनियन अधिकारको रक्षा गरौं, सार्वजनिक शिक्षाको भविष्य सुनिश्चित गरौं,’ विज्ञप्तिमा भनिएको छ।




