राप्रपा राजा र धर्म साट्ने पार्टी : प्रसाईँ

हिमाल प्रेस ३१ जेठ २०८३ १७:०९ | Sunday, June 14, 2026
22
SHARES
राप्रपा राजा र धर्म साट्ने पार्टी : प्रसाईँ

काठमाडौँ- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा र धर्म साट्ने पार्टी भएको आरोप लगाएका छन्।

आइतबार काठमाडौँमा नयाँ पार्टी गठनको गृहकार्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले राप्रपाले चुनावमा राजा र हिन्दु राष्ट्रको एजेन्डा बेचेर भोट माग्ने तर सत्तामा पुगेपछि काम नगरेको टिप्पणी गरे।

राप्रपा विकास र जनताप्रति उत्तरदायी नभई सांसद बन्ने, सत्ता र भत्तामा मात्र सीमित भएको उनको भनाइ छ। सत्य बोल्नेलाई अराजक भन्ने गरिएको भन्दै उनले आफू सत्य बोल्न नडराउने र देश तथा जनताको लागि जस्तोसुकै अवस्था भोग्न तयार रहेको स्पष्ट पारे।

वर्तमान व्यवस्थाले गरिबमाथि प्रहार गरेको,सहकारी पीडितलाई न्याय नदिएको र किसानले दुधको पैसा नपाएको भन्दै वर्तमान सरकार र प्रमुख राजनीतिक दलहरू धेरै नटिक्ने उनले दावी समेत गरे।

त्यस्तै कार्यक्रममा बोल्दै नेता धवल शमशेर राणाले मुलुकमा मजबुत राष्ट्रवादी शक्तिको खाँचो रहेको र त्यसलाई राप्रपाले पूरा गर्न नसकेका कारण नयाँ शक्ति निर्माण गर्नुपरेको बताए। उनले राजसंस्था र वैदिक सनातन हिन्दु अधिराज्य स्थापना नगरी देशले निकास नपाउने भन्दै सबै राजावादी, राष्ट्रवादी र हिन्दुवादी शक्तिलाई एक ठाउँमा आउन आह्वान समेत गरे।

उनले निकट भविष्यमै पार्टीको नाम, झन्डा र चुनाव चिह्न टुंगो लगाएर सातवटै प्रदेश, ७७ वटै जिल्ला र सबै स्थानीय तहमा संगठन विस्तार गरिने जानकारी दिए। आफूहरूको मिलन कुनै लोभ र लालचका लागि नभई देशलाई निकास दिनका लागि भएको राणाको दाबी छ।

प्रकाशित: ३१ जेठ २०८३ १७:०९ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast