काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, यस्तो छ शिक्षा नीति

हिमाल प्रेस ३१ जेठ २०८३ १६:०१ | Sunday, June 14, 2026
12
SHARES
काठमाडौँ महानगरको नीति तथा कार्यक्रम सार्वजनिक, यस्तो छ शिक्षा नीति

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको १९ औँ नगर सभामा कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक वर्ष २०८३/८४ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी छन्। कार्यक्रममा शिक्षा, युवा तथा खेलकुद क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखिएको छ।

महानगरले सबैका लागि शिक्षा र समावेशी शिक्षालाई सुनिश्चित गर्न विशेष विद्यालय स्थापना गर्ने घोषणा गरेको छ। अटिजम, डाउन सिन्ड्रोम लगायत अपाङ्गता भएका तथा जोखिममा रहेका बालबालिकाका लागि विशेष विद्यालय सञ्चालन गरिनेछ। ज्येष्ठ नागरिक तथा गृहिणी लक्षित विद्यालय र वैकल्पिक विद्यालय स्थापना गरी अन्तरपुस्ता सिकाइलाई प्रवर्द्धन गरिनेछ।

त्यस्तै, महानगरको विद्यालय शिक्षासम्बन्धी दीर्घकालीन मार्गचित्रसहितको शिक्षा योजना तयार गरी कार्यान्वयन गरिने नीति लिइएको छ। विद्यालय र सामुदायिक अध्ययन केन्द्रहरूमा स्वास्थ्यकर्मी सहितको प्राथमिक स्वास्थ्य सेवा र पोषण कार्यक्रम सञ्चालन गरिनेछ। दिवा शिशु स्याहार केन्द्र स्थापना गर्ने योजना पनि समेटिएको छ।

शिक्षालाई अनुसन्धानमुखी बनाउन सूचना प्रविधिको अधिकतम प्रयोग गरिने बताइएको छ। विद्यार्थीको सृजनशीलता र सीप विकासका लागि क्रियटिभ फ्राइडे कार्यक्रम सञ्चालन गरिनेछ।

विद्यालय विद्यालय साझेदारी कार्यक्रममार्फत असल अभ्यास र अनुभव आदानप्रदान गरिनेछ। भाषा, संस्कृति, सम्पदा, पर्यटन र प्राविधिक विषयमा दक्ष जनशक्ति उत्पादन गर्न “स्वनिगः विश्वविद्यालय” स्थापना गर्ने विषयमा नेपाल सरकारसँग समन्वय गर्ने योजना पनि अघि सारिएको छ।

खेलकुद क्षेत्रमा खेलाडीलाई व्यवसायिक र ऊर्जाशील बनाउन विभिन्न प्रतियोगिता सञ्चालन, प्रतिभा पहिचान, सम्मान र प्रोत्साहन गर्ने नीति लिइएको छ।

भौतिक पूर्वाधारतर्फ कक्षाकोठाको तापीय आराम, प्राकृतिक भेन्टिलेसन र CO₂ सान्द्रताको अध्ययन गरी त्यसका आधारमा मापदण्ड तय गरी लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ।

प्रकाशित: ३१ जेठ २०८३ १६:०१ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast