ट्रम्प तत्काल शान्ति सम्झौताका पक्षमा, इरान अझै अनिश्चित

हिमाल प्रेस ३१ जेठ २०८३ १४:३८ | Sunday, June 14, 2026
8
SHARES
ट्रम्प तत्काल शान्ति सम्झौताका पक्षमा, इरान अझै अनिश्चित अमेरिकी–इजराइली सैन्य आक्रमणका क्रममा इरानको राजधानी तेहरानमा ध्वस्त भएको प्रहरी कार्यालयको छेउमा प्रार्थना गर्दै स्वयंसेवकहरू। फाइल तस्बिर : एपी/रासस

काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्ने सम्झौतामा आइतबार हस्ताक्षर हुने तालिका रहेको बताएका छन्। इरानले भने त्यसको समयसीमाबारे शंका व्यक्त गरेको छ।

सामाजिक सञ्जालमा गरिएको एक पोस्टमा ट्रम्पले सम्झौता भएपछि विश्वव्यापी समुद्री ढुवानीका लागि अत्यन्त महत्त्वपूर्ण मार्ग मानिने होर्मुज जलमार्ग सबैका लागि खुला हुने बताएको बीबीसीले उल्लेख गरेको छ।

वार्ताको प्रमुख मध्यस्थकर्तामध्ये एक पाकिस्तानले पनि शनिबार उक्त सम्झौता २४ घण्टाभित्र अन्तिम रूप पाउने सम्भावना रहेको र त्यसको विद्युतीय हस्ताक्षरका लागि तयारी भइरहेको जनाएको थियो।

ट्रम्पको भनाइ आउनुअघि इरानका परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले सम्झौताको समयबारे सावधानी अपनाउँदै भनेका थिए, ‘सम्झदारीपत्रमा हस्ताक्षर हुने ठ्याक्कै मितिबारे हामीले अझै पर्खनुपर्नेछ, यद्यपि त्यो भोलि (आइतबार) भने हुने छैन।’

इरानी सञ्चारमाध्यमहरूले वार्तामा मध्यस्थकर्ताको भूमिका खेलेको कतारको एक प्रतिनिधिमण्डल आइतबार तेहरान पुगेको जनाएका छन्।

यद्यपि उक्त भ्रमणले सम्झौतामा इरानले हस्ताक्षर गर्ने अपेक्षित समयतालिकामा कुनै प्रभाव पार्छ वा पार्दैन भन्ने स्पष्ट भएको छैन।

ट्रम्पले शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका थिए, ‘सम्झौतामा भोलि हस्ताक्षर हुने तालिका छ र हस्ताक्षर भएसँगै होर्मुज जलममार्ग सबैका लागि खुला हुनेछ।’

इरानसँग रहेको उच्चस्तरमा समृद्ध बनाइएको युरेनियम भण्डारतर्फ संकेत गर्दै ट्रम्पले भने, ‘उपयुक्त समयमा, जब सबै कुरा शान्त हुनेछ, हामी त्यहाँ गएर ‘न्युक्लियर डस्ट’ (परमाणु सामग्री) ल्याउनेछौँ।’

दशकौँदेखि पश्चिमी मुलुकहरूले इरानमाथि परमाणु बम निर्माण गर्ने प्रयास गरेको आरोप लगाउँदै आएका छन्। इरानले भने ती आरोप अस्वीकार गर्दै आफ्नो परमाणु कार्यक्रम विद्युत् उत्पादन र अनुसन्धानजस्ता शान्तिपूर्ण प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ।

ट्रम्पले परिस्थिति छिटो र सहज रूपमा अघि नबढे वासिङ्टनसँग रहेको अन्तिम विकल्प प्रयोग कहिल्यै गर्न नपरोस् भन्नेमा आशावादी रहेको बताए।

उनले एक्समा लेखेका थिए, ‘अर्काे २४ घण्टाभित्र सम्झौता अन्तिम रूप पाउने सम्भावना छ। त्यसपछि तुरुन्तै विद्युतीय हस्ताक्षर हुनेछ र आगामी साता प्राविधिक तहका वार्ता सुरु गरिनेछ।’

शुक्रबार इरानका परराष्ट्रमन्त्री सय्यद अब्बास अराघ्चीले पनि अमेरिका-इरान सम्झौता नजिक पुगेको बताएका थिए।

उनका अनुसार उक्त सम्झौताले लेबनानमा इजरायल र हेज्बुल्लाहबीचको द्वन्द्व अन्त्य गर्ने परिकल्पना गरेको छ। त्यसपछि इरानको परमाणु कार्यक्रमसम्बन्धी वार्ता सुरु गरिनेछ।

अमेरिकी अधिकारीहरूले पनि सम्झौताका केही विवरण पुष्टि गर्दै इरानले आफ्ना दायित्व पूरा गरेमा मात्र उसले आर्थिक लाभ प्राप्त गर्ने बताएका छन्।

पछिल्ला महिनामा यस्ता विभिन्न स्वरूपका सम्झौताहरू हुने अपेक्षा पटक-पटक गरिएको भए पनि अन्तिम चरणमा पुगेर सफल हुन सकेका थिएनन्।

यो युद्ध फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानभरि हवाई आक्रमण गरेपछि सुरु भएको थियो। त्यसको प्रतिक्रियास्वरूप इरानले इजरायल तथा अमेरिकाका खाडी क्षेत्रका सहयोगी राष्ट्रहरूलाई निसाना बनाएको थियो। साथै, विश्वको तेल तथा तरलीकृत प्राकृतिक ग्यास ढुवानीका लागि महत्त्वपूर्ण मानिने होर्मुज जलमार्ग बन्द गरेको थियो।

अप्रिलमा युद्धविराममा सहमति भए पनि अमेरिका र इरानबीच छिटफुट रूपमा आक्रमण र प्रत्याक्रमण जारी रहँदै आएका छन्।

यसअघि अमेरिकी सञ्चारमाध्यमहरूले इजरायल र इरान समर्थित हेज्बुल्लाहबीचको लेबनानी द्वन्द्व यो सम्झौताको हिस्सा नहुन सक्ने जनाएका थिए, तर इरानले त्यसलाई समावेश गर्न जोड दिएको बताइएको छ।

आइतबार इजरायलले दक्षिणी लेबनानका २९ वटा गाउँका बासिन्दालाई तत्काल स्थान खाली गर्न आदेश दिएको थियो। यस्ता आदेश सामान्यतया हवाई आक्रमणअघि जारी गरिन्छन्।

प्रकाशित: ३१ जेठ २०८३ १४:३८ | Sunday, June 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast