धनुषा- मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रदेशसभाबाट सर्वसम्मत रूपमा पारित भएको छ।
बिहीबार बसेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रममाथिको विस्तृत छलफलपछि सभामुख रामअशिष यादवले निर्णयार्थ प्रस्तुत गरेका थिए।
प्रस्तावमाथि विपक्षमा कुनै मत नपरेपछि सभामुख यादवले नीति तथा कार्यक्रम सर्वसम्मतिले स्वीकृत भएको घोषणा गरे।
प्रदेश सरकारले जेठ १५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रम प्रतिपक्षी दलहरूको अवरोधका कारण लामो समयसम्म छलफलमा प्रवेश गर्न सकेको थिएन।
पछि दलहरूबीच सहमति भएपछि छलफल प्रक्रिया अघि बढाइएको थियो।
नीति तथा कार्यक्रममाथि विभिन्न सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए। तीमध्ये सत्तारूढ नेकपा एमालेका सांसद राजकुमार लेखीले प्रस्तुत गरेको संशोधन प्रस्तावमात्र स्वीकृत भएको छ भने अन्य प्रस्ताव अस्वीकृत भएका छन्।
नीति तथा कार्यक्रम पारित भएपछि अर्थमन्त्री युवराज भट्टराईले आगामी बजेट निर्माणका लागि विनियोजन विधेयकमा समावेश गरिने प्राथमिकता तथा सिद्धान्त सदनमा प्रस्तुत गरे।
त्यसपछि सभामुख यादवले प्रदेशसभा बैठक स्थगित गरे। नीति तथा कार्यक्रम पारित भएसँगै मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।




