ललितपुर नगर प्रहरीको कामबाट नगरवासी सन्तुष्ट : मेयर महर्जन

हिमाल प्रेस १९ माघ २०७९ १७:१७
10
SHARES
ललितपुर नगर प्रहरीको कामबाट नगरवासी सन्तुष्ट : मेयर महर्जन

ललितपुर– ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले महानगर प्रहरीको कामबाट सबै नगरवासी सन्तुष्ट रहेको बताएका छन्।

ललितपुर महानगरबाट सेवा प्रवाहका सन्दर्भमा नगर प्रहरीले गरेका कामको श्रव्यदृष्य सामग्री प्रदर्शनीमा प्रमुख महर्जनले २६ महिना अगाडि महानगरको प्रहरी प्रमुखमा सीताराम हाछेंथु नियुक्त भएपछि महानगरमा अन्य नगर र महानगरलाई सिकाउने गरी उदाहरणीय काम भएको महर्जनको भनाइ छ।

‘नगर प्रहरीको कामबाट सबै खुसी छन्, नगरप्रहरीमार्फत हामीले विधि पुर्‍याएर काम गरेका छौँ,’ उनले भने। नगरप्रहरीको कामले महानगरको सेवा प्रवाहलाई अत्यन्तै सहज बनाएको बताउँदै प्रहरीलाई सुरक्षाका थप विधि अपनाएर काम गर्न उनले आग्रह गरे।

महानगर उपप्रमुख मञ्जली शाक्यले नगरप्रहरीका कामले नगरवासीमा सकारात्मक धारणा विकास गरेको उल्लेख गरिन्। ‘नगर प्रहरीले काम गर्दा महानगरको योजनाबमोजिम अगाडि बढ्नु हुनेछ भन्ने अपेक्षा छ। नगरप्रहरीका कामलाई थप व्यवस्थित गर्न आवश्यक नीतिगत काम गर्न तयार छौँ,’ उनले भनिन्।

यही पुस २ गते १०४ औं स्थापना दिवस मनाएको ललितपुर महागरले यस वर्षका लागि ‘ललितपुरको समृद्धि र सुशासनको आधार, सम्पदा, संस्कृतिसहितको स्मार्ट सेवा र पूर्वाधार’ नारालाई केन्द्रमा राखेर सेवा प्रदान गरिरहेको छ।

प्रदर्शनीमा सार्वजनिक पाटीपौवाको सरसफाइ, सडकका छेउछाउमा राखिएका सामग्री हटाउने, भूइँमा लत्रिएका र अव्यवस्थित तारलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गरिएका सवारीसाधन हटाउने र फुटपाथ अतिक्रमण गरी व्यापार गर्न रोक्नेलगायत नगर प्रहरीले गरेका सकारात्मक कामलाई समेटिएको थियो।

नगरप्रहरीले जनचेतना जगाउनका लागि चेतनामूलक सन्देश प्रवाह गर्ने, नक्सापास नगरी बनाइएका अव्यवस्थित संरचना हटाउने, जथाभावी राखिएका होर्डिङ बोर्ड हटाउनेलगायतका कार्य गर्दै आइरहेको छ। हाल ललितपुर महानगरमा ७५ जना नगर प्रहरी कार्यरत छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =