काठमाडौँ– नेकपा (एमाले) को संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले नेपालले भारतको भूभाग मिचेको प्रमाण नभएको बताएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकमा परराष्ट्रमन्त्री शिशिर खनालले वक्तव्य दिएपछि उनले नेपालले कुनै पनि भारतीय भूमि नमिचेको यथार्थलाई सत्ता र प्रतिपक्षले राम्रोसँग मनन् गर्नुपर्नेमा जोड दिए।
परराष्ट्रमन्त्रीको जवाफबाट आफूहरू सन्तुष्ट नभएको र राष्ट्रियता रक्षाको संघर्ष भिन्न तरिकाले जारी राख्ने उनको भनाइ छ।
नेता थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यस्तो अभिव्यक्ति सच्याउन आफ्नो पार्टीका नेता निर्देशन दिन सक्ने तथा सभामुखले त्यस्ता अभिव्यक्ति संसद्को अभिलेखबाट हटाएमा गतिरोध अन्त्य हुने धारणा राखे।
उनले संसदमा आएर प्रधानमन्त्रीले गल्ती स्वीकार गरे अहिलेको संकट हल उनले जिकिर गरे। थापाले तथ्यसँग मेल नखाने वक्तव्य फिर्ता लिन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले प्रधानमन्त्रीलाई निर्देशन दिनुपर्ने बताए। प्रधानमन्त्रीले व्यक्त गरेको ‘तथ्यहीन’ अभिव्यक्तिलाई संसदको रेकर्डबाट हटाउन सभामुखले रुलिङ गरे पनि हल निस्किने उनको भनाइ छ।




