विश्वकप : यी हुन् २० उदीयमान खेलाडी

हिमाल प्रेस २६ जेठ २०८३ १७:१४ | Tuesday, June 9, 2026
6
SHARES
विश्वकप : यी हुन् २० उदीयमान खेलाडी

२०२६ फिफा विश्वकपमा चम्किन सक्ने सुपरस्टारहरूको बारेमा धेरैलाई थाहा छ, तर नयाँ पुस्ताका प्रतिभाहरूको कुरा के होला? अमेरिका, क्यानडा र मेक्सिकोमा हुने विश्वकपमा एक हजार दुई सय ४८ खेलाडीहरूले भाग लिनेछन्। तीमध्ये आठ सय ९१ जना पहिलो पटक विश्वकप खेल्दै छन्। यसमा धेरै नयाँ अनुहारहरू छन्, जसले विश्व मञ्चमा आफूलाई चिनाउने अवसर खोजिरहेका छन्। यहाँ २० खेलाडीलाई विशेष रूपमा हेर्न लायक मानिएको छ। ती यस प्रकार छन् :

१. यान डियोमाँडे [आइभरी कोस्ट]

उमेर : १९ | स्थान : विंगर | क्लब: आरबी लाइपजिग

आइभरी कोस्टका विंगर यान डियोमाँडेको नाम लिभरपुल, म्यानचेस्टर सिटी, रियल मड्रिड, पेरिस सेन्ट-जर्मेन र बायर्न म्युनिखजस्ता ठूला क्लबहरूसँग जोडिएको छ। तर लाइपजिगले उनलाई बिक्रीका लागि नराखेको बताउँदै उनको मूल्य १३० मिलियन युरोभन्दा बढी रहेको जनाएको छ।

यो विश्वकपमा सबैभन्दा खोजिने किशोर खेलाडीमध्ये एक आरबी लाइपजिगका विंगर हुन्, यद्यपि जर्मन क्लब उनलाई छोड्न चाहँदैन। बुन्डेसलिगाको ‘रुकी अफ द सिजन’ अवार्ड जितेका डियोमाँडेले जुलाई २०२५ मा स्पेनिस क्लब लेगानेसबाट २० मिलियन युरोमा लाइपजिगमा आएका थिए। उनले ३३ लिग खेलमा १२ गोल र ९ असिस्ट गर्दै २१ गोल योगदान गरेर क्लबलाई च्याम्पियन्स लिगमा पुर्‍याउन मद्दत गरेका छन्।

डियोमाँडे १५ वर्षको उमेरमा अमेरिका सरेपछि फ्लोरिडामा तीन वर्ष बसेका थिए। त्यसैले उनलाई अमेरिकामा हुने विश्वकपमा सजिलो लाग्न सक्छ।  उनले मार्चमा दक्षिण कोरिया र स्कटल्यान्डविरुद्धका मैत्रीपूर्ण खेलहरू गुमाएका थिए, तर फ्रान्सविरुद्धको चकित पार्ने जितमा उनले सुरुआती टोलीमा खेलेका थिए। प्रतियोगिता सुरु हुँदा पनि आफ्नो स्थान जोगाउने सम्भावना बलियो देखिन्छ।

२. गिलबर्टो मोरा [मेक्सिको]

उमेर : १७ | स्थान : मिडफिल्डर | क्लब : टिजुआना

१७ वर्षका गिलबर्टो मोरा यस विश्वकपका सबैभन्दा कान्छा खेलाडी हुन्। स्पेनी मिडियाले उनलाई ‘मेक्सिकन पेद्री’, ‘मेक्सिकन पर्ल’ र ‘क्राकितो’ (सानो मास्टर) जस्ता उपनाम दिएका छन्। उनी १६ वर्षको उमेरमै मेक्सिकोका सबैभन्दा कान्छा अन्तर्राष्ट्रिय खेलाडी बने। प्रशिक्षक जेभियर अगिरेले उनलाई गत वर्षको गोल्डकप फाइनलमा सुरुआती टोलीमा राखेका थिए, जहाँ मेक्सिकोले अमेरिकालाई २-१ ले हराएको थियो।

मोरा लिगा एमएक्स इतिहासकै सबैभन्दा कान्छा गोलकर्तासमेत हुन्। उनी १५ वर्षमै टिजुआनाका लागि गोल गर्न सफल भएका थिए। उनी सुरुआती रोजाइमा परे भने दक्षिण अफ्रिकाविरुद्धको विश्वकप उद्घाटन खेलमा ठूलो आशा उनीमाथि रहनेछ। तर स्पेनको प्रतिनिधित्व नगरी मेक्सिको रोजेका अल्भारो फिडाल्गोको आगमनले उनलाई सुरुमा बेन्चमा बस्नुपर्ने सम्भावना पनि छ।

३. जोहान मान्जाम्बी [स्विट्जरल्यान्ड]

उमेर : २० | स्थान : मिडफिल्डर | क्लब : एससी फ्राइबर्ग

स्विट्जरल्यान्डका मिडफिल्डर जोहान मान्जाम्बी सानै छँदा गोलकिपर बन्न चाहन्थे। जर्मन दिग्गज म्यानुअल नोयरउनका आदर्श हुन्। स्विट्जरल्यान्डले नियमित रूपमा युवा खेलाडीहरूलाई ठूलो मञ्च दिने गरेको इतिहास छ। पहिले ब्रेल एम्बोलो र ड्यान एनडोएले अवसर पाएका थिए र अहिले त्यो पालो मान्जाम्बीको हुन सक्छ।

उनी फ्राइबर्ग टोलीको युरोपा लिग यात्रामा महत्त्वपूर्ण खेलाडीका रूपमा उदाएका थिए, जसले टोलीलाई फाइनलसम्म पुर्‍याएको थियो। मान्जाम्बीले मिडफिल्डका विभिन्न स्थानमा खेल्न सक्छन्। उनी आक्रमण क्षेत्रमा पनि प्रभावकारी छन्। बल राम्रोसँग नियन्त्रण गर्दै अघि बढाउने उनको क्षमता उत्कृष्ट मानिन्छ। स्विस कप्तान ग्रानित झाकाले उनको खुलेर प्रशंसा गरेका छन्। उनी स्विट्जरल्यान्ड टोलीका सबैभन्दा कान्छा खेलाडी हुन्। प्रशिक्षक मुरात याकिनले उनलाई ‘मैले निकै कम देखेको असाधारण गोल गर्ने भोक भएको खेलाडी’ भनेका छन्।

मान्जाम्बीलाई युरोपा लिगमा फ्राइबर्गको ‘सिजनको उदीयमान’ खेलाडी घोषित गरिएको थियो। उनले मिडफिल्डबाट सात गोल गरे, जसमा सेमिफाइनलमा ब्रागाविरुद्धको उत्कृष्ट गोल पनि समावेश छ। युरोपेली अभियानभर उनले ३३ सट प्रहार गरे। त्यो प्रहार टोलीका अन्य कुनै खेलाडीभन्दा ११ बढी हो।

जेनेभामा जन्मिएका उनी सेन्ट्रल मिडफिल्ड, नम्बर १० वा कहिलेकाहीँ दायाँतर्फ आक्रमणकारी भूमिकामा खेल्छन्। गत वर्ष अमेरिकाविरुद्ध ४-० को जितमा उनले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

उनी सेन्ट्रल मिडफिल्ड वा अट्याकिङ मिडफिल्ड दुवै भूमिकामा खेल्न सक्षम छन्। गत जुनमा सिनियर स्विस टोलीमा डेब्यु गरेपछि उनी लगातार ११ अन्तर्राष्ट्रिय खेलमा सहभागी भइसकेका छन्।उनी भविष्यका लागि ध्यान दिनुपर्ने खेलाडी हुन्।

४. रिकार्डो पेपी [संयुक्त राज्य अमेरिका]

उमेर : २३ | स्थान : स्ट्राइकर | क्लब : पीएसभी आइन्डहोभेन

विश्वकपमा अमेरिकी टोलीमाथि समूह चरण पार गर्ने ठूलो दबाब हुनेछ। उनीहरू लामो यात्रा गर्न सफल हुनेमा शंका भए पनि पीएसभी आइन्डहोभेनका स्ट्राइकर रिकार्डो पेपी उनीहरूको मुख्य आशाको रूपमा देखिन सक्छन्। पेपीले गत सिजन पीएसभीका लागि १९ गोल गरेका थिए, जसमा अन्तिम पाँच खेलमै ६ गोल समावेश छन्। उनको उत्कृष्ट प्रदर्शनका कारण पीएसभीले डच लिगको उपाधि जितेको थियो।

उनले हालसम्म अमेरिकी राष्ट्रिय टोलीका लागि ३५ खेलमा १३ गोल गरेका छन्। तर आश्चर्यजनक रूपमा नोभेम्बर २०२४ देखि अप्रिलसम्म उनले अमेरिकी टोलीका लागि मात्र ३६ मिनेट खेल्ने अवसर पाएका थिए। मे अन्त्यमा सेनिगलविरुद्धको जितमा उनी पुनः सुरुआती लाइनअपमा फर्किए र ३-२ को मैत्रीपूर्ण जितमा एक असिस्ट पनि दिए। त्यसपछि जर्मनीविरुद्धको खेलमा पनि उनले मैदान प्रवेश गरेका थिए।

विश्लेषकहरूका अनुसार अमेरिकालाई गोल निकाल्न सक्ने खेलाडीको आवश्यकता छ। रिकार्डो पेपीले घरेलु दर्शकको आशालाई ऊर्जा दिन सक्ने क्षमता राख्छन्।

५. निको पाज [अर्जेन्टिना]

उमेर : २१ | स्थान : मिडफिल्डर | क्लब : कोमो

अर्जेन्टिनाका मिडफिल्डर निको पाजले गोल गरेपछि आफ्नो उत्सवमा विभिन्न शैली अपनाउने गरेका छन्। कहिलेकाहीँ उनी लियोनेल मेस्सीजस्तै आकाशतर्फ दुवै हात उठाएर उत्सव मनाउँछन् भने पछिल्ला खेलहरूमा उनले अनुहार हातले छोपेर ‘द मास्क’ शैली अपनाएका छन्। इटालियन क्लब कोमोले प्रशिक्षक सेस्क फाब्रिगासको नेतृत्वमा देखाएको उत्कृष्ट प्रगतिको एक महत्त्वपूर्ण हिस्सा पाज हुन्। उनी अर्जेन्टिनामा पनि चर्चित छन्।

बायाँ खुट्टा प्रयोग गर्ने र ‘नम्बर १०’ भूमिकामा खेल्ने भएकाले उनको तुलना लियोनेल मेस्सीसँग हुने गरेको छ। विश्लेषकहरूका अनुसार त्यो तुलना अझै धेरै टाढाको कुरा हो। उनको मुख्य स्थान स्ट्राइकर पछाडि हो तर उनी बायाँ विंगमा पनि खेल्न सक्छन्। उनी गोल गर्न, अवसर सिर्जना गर्न र प्रेसिङ गर्न सक्षम छन् र फाब्रिगासको प्रशिक्षणमा निकै निखारिएका छन्।

अर्जेन्टिना प्रशिक्षक लियोनेल स्कालोनीले उनलाई कसरी प्रयोग गर्छन् भन्ने स्पष्ट छैन। उनी कहिलेकाहीँ ‘इम्प्याक्ट प्लेयर’ वा रोटेसनको हिस्सा हुन सक्छन्। तर अवसर पाएमा उनी त्यसलाई सदुपयोग गर्ने खेलाडी मानिन्छन्। उनी अर्जेन्टिनाका पूर्व अन्तर्राष्ट्रिय डिफेन्डर पाब्लो पाजका छोरा हुन्, जो १९९८ विश्वकप टोलीका सदस्य थिए। रियल मड्रिडले उनलाई २०२४ मा बिक्री गर्दा २०२७ सम्म लागू हुने ‘बाय-ब्याक क्लज’ राखेको थियो।

यस सिजनमा उनले सिरी ए मा सबैभन्दा धेरै ड्रिबल पूरा गरेका छन् र १३ गोल तथा ८ असिस्ट दिएका छन्। उनले मार्चमा मौरिटानियाविरुद्ध आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल पनि गरेका थिए।

६. गेसिमे यासिन [मोरक्को]

उमेर : २० | स्थान : राइट-विंगर | क्लब : स्ट्रासबुर्ग

मोरक्कोका ‘वाइल्डकार्ड’ खेलाडी गेसिमे यासिन सुरुमा बार्सिलोनाको नजरमा थिए। त्यसपछि उनले फ्रान्सेली दोस्रो डिभिजन क्लब डन्केर्क छोडेर ठूलो लगानी गर्ने क्लब स्ट्रासबुर्गमा प्रवेश गरे, जसले जनवरीमा करिब ७ मिलियन युरो तिरेर उनलाई अनुबन्ध गरेको थियो।

उनले मोरक्कोलाई अन्डर-२० विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका खेले, जुन नयाँ प्रशिक्षक मोहम्मद ओउहाबीको नेतृत्वमा सम्भव भएको थियो। यसअघि वालिद रेग्रागुईले अफ्रिका कप अफ नेसन्सपछि पद छोडेका थिए। त्यसयता यासिनले लगातार राष्ट्रिय टोलीका मैत्रीपूर्ण खेलहरूमा अवसर पाएका छन्। उनले मार्चमा इक्वेडरविरुद्ध डेब्यु गरेका थिए। कतारमा सेमिफाइनल पुगेको टोलीमा स्थान बनाउन प्रयासरत छन्।

अन्डर-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेपछि उनी अब सबैभन्दा ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने अवसरको प्रतीक्षामा छन्। उनी बायाँ खुट्टा प्रयोग गर्ने दायाँ विंगर हुन्, जसको बल नियन्त्रण उत्कृष्ट छ र ड्रिबलिङ उनको मुख्य क्षमता हो।

जनवरीमा उनले स्ट्रासबुर्गसँग साढे चार वर्षको सम्झौता गरेका छन्। उनी चेल्सीको साझेदार क्लबको निगरानीमा रहेको मानिन्छन् र बार्सिलोनासँग पनि जोडिएका छन्। उनलाई अत्यन्तै उच्च सम्भावनायुक्त खेलाडीका रूपमा हेरिएको छ।

७. लुकास हेरेन्टन [अस्ट्रेलिया]

उमेर : १८ | स्थान : सेन्टर-ब्याक | क्लब : कोलोराडो र्‍यापिड्स

मेक्सिकोका जोर्गे सान्चेजसँग बलको प्रतिस्पर्धामा देखिएका लुकास हेरेन्टनले मे अन्त्यमा क्यालिफोर्नियाको रोज बाउलमा भएको मैत्रीपूर्ण खेलमा आफ्नो उपस्थिति जनाएका थिए, जहाँ मेक्सिको १-० ले विजयी भएको थियो। यो युवा अस्ट्रेलियाली सेन्टर-ब्याक अस्ट्रेलियाको विश्वकप इतिहासमा कुनै पनि संस्करणमा छनोट हुने सबैभन्दा कान्छा खेलाडी हुन्।

उनलाई खेलकुद राम्रोसँग बुझ्ने एक साथीले सिफारिस गरेका थिए। उनी ब्रिस्बेनका हुन् र जनवरीमा क्लब रेकर्ड शुल्कमा अमेरिकास्थित मेजर लिग सकर क्लबमा आबद्ध भएका थिए। उक्त क्बलमा गरेको प्रदर्शनका आधारमा उनले अस्ट्रेलियाको विश्वकप टोलीमा स्थान बनाउन सफल भएका छन्।

८. केरिम अलाजबेगोभिच [बोस्निया-हर्जगोभिना]

उमेर : १८ | स्थान : विंगर | क्लब : रेड बुल साल्जबर्ग

वेल्सविरुद्धको विश्वकप प्लेअफ सेमिफाइनलको पेनाल्टी सुटआउटमा निर्णायक गोल गरेपछि केरिम अलाजबेगोभिचले आफ्नो टोलीसँग उत्सव मनाइरहेको दृश्य देखिएको थियो। उनी बोस्निया-हर्जगोभिनाका लागि ठूलो दबाबको क्षणमा पनि आत्मविश्वासका साथ प्रदर्शन गर्न सक्ने खेलाडीका रूपमा उदाएका छन्।

साल्जबर्गमा उनको उत्कृष्ट प्रदर्शनपछि उनका पूर्व क्लब बायर लेभरकुजनले केवल एक सिजनमै आफ्नो ‘बाय-ब्याक क्लज’ सक्रिय गरेको थियो। यद्यपि उमेर कम भए पनि उनले ठूला खेलहरूमा आफूलाई प्रमाणित गरिसकेका छन्। उनले वेल्सविरुद्धको प्लेअफ सेमिफाइनलमा निर्णायक पेनाल्टी गोल गरेका थिए भने इटालीविरुद्धको फाइनल सुटआउटमा पनि गोल गरेका थिए।

जर्मनीमा जन्मिएका यी विंगरलाई बोस्नियन फुटबलको नयाँ ‘पोस्टर ब्वाय’ का रूपमा हेरिएको छ। उनले अन्तर्राष्ट्रिय स्तरमा प्रायः सब्स्टिच्युटका रूपमा अवसर पाए पनि विश्वकपअघि भएका दुवै मैत्रीपूर्ण खेलमा सुरुआती टोलीमा परेका थिए।

९. क्यान उजुन [टर्की]

उमेर : २० | स्थान : मिडफिल्डर | क्लब : इन्ट्राख्ट फ्रान्कफर्ट

उत्तरी म्यासेडोनियाविरुद्ध ४-० को मैत्रीपूर्ण जितमा टर्कीको दोस्रो गोल गरेपछि क्यान उजुनले उत्सव मनाएका थिए। जर्मनीमा जन्मिएका उनले टर्कीको प्रतिनिधित्व गर्ने निर्णय गरेका हुन्। उनले सन् २०२४ मा न्युर्नबर्ग (बुन्डेसलिगा २) मा खेलिरहेकै बेला सिनियर अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। न्युर्नबर्गबाट दुई वर्षअघि फ्रान्कफर्ट आएका यी आक्रामक मिडफिल्डरले क्लबका समर्थकहरूलाई निकै प्रभावित पारेका छन्।

गत सिजन बुन्डेसलिगाको सुरुका पाँच खेलमै उनले ५ गोल र ३ असिस्ट गरेका थिए। तर ह्यामस्ट्रिङ चोटका कारण जाडो यामतिर उनको खेल समय सीमित भयो। उनी आफ्नो क्लबका लागि प्रमुख प्लेमेकर हुन् तर राष्ट्रिय टोलीमा भने अझै स्थायी स्थान बनाउन सकेका छैनन्। प्रशिक्षक भिन्चेन्जो मोन्टेलाले उनलाई आवश्यक परे बेन्चबाट प्रयोग गर्न सकिने विकल्पका रूपमा हेर्ने सम्भावना छ।

१०. आर्मान्डो गोन्जालेज [मेक्सिको]

उमेर : २३ | स्थान : स्ट्राइकर | क्लब : चिभास डे ग्वाडालाहारा

ग्वाडालाहाराका लागि सान लुइसविरुद्ध लिगा एमएक्समा चौथो गोल गरेपछि आर्मान्डो गोन्जालेजले उत्सव मनाएको दृश्य देखिएको थियो। उनलाई उनका काकाले बाल्यकालमा किरासँग डराउने भएकाले ‘ला होर्मिगा’ (स्पेनी भाषामा ‘कमिला’) भन्ने उपनाम दिएका थिए।

जोन मरेका अनुसार गोन्जालेजले गत सिजन ग्वाडालाहाराका लागि २५ गोल गरेका थिए। उनले नोभेम्बरमा मेक्सिकोका लागि पहिलो क्याप पाए र फेब्रुअरीमा आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरेका थिए।

उनलाई म्यानचेस्टर युनाइटेड र वेस्ट ह्यामका पूर्व स्ट्राइकर जेभियर ‘चिचारितो’ हर्नान्डेजसँग तुलना गरिन्छ। चिचारितोले आफ्नो करियरको अन्त्य ग्वाडालाहारामै गरेका कारण गोन्जालेजका लागि उनी एक महत्त्वपूर्ण प्रेरणाका रूपमा रहेका छन्। संयुक्त आयोजक देशहरूको मुख्य गोल आशा फुलहामका राउल हिमेनेजमाथि भए पनि गोन्जालेज भविष्यका लागि एक उत्कृष्ट सम्भावना हुन्।

लिगा एमएक्समा ग्वाडालाहारालाई प्लेअफ सेमिफाइनलसम्म पुर्‍याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए, जसका कारण उनी राष्ट्रिय टोलीमा प्रवेश गर्न सफल भए। उनले मेक्सिकोका लागि पहिलो सात खेलमा एक मात्र गोल गरेका छन् आइसल्याण्डविरुद्ध। तर अझै धेरै क्षमता बाँकी रहेको भन्दै उनलाई ‘सुपर सब’ को रूपमा हेर्न सकिन्छ।

११. अय्युब बुआद्दी [मोरक्को]

उमेर : १८ | स्थान : मिडफिल्डर | क्लब : लिल

मोरक्कोका अय्युब बुआद्दी म्याडागास्करविरुद्ध खेलिरहेको तस्बिरमा देखिन्छन्। उनले २६ मेमा बुरुन्डीविरुद्ध ५-० को जितमा बेन्चबाट मैदान प्रवेश गर्दै मोरक्कोका लागि पूर्ण अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए। २ जुनमा म्याडागास्करविरुद्ध ४-० को जितमा पहिलो पटक सुरुआती टोलीमा परेका थिए।

उनलाई आर्सनलको दीर्घकालीन लक्ष्यका रूपमा हेरिएको छ। फ्रान्स अन्डर-२१ टोलीबाट खेल्दा उनलाई मैदानभित्र र बाहिर दुवैमा बौद्धिक खेलाडी भएकाले ‘आइन्स्टाइन’ उपनाम दिइएको थियो। उनी हाल गणितमा डिग्री अध्ययन गरिरहेका छन्। उनले फ्रान्स अन्डर-२१का लागि खेले पनि सिनियर टोलीमा मौका पाएनन् र पछिल्लो महिना उनले मोरक्कोका लागि खेल्ने निर्णय गरेका थिए।

यो निर्णयलाई मोरक्कोले ठूलो उपलब्धिका रूपमा लिएको छ। उनी टोलीमा नयाँ खेलाडी जस्तै बनेका छन्, किनकि उनीहरूको मैत्रीपूर्ण खेलबाट मात्र उनको सुरुआत भएको हो। यद्यपि उनी शीर्ष स्तरका लागि नयाँ भने होइनन्। बुआद्दीले १६ वर्षको उमेरमा लिलका लागि डेब्यु गरेका थिए र त्यसपछि युरोपा लिग र च्याम्पियन्स लिग दुवैमा खेलिसकेका छन्। यसबाट उनको अनुभव र परिपक्वता देखिन्छ।

उनी डिफेन्सिभ मिडफिल्डर हुन्, जसले ‘डिप-लाइङ नम्बर ६’ को रूपमा डबल पिभोटमा खेल्छन्। विश्लेषकहरूका अनुसार उनले मोरक्कोको मिडफिल्डमा ठूलो प्रभाव पार्न सक्छन् र खेलको नियन्त्रण सम्हाल्न महत्त्वपूर्ण भूमिका खेल्नेछन्।

१२. हुस्सेम आउआर [अल्जेरिया]

उमेर : २७ | स्थान : मिडफिल्डर | क्लब : अल-इत्तिहाद

अल्जेरियाले चार वर्षअघि मोरक्कोले देखाएको जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्‍याउन सक्ने अपेक्षा गरिएको भन्दै विश्लेषक जोनाथन पियर्सले हेर्न लायक खेलाडीका रूपमा हुस्सेम आउआरलाई चयन गरेका छन्।

पियर्सका अनुसार आउआरलाई उनले लियोन क्लबमा किशोर अवस्थादेखि नजिकबाट हेर्दै आएका हुन्। उनी एक प्रतिभाशाली मिडफिल्ड प्लेमेकर हुन्, जसले साउदी प्रो लिगमा अल-इत्तिहादका लागि यस सिजन १५ गोल गरेका छन्। केही वर्षअघि युरोपका सबैभन्दा सम्भावनायुक्त खेलाडीमध्ये एक मानिएका उनी अहिले पुनः आफ्नो उत्कृष्ट फर्ममा फर्किएका छन्।

उनले सन् २०२० मा युक्रेनविरुद्ध मैत्रीपूर्ण खेलमा फ्रान्सका लागि एक पटक सिनियर टोलीबाट खेलेका थिए। सन् २०२३ मा उनले अल्जेरियाको प्रतिनिधित्व गर्ने निर्णय गरेका हुन्।

१३. एलेसान्द्रो सर्काती [अस्ट्रेलिया]

उमेर : २२ | स्थान : सेन्टर-ब्याक | क्लब : पार्मा

क्यामरुनका क्रिस्चियन कोफानेसँग बलको प्रतिस्पर्धामा देखिएका एलेसान्द्रो सर्काती यस सिजन इटालियन सिरी ए क्लब पार्माको रक्षापंक्तिको नियमित सदस्य बनेका छन्। सर्काती इटालीको फिदेन्जामा जन्मिएका हुन्, तर उनका पिता ग्यानफ्रान्को—जो स्वयं पनि फुटबलर हुन्- पर्थ ग्लोरीमा खेल्न गएका बेला उनी शिशु अवस्थामै अस्ट्रेलिया सरेका थिए।

उनले यस सिजन पार्माको डिफेन्सको केन्द्रमा निरन्तर राम्रो प्रदर्शन गर्दै आफ्नो पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी गरेका छन्। इटालीका पूर्व युवा अन्तर्राष्ट्रिय खेलाडी रहेका सर्कातीले एक वर्षको उमेरमा अस्ट्रेलिया सरेका थिए। उनले गत सेप्टेम्बरमा न्युजिल्यान्डविरुद्ध खेल्दा सोकरुज (अस्ट्रेलिया) को कप्तानी गर्दै सन् १९८१ यता टोलीको सबैभन्दा कान्छा कप्तान बनेका थिए।

उनी अब अस्ट्रेलियाको राष्ट्रिय टोलीको रक्षापंक्तिको प्रमुख हिस्सा बन्ने अपेक्षा गरिएको छ।

१४. अली जासिम [इराक]

उमेर : २२ | स्थान : लेफ्ट-विंगर | क्लब : कोमो (२०२५-२६ मा अल-नज्मा लोनमा)

यूएईका डिफेन्डर रुबेन कानेडोसँग बलको प्रतिस्पर्धामा देखिएका अली जासिम इराकी फुटबलका तीव्र गतिमा उदाइरहेका युवा प्रतिभामध्ये एक हुन्। जासिमले २०१८ मा मात्र १४ वर्षको उमेरमा इराकी प्रिमियर लिग क्लब अल-कार्खबाट डेब्यु गरेका थिए। १५ वर्षको उमेरमै आफ्नो पहिलो सिनियर गोल गरेका थिए।

उनी २०२४ को सुरुवातमा अन्डर-२३ एसियन कपका सर्वाधिक गोलकर्ता बनेका थिए। त्यसपछि इटालियन क्लब कोमोले उनलाई अनुबन्ध गर्दै जोखिमपूर्ण तर सम्भावनायुक्त लगानी गरेको थियो।

कोमोले उनलाई छोटो समयमै नेदरल्यान्ड्स र पछि साउदी अरेबियामा लोनमा पठाएको थियो, जहाँ उनी अल-नज्मामा खेलिरहेका छन्।

इराकका अस्ट्रेलियाली प्रशिक्षक ग्राहम अर्नोल्डले पछिल्लो १२ महिनामा उनलाई नियमित रूपमा टोलीमा समावेश गर्दै आएका छन्। उनलाई समूह चरणमा नर्वे, फ्रान्स र सेनेगलजस्ता बलिया प्रतिद्वन्द्वीविरुद्ध खेल्ने टोलीको महत्त्वपूर्ण हिस्सा मानिएको छ।

१५. मोहम्मद अमोरा [अल्जेरिया]

उमेर : २६ | स्थान : स्ट्राइकर वा विंगर | क्लब : वुल्फ्सबर्ग

नेदरल्यान्ड्सका डिफेन्डर म्याट्स वाइफरसँग बलको प्रतिस्पर्धामा देखिएका मोहम्मद अमोरा अल्जेरियाका आक्रमणकारी खेलाडी हुन्। उनी विश्वकप छनोट चरणमा उत्कृष्ट प्रदर्शन गर्दै अफ्रिकी छनोटमा १० गोलसहित सर्वाधिक गोलकर्ता बनेका थिए, जसमा इजिप्टका मोहम्मद सलाह (९ गोल) भन्दा बढी गोल गरेका थिए।

अमोराले पछिल्ला ६ छनोट खेलमै १० गोल गरेका थिए। यद्यपि उनी वुल्फ्सबर्गसँगको क्लब सिजनमा टोली रेलिगेसनमा परे पनि राष्ट्रिय टोलीमा उनको प्रदर्शन अझै उत्कृष्ट रह्यो। उनी यस गर्मीमा अल्जेरियाको आक्रमणको नेतृत्व गर्ने अपेक्षा गरिएको छ। साथै उनी लेफ्ट विंगमा पनि खेल्न सक्षम छन्, जसले उनलाई आक्रमणकारी बनाउँछ।

१६. लुइस सुआरेज [कोलम्बिया]

उमेर : २८ | स्थान : स्ट्राइकर | क्लब : स्पोर्टिङ

कोस्टारिकाविरुद्ध जुन महिनाको सुरुमा भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाका तेस्रो गोल गरेपछि लुइस सुआरेजले उत्सव मनाएका थिए। उनले गत वर्ष सेप्टेम्बरमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव जमाएका थिए। विश्वकप छनोट खेलमा भेनेजुएलाविरुद्ध एकै खेलमा चार गोल गरेपछि उनको चर्चा चुलिएको थियो। त्यसपछि उनले कोस्टारिकाविरुद्धको मैत्रीपूर्ण जितमा आफ्नो पाँचौँ अन्तर्राष्ट्रिय गोल पनि गरेका छन्।

उरुग्वेका प्रसिद्ध लुइस सुआरेजसँग नाम मिल्ने भए पनि उनी भिन्न खेलाडी हुन्। पोर्चुगलको स्पोर्टिङ क्लबका लागि उनले यस सिजन असाधारण प्रदर्शन गर्दै पहिलो सिजनमै ३८ गोल गरेका छन्।

यसका साथै उनले थप ९ गोलका लागि असिस्ट पनि दिएका छन्। अब उनी विश्वकपमा आफ्नो छाप छोड्ने लक्ष्यसहित मैदानमा उत्रिने तयारीमा छन्।

१७. ब्रायन गुटिएरेज [मेक्सिको]

उमेर : २२ | स्थान : मिडफिल्डर | क्लब : चिभास डे ग्वाडालाहारा

इल्यिनोइसमा जन्मिएका आक्रामक मिडफिल्डर ब्रायन गुटिएरेजले सन् २०२५ मा संयुक्त राज्य अमेरिकाका लागि दुई पटक खेलिसकेपछि गत नोभेम्बरमा आफ्ना अभिभावकको देश मेक्सिकोको प्रतिनिधित्व गर्ने निर्णय गरेका थिए। उनले जनवरीमा शिकागो फायरबाट ग्वाडालाहारामा स्थानान्तरण गरेका थिए। त्यसपछि टोलीलाई लिगा एमएक्सको उपाधि प्लेअफ राउन्ड सेमिफाइनलसम्म पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।

सन् २०२६ मा मेक्सिकोले खेलेका आठमध्ये सात खेलमा उनी सहभागी भएका छन्। ४-१-४-१ प्रणालीमा उनले आक्रमणतर्फ प्रभावकारी भूमिका खेल्दै टोलीको खेल निर्माणमा महत्त्वपूर्ण योगदान दिएका छन्।

घरेलु क्लबको मैदानमा खेलिने खेलमा उनी समर्थकहरूलाई विशेष उत्साहित बनाउन सक्ने खेलाडीका रूपमा हेरिएका छन्।

१८. बाजुमाना टुरे [आइभरी कोस्ट]

उमेर : २० | स्थान : लेफ्ट-विंगर | क्लब : होफेनहाइम

आइभरी कोस्टका लेफ्ट-विंगर बाजुमाना टुरे आफ्नो तीव्र गतिका कारण ‘द हुरिकेन’ उपनामले चिनिन्छन्। उनको गति र आक्रामक शैलीले उनलाई युरोपेली क्लबहरूको ध्यानको केन्द्रमा पुर्‍याएको छ।  म्यानचेस्टर युनाइटेड र न्युक्यासल युनाइटेडजस्ता इंग्लिस क्लबहरू पनि उनीप्रति आकर्षित छन्।

उमेरले ३० र ४० नाघेका खेलाडीको उपस्थितिले भरिएको यो विश्वकपमा आइभरी कोस्टले युवा ऊर्जा पनि प्रस्तुत गरिरहेको छ— जसको उदाहरण टुरे पनि हुन्।

उनी जनवरी २०२५ मा स्विडेनको ह्यामार्बीबाट जर्मन क्लब होफेनहाइममा स्थानान्तरण भएका थिए। त्यसपछि उनको प्रदर्शन यति प्रभावशाली रह्यो कि समर्थकहरूले ‘बाजुमानिया’ भन्ने शब्द नै प्रयोग गर्न थाले।

यस सिजन उनले बुन्डेसलिगामा ३० खेलमा १२ असिस्ट दिएका छन् र अघिल्लो अफ्रिका कप अफ नेसन्समा तीन सब्स्टिच्युट खेलमै दुई गोल गरेका थिए। त्यस प्रदर्शनपछि उनलाई सुरुआती टोलीमा राख्नुपर्ने माग बढेको छ।

यद्यपि यान डियोमाँडे र अमाद डियालो जस्ता खेलाडीहरू विंगमा स्थापित भएकाले उनको स्थानका लागि प्रतिस्पर्धा कडा रहनेछ।

१९. इब्राहिम माजा [अल्जेरिया]

उमेर : २० | स्थान : मिडफिल्डर | क्लब : बायर लेभरकुजन

अल्जेरियाका मिडफिल्डर इब्राहिम माजा जर्मनीका लागि अन्डर-२० स्तरसम्म खेलेका थिए, तर सन् २०२४ मा उनले अल्जेरियाको प्रतिनिधित्व गर्ने निर्णय गरे। उनको प्राविधिक खेलशैलीका कारण उनलाई ‘माजाडोना’ (अर्जेन्टिनाका महान् खेलाडी डिएगो म्याराडोनाबाट प्रेरित उपनाम) भनेर पनि चिनिन्छ।

माजा २० वर्षका भए पनि बायर लेभरकुजनका लागि उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले अफ्रिका कप अफ नेसन्समा आफ्नो देशका लागि केही गोल पनि गरेका थिए। माजा एक कुशल टेक्निसियन हुन्, जो मिडफिल्ड र डिफेन्सबीचको खाली ठाउँमा बल लिएर खेल्न रुचाउँछन्। अल्जेरियामा उनलाई रियाद महरेजसँग तुलना गर्न थालिएको छ।

यस सिजन उनले क्लबका लागि ४० भन्दा बढी खेल खेलेका छन्। करिब १५ अन्तर्राष्ट्रिय क्याप पनि हासिल गरिसकेका छन्, जुन उनको उमेरका लागि उल्लेखनीय अनुभव हो। उनले अवसर पाए भने अल्जेरिया सफल भएमा उनी विश्व फुटबलमा अझ ठूलो नाम बनाउन सक्ने सम्भावना बोकेका खेलाडी हुन्।

२०. लुका भुस्कोभिच [क्रोएसिया]

उमेर : १९ | स्थान: सेन्टर-ब्याक | क्लब: टोटनह्याम (२०२५-२६ मा ह्याम्बर्गमा लोन)

मार्च महिनामा कोलम्बियाविरुद्ध क्रोएसियाले २-१ ले जित हासिल गरेपछि लुका भुस्कोभिचले पत्रकारहरूसँग कुरा गरिरहेका थिए। टोटनह्यामले उनलाई करिब १२ मिलियन पाउन्डमा अनुबन्ध गरेको भए पनि हालसम्म उनले क्लबका लागि कुनै पनि आधिकारिक खेल खेलेका छैनन्।

पछिल्ला वर्षहरूमा ट्रान्सफर बजारमा खासै सफल निर्णय गर्न नसकेको भन्दै आलोचना खेपिरहेको टोटनह्यामले २०२५ को गर्मीमा हाज्दुक स्प्लिटबाट भुस्कोभिचलाई अनुबन्ध गर्दा राम्रो निर्णय गरेको मानिन्छ।

यो सम्झौता वास्तवमा १८ महिनाअघि नै सहमति भइसकेको थियो। भुस्कोभिचले १६ वर्षको उमेरमै हाज्दुक स्प्लिटबाट डेब्यु गरेका थिए। त्यसपछि उनले बेल्जियमको वेस्टरलोमा सफल लोन सिजन बिताए र क्रोएशियाको अन्डर-२१ टोलीसम्म छिटो प्रगति गरे।

गत सिजन उनी ह्याम्बर्गमा लोनमा रहँदा बलियो सेन्टर-ब्याकको रूपमा पहिचान बनाएसँगै ६ गोल पनि गरेका थिए। विश्वकपपछि उनी टोटनह्याम फर्किनेछन् र पहिलो टोलीमा स्थान बनाउन अपेक्षा गरिएको छ।

बीबीसीबाट

प्रकाशित: २६ जेठ २०८३ १७:१४ | Tuesday, June 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast