सुर्खेत – वीरेन्द्रनगरमा जारी यू–१९ महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिनको खेलमा कोशीका टीका शाह र प्रिन्सा राना मगरको अर्धशतकीय पारी मधेशकी सना परविनको छायामा परेको छ।
प्रतियोगिताको आफ्नो पहिलो खेल खेल्न कालुंगचोक मैदानमा उत्रिएको मधेशको पहिलो जीतमा सना एक्लै हावी हुँदा कोशीको पहिलो हारसंगै टीका र प्रिन्साको अर्धशतक ओझेलमा पर्नगयो।
१६ औँ ओभरको तेश्रो बलमा खेल जित्न जम्मा २ रन चाहिएको अवस्थामा व्यक्तिगत ४८ रनमा खेलिरहेकी सनाले सातौँ चौका प्रहार गर्दै फिनिसरका रुपमा अर्धशतकीय पारीसँगै खेल समापन गरिन्।
उमेर समूहको राष्ट्रिय टोलीबाट खेल्दा अनुभवअनुसार नै खेल्दै सनाले नटआउट १०६ को स्ट्राइक रेटमा ४९ बलमा ५२ रनको उत्कृष्ट पारी खेलेपछि क्रिजलाई ढोगेर सम्मान व्यक्त गरिन्।
अर्को छेउबाट उत्तिकै जिम्मेवारी र संयमतताका साथ सनासँग साझेदारी गरेकी साक्षी यादवले ४६ रनको व्यक्तिगत स्कोरमा खेल्दै गर्दा सिंगल रन लिएर स्ट्राइक रोटेट गरेर सनाका लागि अर्धशतकीय पारी खेल्ने मौका जुराइन्।
एलिशा यादव ७ र शिवानी साह शून्यमै पवेलिएन फर्किएपछि ओपनर सनासँग साझेदारी गर्न क्रिजमा उत्रिएकी साक्षीले १ सय १५ को स्ट्राइक रेटमा ८ चौकासहित ४० बलमा ४६ रनको योगदान दिइन्।
मधेशको दुवै विकेट शुभेक्षा लिम्बूका नाममा लेखिए।
त्यसअघि कालुंगचोक मैदानमा टस जितेर पहिला ब्याटिंग गर्दै ९ रन अतिरिक्त पाएको कोशीले निर्धारित २० ओभर पूरा खेल्दै जम्मा ३ विकेट गुमाएर १ सय २२ रनको योगफल खडा ग¥यो।
ओपनिंग जोडीका रुपमा सँगै मैदान प्रवेश गरेकी पूर्णिमा राजवंशी ३ बलमा खाता नखोली फर्किएपछि टीका शाहले व्यक्तिगत ५१ रन जोड्दा तेश्रो क्रमकी प्रिन्सा राना मगरले पनि नटआउट ५५ रन जोड्दै उत्कृष्ट साझेदारी गरे।
अविजित प्रिन्साले ६८ बलमा ९ चौकासहित प्रतियोगिताको पहिलो अर्धशतकीय पारीको रेकर्ड बनाउँदा टीकाले भने ३६ बलमा ११ चौकासहित दोश्रो अर्धशतक पूरा गरिन्।
उता, प्रतियोगिताको पहिलो खेलमा घरेलु टोलीमाथि ५४ रनको जीत हात पार्दै धाक जमाएको लुम्बिनी भने दोश्रो खेलमा गण्डकीसँग ५ विकेटको पराजय व्यहोर्नपुग्यो।
वीरेन्द्रनगर मैदानमा भएको आफ्नो दोश्रो खेलमा टस जितेर गण्डकीविरुद्ध पहिला ब्याटिङ गरेको लुम्बिनीले १८ दशमलव ३ ओभरमा अलआउट हुनुअघि १३ अतिरिक्त रनसहित जम्मा ६३ रनको योगफल बनायो।
दोश्रो क्रमकी अञ्जी पाठकले १३ अनि नवौं क्रमकी योजना थापाले १२ रनबाहेक अरु कुनै ब्याटरले दोहोरो आँकडा छुन सकेनन्।
लुम्बिनीलाई नियन्त्रणमा राख्ने क्रममा किफायति बलिङ गर्दै गण्डकीका कुशुम गोदार र प्लयेर अफ दि म्याच रचना चौधरीले आठ–आठ रन खर्चिएर समान तीन–तीन विकेट लिए भने रञ्जना साउँदको नाममा २ विकेट रह्यो।
लुम्बिनीबाट पाएको ६३ रनको झिनो लक्ष्य गण्डकीले १२ ओभर ४ बलमा ५ विकेट सुरक्षित राख्दै सहजै पूरा ग¥यो।
पहिलो खेलमा बाग्मतिलाई ७ विकेटले हराउँदै २ अंक जोडीसकेको गण्डकीका लागि अंक तालिकामा दोहोरो अंक दिलाउने क्रममा ज्योत्सिनिका मरासिनी र दीपिका सापकोटाले समान १६ सोर्ह रनको योगदान दिए ।
लुम्विनीका लागि आशना चौधरी र आयुषा भुषालले समान दुई दुई र विमिता मगरले १ विकेट नाममा लेखाए ।




