चाइना जर्नल

घरको सम्झना दिलाउने चीनको टछिङ

अजय अलौकिक २३ जेठ २०८३ १५:१० | Saturday, June 6, 2026
10
SHARES
घरको सम्झना दिलाउने चीनको टछिङ तस्बिरहरू : अजय अलौकिक

हरियालीले ढाकिएका डाँडा र रूख तथा बाँसका जंगलमाझको शान्त तलाउ र चराको चिरबिरबीचको सानो गाउँको भर्खरै भ्रमण गरेको थिएँ। मनमा यो गाउँ एउटा प्यारो सपनाजस्तै रहिरहेको छ। हुन त चीनको चच्याङ प्रान्तका विभिन्न सहर र क्षेत्रहरूको भ्रमणमा गएको थिएँ। हरेक गाउँठाउँको आआफ्नै कथा र विशेषता हुन्छन्, पनि। तर, यो ठाउँको सम्झना मीठो गरी बसेको छ।

यो ठाउँ चीनको टछिङ काउन्टी हो। सबैभन्दा त पहिला चीनको प्रशासनिक प्रणालीबारे केही जानकारी दिनु उपयुक्त हुनेछ। चीनमा ३४ प्रान्तीय स्तरका एकाइ छन्, (२३ प्रान्तहरू, पाँच स्वायत्त क्षेत्रहरू, चार नगरपालिकाहरू, दुई विशेष प्रशासनिक क्षेत्रहरू) र दोस्रो, क्षेत्रीय स्तरमा क्षेत्रीय सहरहरू, स्वायत्त क्षेत्रहरू आदि। काउन्टी स्तर तेस्रोमा पर्छ, जहाँ २८ लाख ४६ हजार नौ सय ७७ जिल्ला, तीन सय ९७ काउन्टी स्तरका सहरहरू, एक हजार तीन सय एक काउन्टी, एक सय १७ स्वायत्त काउन्टी, ४९ ब्यानर, तीन स्वायत्त ब्यानर, एक विशेष जिल्ला र एक वनक्षेत्र पर्दछ। यसभन्दा तल उपजिल्लाहरू, टाउनसिपहरू आदि पर्दछन्।

यो टछिङ चीनका एक हजार तीन सय एक काउन्टीहरूमध्येको एक हो। यहाँ काउन्टी भन्नाले सहरउन्मुख गाउँ भनेर बुझ्नुपर्छ। टछिङको उकालो, ओरालो तथा घुमाउरो बाटो तथा हरियाली डाँडाकाँडाले नेपालमै यात्रा गरिरहेको अनुभव दिलाएको थियो।

आफ्नै जन्मभूमिका दृश्यहरूजस्तै लाग्यो। सायद आजसम्म पनि यसकारण गहिरो सम्झनाको भाव उत्पन्न गराएको हो कि? तर यस ठाउँलाई साँच्चिकै फरक बनाउने कुरा यसको सहरी सादृश्य हो। यसलाई ठूलो गाउँ वा सानो सहर भनिए तापनि यहाँ आधुनिक नगरको विशेषता पाइलापिच्छे उपलब्ध छ।

कुरा के हो भने, हामी यिऊ, विश्वकै खेलौना तथा ससाना उत्पादन वस्तुको उत्पादक सहरका रूपमा परिचित सहरबाट हुचौ सहरको यो टछिङतर्फ लागेका थियौँ। नेपाली व्यापारीहरू जमेर बसेको ठाउँ पनि हो, यिऊ। यिऊ र टछिङबीचको सडक दूरी १६३.४ किलोमिटर र गाडीमा दुई घण्टा लाग्दो रहेछ, र रेलमा एक घण्टा १३ मिनेट।

पानी परिरहेको थियो। बिहान चीनह्वाबाट यिऊ गएका हामी दिवाभोजनपछि यात्रा काउन्टी स्तरको सहर यिऊबाट हुचौ सहरको टछिङतर्फ थियो। टछिङको पहिलो गन्तव्य मोगान पहाड थियो। बाटोमा ‘वर्षाले गर्दा साँघुरो उकालो बाटो चिप्लो हुन्छ, त्यसकारण मोगान पहाड जान असमर्थ छौँ’ भन्ने जानकारी गराइयो। अपराह्नको तीन बजेको थियो। झण्डै चार बजे हामीलाई सो मोगान पहाड तलको बस्तीमा ल्याइ पुर्‍यायो, बसले।

हामी जाने भनेको पहाड भनेको उ: त्यही हो भनी देखाउँदै थिए, सहयात्रीहरू, हात र औँला माथि तेर्स्याएर। आहा! त्यहाँ जान पाएको भए कति आनन्द हुन्थ्यो होला। सूर्यास्तको कति भव्य दृश्य हेर्न पाइन्थ्यो होला, भन्दै जान नपाएकोमा मनले गुनासो गर्‍यो।

तर यो मोगान बस्तीको आकर्षण त झन् छुट्टै देखियो। उकालो, ओरालो बाटोले जन्मथलो काठमाडौँ सम्झाइरहेको थियो भने त्यहाँका नयाँ भवन अनि त्यहाँ छरिएका ट्रेन्डी क्याफे, बबल टिसप, स्टाइलिस रेस्टुराँ र कन्सेप्ट स्टोर्सले कर्मथलो बेइजिङको झझल्को दिइरहेको थियो। गाउँ भनेर ल्याएको ठूला सहरभन्दा कम देखिँदैन त।

भूबनोटअनुसार त्यहाँ राइड सेयरिङ स्कुटर उपलब्ध थियो, हालसालै चीनमा यस्ता इ-स्कुटर चलाउन हेलमेट अनिवार्य गरेको छ र त्यहाँ हेलमेट रेन्टघर थियो। आजका भाइरल सट खोज्ने युवाहरूका लागि ठाउँठाउँमा हटस्पट थिए। यसरी सहरी सुविधाका साथमा हटस्पट र प्राकृतिक दृश्यले यो ठाउँ पछिल्लो समय युवावर्गका लागि आकर्षक गन्तव्य बनेको रहेछ।

यो प्रकृति र सहरी सुविधाको दुर्लभ सामञ्जस्य हो। यसले गाउँको चरित्रको साथमा सहरियालाई आफ्नो पुरानो घरको सम्झना पनि दिलाउन सक्षम छ र सहरी सुख, सुविधा र प्रविधिबाट भविष्यमा पाइला राखेको जस्तो अनुभूति पनि दिलाएको छ। सबैभन्दा अचम्म लागेको यसको आधुनिक छाप नै हो।

माथि नै काउन्टीलगायतको प्रशासनिक प्रणाली बारेमा चर्चा भइसकेको छ।

अब यहाँको पर्यटकीय आकर्षणको चर्चा गरौँ।

मोगान पहाड राष्ट्रिय पाँच ‘ए’ स्तरीय पर्यटकीय आकर्षण हो। यो साङहाई-नानचिङ-हाङचौ बीचको त्रिकोणको केन्द्रमा अवस्थित छ। हाङचौबाट लगभग ६० किलोमिटर दक्षिणपूर्व र साङहाईबाट दुई सय किलोमिटर उत्तरपूर्वमा रहेको यो सुचौबाट १४५ किलोमिटरको दूरीमा छ। यी क्षेत्रका पर्यटकहरू सप्ताहन्तमा पुग्ने गर्दा रहेछन्। टछिङ उत्कृष्ट यातायात पूर्वाधारबाट लाभान्वित छ।

कुल ४३ वर्ग किलोमिटरको क्षेत्रफललाई पर्यटन क्षेत्र बनाइएको यहाँको पहाडको औसत उचाइ पाँच सय मिटर रहेछ। हुस्सुबीचमा देखिने हरिया पहाडहरू र बाँसका जंगलहरू तथा घुमाउरा, भिरालो बाटोहरूमा हिँड्दा र माटोको गन्ध तथा बहेको हावाले आनन्द अनुभव गरायो। तत्काल मलाई नगरकोटमा पुगेको भान भयो। मात्र, त्यहाँ हिमशृंखला देखिँदैन।

यसै पहाडबीच एउटा भव्य, लक्जरियस् होटल थियो। पुरानो महललाई होटलमा रूपान्तरण गरिएको रहेछ, यसको नाम हो नेकेड क्यासल अर्थात् नग्न महल।

स्कटिस मिसनरी डाक्टरले निर्माण गरेको शताब्दी पुरानो ढुंगाको महलको भग्नावशेषबाट पुनःनिर्माण गरिएको रहेछ। यहाँ युरोपेली लालित्य र प्राकृतिक सुन्दरताको मिश्रण पाइन्छ। यो महलको भ्रमणले केही क्षण कल्पनामा हराउन लगायो।

सो दिन बिहान, एउटा विद्यालयको भ्रमण थियो, जहाँ छात्रछात्रालाई चलचित्र निर्माणसम्बन्धमा छात्रवृत्ति कार्यक्रम आयोजना गरेको थियो। त्यसपछि अघिल्लो दिन जान नपाएको मोगान पहाड जाने मौका जुरेको थियो। पहाडको स्वच्छ, ताजा हावा र हरियाली सँगसँगै होटल महलको भ्रमणपछि मोती संग्रहालय अवलोकन थियो।

मोती संग्रहालय र यहाँको मोती सम्बन्धमा अर्को कुनै लेखमा चर्चा हुनेछ। यति भनुँ कि यो टछिङ स्वच्छ पानीमा मोती उत्पादनको जन्मथलो हो। २० लाख मोतीबाट बनाइएको पानीजहाजको नमुना हेरेपछि हाम्रो यात्रा स्याचु तालमा गएर टुंगिएको थियो। त्यस दिनको मात्रै होइन, यो चच्याङ प्रान्तको भ्रमणको अन्तिम गन्तव्य थियो, शान्तिमय स्याचु ताल।

यो पनि राष्ट्रिय पाँच ‘ए’ स्तरको पर्यटनस्थल हो। साथै, यो क्रेस्टेड आइबिस पँक्षीको पुनःस्थापना तथा संरक्षण आधार पनि हो। असंख्य टापु भएको यो सिमसार क्षेत्रमा जान सडकको यात्रापछि जलयात्रा गरेका थियौँ।

३६.५ वर्ग किलोमिटर फैलिएको यो सिमसारको भ्रमण परीक्षापछि प्राप्त राम्रो नतिजाजस्तै भएको लगभग सबैको भनाइ थियो।
६ सयभन्दा बढी ससाना टापुहरू र आठ सयभन्दा बढी प्रजातिका पक्षी र वनस्पतिको घर, यहाँ टहल्दै गर्दा चराहरूको चिरबिर र फूल तथा वनस्पतिको सुगन्ध बोकेर आएका पवनको झोँका अनि पातपतिंगरको ध्वनि एउटा सिम्फोनीझैँ भएको थियो। मैले शान्त र शान्तिपूर्वक केही समय मात्रै बिताइनँ, संसारको गति पनि सुस्त चलिरहेझैँ भान गरेँ। प्रकृतिको आफ्नै ध्यानस्थलजस्तो अनुभव गरेँ। यस स्थललाई चच्याङ प्रान्तमा भ्रमण गर्नलायक ५० मध्येका उत्कृष्ट पर्यटन स्थलमा पनि सूचीबद्ध गरिएको छ।

चच्याङ चीनको दक्षिणपूर्वी क्षेत्रमा अवस्थित छ। यस प्रान्तको पूर्वी तथा दक्षिणी भाग समुद्री तटीय क्षेत्र हुन्। यो प्रान्त चीनको सबैभन्दा लामो तटीय क्षेत्र भएको प्रान्त पनि हो, झण्डै ६ हजार ६ सय ३० किलोमिटर फैलिएको तटीय क्षेत्रले समुद्री स्रोत तथा समुद्री पर्यटनका लागि आफूलाई अब्बल बनाएको छ। यति हुँदाहुँदै पनि यस प्रान्तको ७० प्रतिशत भूभाग पहाड र डाँडाले ढाकेको छ। त्यहीअनुसार चच्याङ प्रान्तको उत्तरमा अवस्थित हुचौ सहरको दक्षिणी भागमा पर्ने टछिङ काउन्टीको छ।

यसले ९३६ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ। यसको पश्चिमी भूभागमा पहाड धेरै छन् र खोला र पोखरी, ताल पनि धेरै छन्। पहाडी र टेढिलो भूभाग ३४१.२८ वर्ग किलोमिटरमा फैलिएको छ, जुन काउन्टीको कुल क्षेत्रफलको ३६.४८ प्रतिशत हो। यस्तै मैदानी भूभाग ४५६.०५ वर्ग किलोमिटरमा फैलिएको छ, जुन ४८.७४ प्रतिशत हो र जलाशय १३८.३५ वर्ग किलोमिटरमा फैलिएको छ।

पहाडी पश्चिमी भागबाट पूर्वी भागको मैदानी भागसम्म आउँदा नदी र जलाशयले घेरेको हुनाले यसलाई ‘नदी र तालहरूको भूमि’ पनि भन्ने गरिन्छ। यो याङच्ये (छाङच्याङ) नदी बग्ने भूमि पनि हो। यस टछिङलाई ‘सात ठूला पोखरी, आठ ठूला ताल’ भनेर पनि चिनिन्छ। यहाँ कुल एक सय २२ वटा विभिन्न आकारका ताल र पोखरीहरू छन्।

यो टछिङ ‘माछा र धानको भूमि, रेशमको घर, बाँस र चियाको राज्य तथा संस्कृति केन्द्र, र प्रसिद्ध पर्वतहरूको निवास स्थान’ को रूपमा प्रसिद्ध छ। इतिहासमा लामो समयदेखि अस्तित्वमा रहेको र सांस्कृतिक रूपमा धनी टछिङ चीनका शीर्ष १०० काउन्टीमा समावेश छ। यो राष्ट्रिय स्तरको पारिस्थितिक काउन्टीहरूको पहिलो ब्याचमा पनि सूचीबद्ध छ।

साथै, हरित विकासमा २८औँ स्थान, वैज्ञानिक र प्राविधिक नवप्रवर्तनमा ३२औँ स्थान र नयाँ प्रकारको सहरीकरणको गुणस्तरमा २६औँ स्थान ओगटेको छ। सन् २०२४ मा टछिङ काउन्टीमा अनुसन्धान र विकास खर्च २.८९ अर्ब युआन थियो। २०२४ मा कुल जनसंख्या पाँच लाख ६१ हजार रहेको टछिङ काउन्टीले ७२.२५ अर्ब युआनको जीडीपी हासिल गरेको थियो।

प्रश्न थियो मेरो, टछिङ कहिले काउन्टी स्तर सहरमा वर्गीकृत हुन्छ त? यसले देखाउने विशेषता तथा तथ्यांकहरूले तीव्र गतिमा सहरीकरण भइरहेको छ। यसलाई ‘काउन्टी स्तरीय सहर’ मा अपग्रेड गर्न सक्ने सम्भावना बारेमा चर्चा पनि भइरहेको रहेछ। यसको बलियो आर्थिक प्रदर्शन, याङच्ये नदी डेल्टा र वर्तमान सहरी विकासलाई ध्यानमा राख्दा यस्तो सम्भावनालाई औपचारिक रूपमा अस्वीकार गरिएको छैन। तथापि सहरको मापदण्ड पूरा गर्न विभिन्न माग र आवश्यकताहरू भेट्टाउनुपर्छ।

टछिङ काउन्टी एउटा सुन्दर विरोधाभासभन्दा फरक पर्दैन। प्राचीन पहाड र बाँसको जंगल अनि आधुनिक बत्तीहरूसँग सहरी सुविधा उपलब्ध स्थान, प्रकृति र आधुनिकताको संगमस्थल हो। टछिङले आफ्नो प्राकृतिक सुन्दरता मात्र देखाएन ठूला सहरसँग प्रतिस्पर्धा गर्न सक्ने सुविधा पनि देखायो। अझ, मेरा लागि टछिङ एउटा परिचित ठाउँझैँ थियो। यसको सडक, वरिपरि हरियाली डाँडाकाँडा, पोखरी र तालले मलाई घरदेशको मीठा सम्झना दिलायो। साँच्चै, ‘खुसी अनुभव गराउने चीनको चच्याङ यात्रा’ मा सहयात्री हुनपाउँदा मनको अनुभूति सुखद रह्यो।

प्रकाशित: २३ जेठ २०८३ १५:१० | Saturday, June 6, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast