काठमाडौँ- एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बुधबार कतारलाई आठ विकेटले हराएको नेपालले बिहीबार भुटानलाई ५१ रनले हराएको हो ।
पहिला ब्याटिङ गरेको नेपालले दिएको १ सय १४ रनको लक्ष्य पछ्याएको भुटान पूरै २० ओभर खेल्दै आठ विकेट गुमाएर ६२ रनमा समेटिएको हो । भुटानका लागि ओपनर देचान वाङबोले सर्वाधिक ३९ रन बनाइन्।
उनी अन्तिमसम्म टिकेर रहदा पनि जित दिलाउन सकिन्न। चादो ओम ११ रन बनाउन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकिन्न। रोचक त के भयो भने खेल सुरु भएको पहिलो दुई बलमै भुटानले दुई विकेट गुमायो। पहिलो बलमा न्यावुनाङ चोदेन बोल्ड आउट भइन् भने दोस्रो ब्याटर रिट्सी छोडेन दुर्लभ टाइम आउट भइन्।
निर्धारित समयमा रिट्सी छोडेन क्रिजमा पुग्न नसक्दा नेपाली टिमले टाइम आउटको अपिल गरेको थियो। अम्पायरले उनलाई आउट दिएकी थिइन्। नेपालकी रुविना क्षेत्रीमा ३ विकेट लिइन्। रिया शर्माले २ विकेट झार्दा कविता कुँवर र मनिषा उपाध्यायले समान १-१ विकेट लिएका थिए।




