काठमाडौँ- राष्ट्रियसभा सदस्यहरूले नेपाल-भारत सीमा समस्या समाधानमा कूटनीतिक प्रयास अपरिहार्य भएको बताएका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकको आकस्मिक समयमा उनीहरूले सोसम्बन्धी समस्या समाधान गर्न ऐतिहासिक तथ्य र प्रमाणका आधारमा संवाद गर्न सरकारलाई सुझाव दिएका छन्।
नेपाली कांग्रेसका सांसद सुनिलबहादुर थापाले नेपाल-भारत सीमासम्बन्धी विषय दुई देशबीचको संवाद र स्थापित कूटनीतिक संयन्त्रमार्फत समाधान खोजिनुपर्ने बताए। ‘यस विषयमा सरकारले संयमित, स्पष्ट र जिम्मेवारी कूटनीतिक दृष्टिकोण अपनाउनुपर्छ’, उनले भने।
नेकपाका सांसद विष्णुबहादुर विश्कर्माले मुलुकको भौगोलिक अखण्डता र सार्वभौमसत्तामा आँच आउने अभिव्यक्ति कसैबाट आउन नहुने बताए।
नेकपा एमालेका सांसद सम्झना देवकोटाले नेपाल-भारत सीमा सन् १८१६ को सुगौली सन्धिबाट निर्धारित भएको उल्लेख गर्दै सीमा समस्या कूटनीतिक माध्यमबाट समाधान गर्न सुझाव दिए।




