दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सांसदको माग

हिमाल प्रेस २८ साउन २०८३ १७:४५ | Thursday, August 13, 2026
12
SHARES
दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज बनाउन सांसदको माग

काठमाडौँ- राष्ट्रियसभाका सांसदहरूले सुरसरीलगायत क्षेत्रमा केही समयअघि भएका साम्प्रदायिक हिंसाका घटनाका दोषीउपर कारबाही गरी मुलुकभर शान्ति तथा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले शान्ति सुरक्षाका साथै दैनिक जीवनमा आवश्यक वस्तुको सहज आपूर्ति सुनिश्चित गर्न सरकारसँग माग गरेका हुन्।

बैठकमा नेपाली कांग्रेसका सांसद विष्णुकुमारी सापकोटाले खाना पकाउने ग्यासको अभाव तथा महँगीको मारमा नेपाली जनता परेकोप्रति सरकारको ध्यानाकर्षण गराइन्। उनले संविधानले मौलिक हकका रूपमा सुनिश्चित गरेको खाद्य, स्वास्थ्य र शिक्षाको अधिकार व्यवहारमै सुनिश्चित गर्न सरकारसँग माग गरिन्। सामाजिक सञ्जालमा एकअर्कालाई गालीगलौज गर्ने क्रम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पवित्र भूमि नेपालमा यस्तो असहिष्णुता सह्य नहुने बताइन्।

नेकपा सांसद रेणु चन्दले साम्प्रदायिक घटनाका नाममा मधेशमा भएका घटनाका दोषीउपर तत्काल कारबाही गरी उक्त क्षेत्रमा शान्ति तथा सुव्यवस्था कायम गर्न सरकारको ध्यानाकर्षण गराइन्। उनले पुराना राजनीतिक दलले ३५ वर्षमा केही गरेनन् भन्ने भाष्यमा यथार्थ नभएको बताउँदै यस अवधिमा आर्थिक, शैक्षिक तथा विकासका क्षेत्रमा भएका कामको अध्ययन गर्न आग्रह गरिन्।

नेकपा एमाले सांसद मीना सिंह रखालले सरकारले सार्वजनिक गरेको सय कार्यसूचीमा नागरिकको जीवनमा प्रत्यक्ष सुधार ल्याउने लक्ष्य राखिए पनि सुकुम्बासीको व्यवस्थापन प्रभावकारी हुन नसक्दा नागरिक थप पीडामा परेको बताइन्। उनले सरकारको कार्यसम्पादन फाइल र तथ्यांकमा मात्र नभई नागरिकको जीवनस्तर सुधार तथा आधारभूत आवश्यकता सहज बनाउने विषयमा देखिनुपर्ने बताइन्।

जनता समाजवादी पार्टी नेपालका सांसद पूजा चौधरीले स्वास्थ्य सेवा मौलिक हकमै सुनिश्चित भए पनि उपचारका लागि नेपालीहरूले घरबारी नै बेच्नुपर्ने अवस्था रहेको बताइन्। कतिपय नागरिकले आर्थिक अभावका कारण उपचार नै गराउन नसकेकोप्रति उनले सरकारको ध्यानाकर्षण गराइन्। सरकारी अस्पतालमा गर्भवती तथा सुत्केरीलाई आवश्यक पर्ने आइरन चक्कीको कमी रहेको तथा रेबिजविरुद्धको खोप र सर्पदंशको उपचार सहज रूपमा उपलब्ध हुन नसकेकोप्रति उनले दुःख व्यक्त गरिन्।

राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले देशमा महँगी चुलिँदै जाँदा जनता मारमा परेको बताए। ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीउपर कारबाही गर्न उनले सरकारसँग माग गरे।

कांग्रेसका सांसद वासुदेव घिमिरेले सुकुम्बासीको समस्या समाधान हुन नसकेको तथा कृषकलाई समयमै मल र बीउ उपलब्ध हुन नसकेको बताए। न्यायपालिका र व्यवस्थापिका तथा निजामती कर्मचारीलाई व्यवस्थित बनाउन नसकेको आरोप लगाउँदै उनले नेपाल सरकारको पूर्ण स्वामित्वमा आँखा अस्पताल स्थापना हुन नसकेको बताए। अहिले दृष्टिविहीनको सङ्ख्या ०.२८ प्रतिशत पुगेको उल्लेख गर्दै उनले काठमाडौँबाहिर देशका अन्य क्षेत्रमा पनि आँखा अस्पताल स्थापना गर्नुपर्नेमा जोड दिए।

नेकपा सांसद विष्णुबहादुर विश्वकर्माले जातीय छुवाछुत अन्त्यको माग गर्दै ८० दिनदेखि माइतीघरमा आन्दोलनरत व्यक्तिहरूलाई सरकारले तत्काल वार्तामा बोलाएर समस्या समाधान गर्न आग्रह गरे ।

सांसद धर्मेन्द्र पासवानले विभिन्न समस्या र आर्थिक अभावका कारण मुलुकमा आत्महत्या गर्ने क्रम बढेकोप्रति सरकारको ध्यानाकर्षण गराए। यसको दीर्घकालीन समाधानका लागि सचेत हुन आग्रह गर्दै उनले अझै पनि मुलुकमा भुइँमान्छेले न्याय पाउने अवस्था नरहेको बताए।

सांसद मनरुपा शर्माले पीडितहरूको आँसु पोख्ने थलो बनेको माइतीघरमा धर्नामा बसेका जनताका माग सम्बोधन गर्न सरकारसँग आग्रह गरिन्। दैनिक जीवनका उपभोग्य वस्तुको सहज आपूर्ति नहुँदा आमजनताले महँगी खेप्नुपरेको, ग्यासका लागि लामो समय लाइनमा बस्नुपरेको तथा रोजगारीका लागि विदेशिनुपर्ने अवस्था रहेको उनले बताइन्।

प्रकाशित: २८ साउन २०८३ १७:४५ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast