काठमाडौँ- मलेसियामा आज (बुधबार) बाट सुरु एसीसी महिला प्रिमियर कपमा नेपालले सुखद सुरुआत गरेको छ। मलेसियाको कोल्जे टुङ्गुर जाफर ओभलमा बुधबार सम्पन्न प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारविरुद्ध ८ विकेटको जित हात पारेको हो । कतारले दिएको ७८ रनको मध्यम लक्ष्य नेपालले १०.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा विन्दु रावलले ३० बलमा ४ चौकाको सहयोगमा ३३ रनको इनिङ खेलिन्। उपकप्तान पूजा महतो २६ बलमा ४ चौकाको सहयोगमा २८ रनमा अविजित रहँदा कप्तान इन्दु बर्माले ६ रन बनाइन्।
त्यसअघि नेपालले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको कतारले १६.५ ओभरमा सबै विकेट गुमाएर ७६ रनको मध्यम योगफल तयार गरेको थियो। कतारका लागि ओपनर गितरुड चण्डिरुले १९ बलमा २ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २५ रन जोडेकी थिइन्। कप्तान आयसाले ११ बलमा १० रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन्।
नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ३ विकेट लिइन्। कविता कुवँर, रिया शर्मा र पूजा महतोले समान १ विकेट लिइन्। नेपालले प्रतियोगिताको दोस्रो खेलमा भुटानसँग बिहिबार खेल्नेछ। एसिया कपको छनोटको रुपमा रहेको प्रतियोगितामा नेपाल सहित १८ देशको सहभागीता रहेको छ । सहभागी १८ राष्ट्रलाई ४ समूहमा विभाजन गरिएको छ । एसीसीका अनुसार नेपाल समूह ‘डी’ मा रहेको छ ।
नेपाल रहेको समूहमा कतार, हङकङ तथा भुटान रहँदा समूह ‘ए’मा थाइल्याण्ड, म्यानमार, जापान, बहराइन, मंगोलिया छन् । समूह ‘बी’मा युएई, ओमान, चीन, फिलिपिन्स र साउदी अरब तथा समूह ‘सीमा इन्डोनेसिया, मलेसिया, कुवेत र सिंगापुर रहका छन्। नेपालले समूह चरणको अन्तिम खेलमा जेठ २३ गते हङकङसँग खेल्नेछ । हरेक समूहको शीर्ष २ मा रहने टोलीहरुका बीचमा जेठ २७ गते क्वार्टरफाइनल खेल हुनेछ ।
चार क्वार्टरफाइनल खेलका विजेताले यसै वर्षमा आयोजना हुने एसिसी एसिया कपमा स्थान बनाउने छन् । जेठ २९ मा सेमिफाइनल हुने प्रतियोगिताको फाइनल जेठ ३० मा हुनेछ ।




