काठमाडौँ- सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्ने माग गर्दै विपक्षी दलका सांसदहरूले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका छन्।
नेपाल–भारत सीमासम्बन्धमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्ति सच्चाउन सभामुखले रुलिङ गर्नुपर्ने भन्दै प्रतिपक्षी दलका सांसदहरूले विरोध जनाएका हुन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक निश्कल राईले प्रधामन्त्रीले भारतको भूमि नेपालले मिचेको भनेको विषयमा सदनको रोष्टममबाट जवाफ दिन माग गरे। उनले यो विषयमा सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गर्नुपर्ने बताए।
त्यस्तै नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महरले नेपालले भारतको भूमि मिचेको अभिव्यक्ति दिएको प्रधानमन्त्रीले माफी माग्नुपर्ने बताए।
उनले प्रधानमन्त्रीले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको उल्लेख गरे। नेपालले कसैको भूमि नमिचेको भन्दै महरले प्रधानमन्त्रीलाई अध्ययन गर्न आग्रह गरे।
सभामुखले रुलिङ नगरेसम्म संसद चल्न नदिने उनले बताए।
विपक्षी दलका सांसदहरू आफ्नो आसनमा उठेर निरन्तर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले १५ मिनेका लागि बैठक स्थगित गरेका छन्।




