काठमाडौँ- प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विपक्षी दलले नेपाल–भारत सीमा सम्बन्धमा प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन माग गरेको छ।
सोमबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले स्वाभिमान कमजोर भएको भन्दै क्षमायाचनसहित फिर्ता माग गर्ने निर्णय गरेको हो।
बैठकपछि नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाल राष्ट्रको शिर झुकेको र नेपालीहरूको स्वाभिमान कमजोर भएको भन्दै अभिव्यक्ति क्षमायाचनसहित फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको जानकारी दिइन्।
नेपाल राष्ट्रको नीतिविपरीत आएको प्रधानमन्त्रीको अभिव्यक्ति नसच्चिएसम्म सदनमा आफूहरुको विरोध जारी रहने उनले बताइन्।
त्यस्तै बैठकले संसदलाई पेलेर अगाडि बढाउने परिस्थिति उत्पन्न भएकोप्रति समेत आपत्ति जनाएको छ। अर्यालले संसदमा भएका सबैको अपनत्व हुनेगरी नियमावली पारित गर्नुपर्नेमा एकपक्षीय ढंगले पारित गरेको प्रतिपनि विरोध जनाउने निर्णय गरेको बताइन्। नियमावलीमा प्रतिपक्षीहरुले राखेका कुनै पनि विषय सम्बोधन हुन नसकेको उनले उल्लेख गरिन्।
कांग्रेसका सचेतक निश्कल राईले सदनमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर जिम्मेवारीपूर्ण भएकाले प्रधानमन्त्रीले सदनमा स्पष्ट पार्नुपर्ने बताए। प्रधानमन्त्रीको अभिव्यक्ति सही भए नागरिकलाई स्पष्ट जानकारी गराउनुपर्ने र सही नभए सदनमा आएर प्रधानमन्त्रीले माफी माग्नुपर्ने उनले बताए।
त्यस्तै राप्रपाका प्रमुख सचेतक खुश्बु ओलीले सीमाका विषयमा प्रधानमन्त्रीले फेरि संसदमा आएर नेपाली जनताबीच यस विषयमा आफ्नो स्पष्ट धारणा राख्नुपर्ने बताइन्।
बैठकमा कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राप्रपाका सांसदहरु सहभागी भएका थिए।




