काठमाडौँ- सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुनको भन्सार शुल्क १० प्रतिशतबाट २० प्रतिशतमा बढाएपछि नेपाली बजारमा सुनको मूल्य एकै दिनमा २० हजार ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार १ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शुक्रबार प्रस्तुत गरेको बजेटमा सुनमा लाग्दै आएको २ प्रतिशत विलासी कर हटाए पनि भन्सार शुल्क दोब्बर बनाएका छन्।
सुनको मूल्य अन्तर्राष्ट्रिय बजार, अमेरिकी डलरको विनिमय दर र नेपालमा लाग्ने भन्सार र अन्य करहरूमा निर्भर गर्दछ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ०.८४ प्रतिशतले मात्र बढेको थियो।
सुनको साथै चाँदीको भन्सार शुल्क पनि १० प्रतिशत बिन्दुले बढाएर २० प्रतिशत पुर्याइएको छ। यसको प्रभाव चाँदीको मूल्यमा पनि पर्न गएको छ।
आइतबार चाँदीको मूल्य प्रतितोला ३०५ रुपैयाँले बढेर ५ हजार ३४५ रुपैयाँ पुगेको छ। शुक्रबार चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा कारोबार भएको थियो।




