एक दशकमा दोब्बर बन्यो बजेटको आकार [कहिले कति?]

हिमाल प्रेस १५ जेठ २०८३ १८:०६ | Friday, May 29, 2026
16
SHARES
एक दशकमा दोब्बर बन्यो बजेटको आकार [कहिले कति?]

काठमाडौँ- नेपालको वार्षिक बजेट एक दशकमा दोब्बर वृद्धि भएको छ। आर्थिक वर्ष २०७३/०७४ मा १० खर्ब नाघेको बजेट आर्थिक वर्ष २०८३/०८४ मा आइपुग्दा २१ खर्ब ३४ अर्ब २४ करोड पुगेको हो।

संघीयता कार्यान्वयनको सुरुवाती चरण मानिएको आर्थिक वर्ष २०७३/०७४ मा पहिलोपटक बजेटको आकार १० खर्ब नाघेको थियो। उक्त वर्ष सरकारले १० खर्ब ४८ अर्ब ९२ करोडको बजेट ल्याएको थियो। आर्थिक वर्ष २०७४/०७५ मा १२ खर्ब ७८ अर्ब १९ करोड र आर्थिक वर्ष २०७५/०७६ मा १३ खर्ब १५ अर्ब १६ करोडको बजेट सार्वजनिक भयो।

कोभिड-१९ महामारी अगाडिको वर्ष अर्थात् आर्थिक वर्ष २०७६/०७७ मा बजेटको आकार १५ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ पुगेको थियो। महामारीको प्रभावका कारण आर्थिक गतिविधि सुस्त भएपछि सरकारले इतिहासमै पहिलोपटक बजेट संकुचन गर्दै आर्थिक वर्ष २०७७/०७८ मा १४ खर्ब ७४ अर्ब ६४ करोडमा झारेको थियो।

त्यसपछिका वर्षहरूमा बजेटले पुनः लय समातेको छ। आर्थिक वर्ष २०७८/०७९ मा १६ खर्ब ४७ अर्ब ५७ करोड र आर्थिक वर्ष २०७९/०८० मा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याइयो। आर्थिक वर्ष २०८०/०८१ मा अर्थतन्त्रमा देखिएको शिथिलता र राजस्व संकलनको लक्ष्य पूरा नभएपछि बजेट सामान्य घटेर १७ खर्ब ५१ अर्ब ३१ करोडमा खुम्चिएको थियो।

आर्थिक वर्ष २०८१/०८२ मा बजेटको आकार वृद्धि भई १८ खर्ब ६० अर्ब ३० करोड पुगेको थियो भने चालु आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब ३४ अर्ब २४ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बजेटको आकारबारे जानकारी दिएका हुन्।

उनले चालुतर्फ १२ खर्ब ७० अर्र्ब ५८ करोड (५९.८ प्रतिशत), पूँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड (२०.३ प्रतिशत) र वित्तीय व्यवस्थातर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८३ १८:०६ | Friday, May 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast