काठमाडौँ- नेपाली फिल्मको बक्स अफिस रिपोर्टले ‘लाली बजार’ को व्यापार उल्लेख्य देखाएको छ। चलचित्र विकास बोर्डले पछिल्लाे पटक सार्वजनिक गरेको बक्स अफिस तथ्यांकअनुसार वैशाख २५ गते प्रदर्शनमा आएको फिल्मले हालसम्म ५ करोड ७६ लाख ३१ हजार ४७१ रुपैयाँ कमाइ गरेको छ।
विवाद, चर्चा र पब्लिसिटीले फिल्मको व्यापारमा उल्लेखनीय योगदान पुर्याएको विश्लेषण गरिएको छ। कलाकार, निर्माता र निर्देशकले देशका विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आएको प्रभाव पनि व्यापारमा देखिएको छ।
वैशाख ११ गते प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ ले ४ करोड २७ लाख ५३ हजार ६४५ रुपैयाँ कमाइ गरेको बोर्डको तथ्यांकमा उल्लेख छ।
यही अवधिमा प्रदर्शनमा आएका फिल्म ‘मालती मंगले’ र ‘गुरुआमा’ को व्यापार भने अपेक्षाकृत कमजोर देखिएको छ। ‘मालती मंगले’ ले ५१ लाख ६३ हजार ५९३ रुपैयाँ र ‘गुरुआमा’ ले २९ लाख ४२ हजार ५७६ रुपैयाँ कमाइ गरेको छ।
जेठ १ गते एकसाथ प्रदर्शनमा आएका फिल्म ‘लाइफ ड्यामेज’ र ‘एकमुठी बादल’ को कमाइ पनि उत्साहजनक देखिएको छैन। ‘लाइफ ड्यामेज’ ले २८ लाख ४६ हजार १७० रुपैयाँ कमाउँदा ‘एकमुठी बादल’ ले जम्मा ६ लाख २१ हजार ८२५ रुपैयाँ मात्र व्यापार गरेको तथ्यांकले देखाएको छ।
गत शुक्रबारदेखि प्रदर्शनमा आएका फिल्म ‘काजी’ र ‘मिज्जु’ को बक्स अफिस रिपोर्ट भने आगामी सोमबार सार्वजनिक गरिने फिल्म विकास बोर्डले जनाएको छ। यद्यपि प्रारम्भिक बजार प्रतिक्रिया हेर्दा यी दुवै फिल्मले अपेक्षाअनुरूप प्रदर्शन गर्न सकेको छैन।




