शिक्षा मन्त्रालयको प्रगति : प्राविका ५ हजार ३८६ स्थानीय दरबन्दीमा रूपान्तरण, बालविकास शिक्षकलाई तालिम

हिमाल प्रेस १४ जेठ २०८३ १६:०३ | Thursday, May 28, 2026
2.8k
SHARES
शिक्षा मन्त्रालयको प्रगति : प्राविका ५ हजार ३८६ स्थानीय दरबन्दीमा रूपान्तरण, बालविकास शिक्षकलाई तालिम

काठमाडौँ- शिक्षा तथा खेलकुल मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा समेटिएका कार्यक्रमहरूको चैत मसान्तसम्मको प्रगति विवरण बिहीबार (वैशाख १४) सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार मन्त्रालयले शिक्षक व्यवस्थापन, प्राविधिक शिक्षा, छात्रवृत्ति वितरण, डिजिटल सिकाइ तथा विद्यालय पूर्वाधार विकासका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको दाबी गरेको छ।

शैक्षिक गुणस्तर सुधारका लागि मन्त्रालयले ‘शिक्षक बैंक’ अवधारणापत्र तथा बुटक्याम्प सञ्चालन सम्बन्धी संहिता स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। उच्चस्तरीय दरबन्दी सम्बन्धी कार्यदलको प्रतिवेदनका आधारमा प्राथमिक तहका ५ हजार ३८६ स्थानीय दरबन्दीमा रूपान्तरण गरिएको छ। बालविकास तथा विद्यालय तहका शिक्षकहरूका लागि प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

डिजिटल शिक्षणलाई प्रवर्द्धन गर्न शिक्षा अधिकृत तथा सामुदायिक सिकाइ केन्द्रका परिचालकहरूलाई डिजिटल साक्षरता र डिजिटल सिकाइ सामग्री प्रयोगसम्बन्धी चार दिने क्षमता विकास कार्यशाला सम्पन्न गरिएको छ।

प्राथमिक तहका विद्यार्थीलाई लक्षित दिवा खाजा कार्यक्रममा हालसम्म ३ अर्ब ७६ करोड ६८ लाख १९ हजार ५३८ रुपैयाँ खर्च भएको छ। उक्त कार्यक्रमबाट देशभरका २८ लाख २४ हजार ५८१ बालबालिका लाभान्वित भएका छन्।

आधारभूत तहमा महिला शिक्षकको संख्या उत्साहजनक

यसैगरी, विद्यालयमा अध्ययनरत छात्राहरूका लागि निःशुल्क स्यानिटरी प्याड वितरण कार्यक्रममा २२ करोड ३ लाख ११ हजार ५३ रुपैयाँ खर्च भएको छ। यस कार्यक्रमबाट ९ लाख ४७ हजार ६८० छात्राहरू लाभान्वित भएका छन्।

उच्च शिक्षालाई रोजगारमुखी बनाउने उद्देश्यले सञ्चालन गरिएको लागत साझेदारीमा दक्ष प्राविधिक जनशक्ति विकास कार्यक्रमअन्तर्गत ७८७ जनालाई छात्रवृत्ति प्रदान गरिएको मन्त्रालयले जनाएको छ। छात्रवृत्ति प्राप्तमध्ये ६६ जनाले सेवाअवधि पूरा गरिसकेका छन् भने ३२७ जनालाई विभिन्न कार्यक्षेत्रमा परिचालन गरिएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत १ हजार ३८५ जनालाई औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिसिप) तालिमका लागि छनोट गरिएको छ।

प्राविधिक शिक्षाको पहुँच नपुगेका ७८ स्थानीय तहमा प्रि-डिप्लोमा कार्यक्रम सञ्चालन गरिएको छ भने डिप्लोमा तहमा १२० शिक्षार्थी अध्ययनरत छन्। दलित, मुसलमान, विपन्न तथा सीमान्तकृत समुदायका ३६० विद्यार्थीका लागि विशेष छात्रवृत्ति कक्षा सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ।

डिजिटल सिकाइ विस्तारअन्तर्गत ७ वटा श्रव्य पाठ तयार गरिसकिएको छ भने १८० वटा विषयगत श्रव्य पाठको प्राविधिक सम्पादन भइरहेको छ। सार्वजनिक सेवा प्रसारण नेपाल टेलिभिजनमार्फत १५३ दिनको अवधिमा १ हजार २२४ वटा श्रव्यदृश्य सामग्री प्रसारण गरिएको छ। रेडियो नेपालमार्फत २४ वटा शैक्षिक कार्यक्रम प्रसारण भइसकेका छन्।

दिवा खाजामा ३ अर्ब ७६ करोड खर्च, ७८७ विद्यार्थीलाई छात्रवृत्ति

विद्यालय पूर्वाधार विकासतर्फ राष्ट्रिय शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालय भौतिक सुधार गुरूयोजना स्वीकृत गरी स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ। गुरूयोजनाअनुसार १९६ स्थानीय तहका ३४१ विद्यालयमा भौतिक पूर्वाधार निर्माणका लागि २ अर्ब ७२ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ।

यद्यपि, प्रत्येक प्रदेशमा एक एक प्राविधिक शिक्षालयलाई नमुना शिक्षालयका रूपमा स्तरोन्नति गर्ने बजेट वक्तव्यको बुँदा नम्बर १६९ अन्तर्गतको कार्यक्रम भने हालसम्म कार्यान्वयन हुन नसकेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

शिक्षा मन्त्रालयको प्रगति विवरण

प्रकाशित: १४ जेठ २०८३ १६:०३ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast