प्रगति विवरण

दिवा खाजामा ३ अर्ब ७६ करोड खर्च, ७८७ विद्यार्थीलाई छात्रवृत्ति

हिमाल प्रेस १४ जेठ २०८३ १५:३४ | Thursday, May 28, 2026
196
SHARES
दिवा खाजामा ३ अर्ब ७६ करोड खर्च, ७८७ विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। मन्त्रालयले बजेट कार्यान्वयन, विद्यालय पूर्वाधार विकास, छात्रवृत्ति वितरण र नीतिगत सुधारमा उल्लेखनीय प्रगति गरेको दाबी गरेको छ।

सामुदायिक विद्यालयको प्राथमिक तहका विद्यार्थीको लागि दिवा खाजा कार्यक्रममा हालसम्म ३ अर्ब ७६ करोड ६८ लाख ९१ हजार ५३८ रुपैयाँ खर्च भएको छ। यो कुल विनियोजित बजेटको ३५.१२ प्रतिशत हो। स्थानीय तहमार्फत सञ्चालन गरिएको कार्यक्रमबाट देशभरका २८ लाख २४ हजार ५८१ बालबालिका लाभान्वित भएका छन्।

विद्यालयमा अध्ययनरत छात्राहरूको लागि नि:शुल्क स्यानिटरी प्याड वितरण कार्यक्रममा २२ करोड ३ लाख ११ हजार ५३ रुपैयाँ खर्च भएको छ। कुल बजेटको १७.०४ प्रतिशत खर्च भइसकेको यस कार्यक्रमबाट ९ लाख ४७ हजार ६८० छात्रा लाभान्वित भएका छन्।

उच्च शिक्षालाई अनुसन्धानमूलक र बजारमुखी बनाउने उद्देश्यले लागत साझेदारीमा दक्ष प्राविधिक जनशक्ति विकास कार्यक्रममार्फत विभिन्न विश्वविद्यालयका ७८७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मार्फत अध्ययन पूरा गरेका विद्यार्थीमध्ये १ हजार ३८५ जनालाई औद्योगिक प्रशिक्षार्थी (अप्रेन्टिसिप) तालिमका लागि छनोट गरिएको छ।

भूकम्प प्रभावित जिल्लाहरूमा विद्यालय पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको छ। पछिल्लो समयमा ४३ वटा विद्यालयको पुनर्निर्माण कार्य अघि बढाइएको छ। २ हजारभन्दा बढी विद्यार्थी संख्या भएका ४३ विद्यालयको भौतिक पूर्वाधार विकास कार्य सुरु गरिएको छ भने स्थानीय तहमार्फत ५३७ विद्यालय छनोट गरी निर्माण प्रक्रिया अगाडि बढाइएको छ।

शिक्षा मन्त्रालयले भर्चुअल शिक्षण प्रविधिको विकासमा पनि काम गरेको छ। ७ वटा स्क्रिप्टका आधारमा ७ वटा श्रव्य पाठ तयार गरिएको छ। शैक्षिक सत्रभरि अध्यापन हुने विषय समेटेर १८० वटा श्रव्य पाठ रेकर्ड गरी प्राविधिक सम्पादनको काम भइरहेको छ।

मन्त्रालय र सम्बद्ध निकायहरूमा कुल १ हजार ३१७ स्वीकृत दरबन्दीमध्ये १ हजार १५८ पदमा कर्मचारी कार्यरत छन् भने २३१ पद रिक्त रहेका छन्।

नीतिगत सुधारको क्षेत्रमा विद्यालय तहमा कम्प्युटर विज्ञान विषयका शिक्षक व्यवस्थापनका लागि अध्यापन अनुमति पत्रसम्बन्धी परीक्षा सञ्चालन गरिएको छ।

मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म कुल बजेट खर्च ५२.५६ प्रतिशत पुगेको छ।

प्रकाशित: १४ जेठ २०८३ १५:३४ | Thursday, May 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast