दसैँतिहारमा फिल्मको भिडन्त, व्यापारमा कसले मार्ला बाजी?

किरण पौडेल ३० असोज २०८३ २०:३४ | Friday, October 16, 2026
14
SHARES
दसैँतिहारमा फिल्मको भिडन्त, व्यापारमा कसले मार्ला बाजी?

काठमाडौँ- दसैँतिहार नेपाली फिल्मका लागि कमाइ गर्ने मुख्य अवसर बन्दै गएको छ। लामो बिदा र दर्शकको फुर्सदलाई लक्षित गर्दै यसपटक पनि ठूला ब्यानर र चर्चित कलाकारका फिल्म एकपछि अर्को प्रदर्शनमा आउँदैछन्।

दसैँको छेकोमा मात्रै सात फिल्म हलमा लाग्दैछन् भने तिहारलाई लक्षित गरेर थप तीन फिल्मले प्रदर्शन मिति तय गरेका छन्। एउटै समयमा धेरै फिल्म आउँदा प्रतिस्पर्धा चर्किने देखिए पनि सबैले दर्शक र व्यापारमा कति हिस्सा ओगट्छन् भन्ने चासो बढेको छ।

असोज ३० अर्थात् फूलपातीको अघिल्लो दिन ‘१२ गाउँ २’ र ‘आ बाट आमा २’ प्रदर्शनमा आउँदैछन्। फूलपातीकै दिन दीपक-दीपाको ‘छ माया छपक्कै २’ रिलिज हुँदैछ। कात्तिक ६ अर्थात् दसैँको चौथो दिन रामबाबु गुरुङको ‘कबड्डी ५’ प्रदर्शनमा आउँदा त्यसको सात दिनपछि ‘परिवार’ हलमा लाग्नेछ। यसअघि असोज २३ मै ‘टनेल २६’ र ‘अक्षरा’ प्रदर्शनमा आइसकेका छन्।

दसैँको व्यस्त समयमा फिल्म क्षेत्र पनि कमाइको अवसर खोज्दै प्रचारप्रसारमा जुटेको छ। सबैको उद्देश्य लामो बिदामा बढीभन्दा बढी दर्शक हलसम्म तान्नु हो। तिहारलाई लक्षित गर्दै ‘पाँच पाण्डव’, ‘माया भनेकै यस्तै होला’ र ‘जिरो डिग्री’ले पनि एउटै मिति कात्तिक २० मा प्रदर्शन हुने तयारी गरेका छन्। यसरी दसैँतिहारको अवधिमा झन्डै दर्जन फिल्म दर्शकमाझ आउने भएका छन्।

किन चाडपर्वमा रिलिज रोज्छन् फिल्म?

पछिल्ला वर्ष फिल्म दर्जनजस्तो फिल्म दसैँतिहारमा लाग्छन्। अरू बेला सामान्यतया एक महिनामा ४ फिल्म लाग्छन्। जाडोमा यो ग्राफ घट्ने गर्छ। चाडपर्वमा बढ्ने गर्छन। फिल्म क्षेत्रले ५० करोड रुपैयाँ कारोबार हुने गरेको छ।

‘पछिल्लो समय दसैँमा फिल्म रिलिज हुने क्रम बढेको छ’, चलचित्र विश्लेषक सामिप्यराज तिमल्सेना भन्छन्, ‘यो प्रथा पछिल्लो समय बढेको हो। पहिले खासै थिएन।’

तिमल्सेनाका अनुुसार विगतमा दसैँमा फिल्म हेर्ने प्रथा खास थिएन। ‘पछिल्ला वर्ष (१५-२० वर्ष) काठमाडौँमा बढ्दो जनसंख्याका कारण यो संस्कार बढेको हो’, उनी थप्छन्।

पछिल्लो समय काठमाडौँमा रहने जमातलाई मनोरञ्जनको साधन फिल्म बन्यो। एकातिर लामो विदाको सदुपयोग गर्न दर्शक हल पुग्छन् भने अर्कातिर तिनै दर्शकको मौका फिल्म रिलिज गर्न लगानीकर्ता लालयित हुन्छन्।

अरू बेला पनि प्रायः फिल्म शुक्रबार रिलिज हुने गर्छन्। त्यसो हुँदा शुक्रबार, शनिबार र आइतबार (३ दिन) बिदामा लगानी जोगाउने धाउन्न राख्छन्। दसैँमा त १० दिनभन्दा बढी बिदा हुन्छ। यही बिदाको मौकामा फिल्म चलाउने काम भइरहेको तिमल्सिनाको भनाइ छ।

चर्चित फिल्मले नै खोजे दसैँ

यसपटक दसैँमा फिल्मका सिक्वेलको ‘साम्राज्य’ छ। ‘१२ गाउँ २’, ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’, ‘कबड्डी ५’ सिक्वेल प्रदर्शनमा आउँदैछन्। यी सबैले नेपाली फिल्म क्षेत्रमा तहल्का मनाएका फिल्म हुन्।

यी फिल्मले पनि यसपटक दसैँ नै खोज्दा भने ठूला ब्यानरबीच भिडन्त हुने अनुमान छ। समिर भट्टको ‘१२ गाउँ २’ र दीपक-दीपाको, ‘छ माया छपक्कै २’ रिलिजको मिति जुध्दा दर्शक पनि दोधारमा पर्ने जानकारहरू बताउँछन्। यस्तै, दयाहाङ राईको ‘कबड्डी ५’ पनि यसै समयमा आउँदै छ।

फिल्मकर्मी भने फरक स्वादका फिल्म सँगै परे पनि सकस नहुने बताउँछन्। त्यसो त, ‘१२ गाउँ २’ ‘फाइट जनरा’ को फिल्म हो। यता ‘छ माया छपक्कै २’ हास्यप्रदान जनरामा बन्छ। यता ‘कबड्डी ५’ ग्रामीण परिवेशमा बन्ने गर्छ। त्यसो त, कबड्डी फिल्म ‘कबड्डी ४’बाटै अन्त्य हुने दाबी गरिएको थियो।

‘द फाइनल म्याच’ भन्दै रिलिज गरिए पनि दर्शकको मागले फेरि अर्को सिक्वेल ल्याएको निर्माता रामबाबु गुरुङ फरक स्वादका फिल्म एकैपटक लागे पनि फरक नपर्ने उनको बुझाइ छ। ‘बिदामा धेरै हलमा धेरै फिल्म लाग्दा असर गर्दैन। हामीले पनि दसैँमै लाभ लिन खोजेको हो। यो कुरा भन्न हिच्किचाउनु पर्दैन।’ गुरुङ भन्छन्।

के सबैले लिन्छन् त दसैँको लाभ?

यसरी तँछाडमछाड गर्दै लागेका फिल्म पनि सबैले लाभ लिन भने सकेका छैनन्। गएको वर्ष पनि ७ फिल्ममध्ये ३ वटाले मात्र ग्रस कमाएका थिए। ‘१२ गाउँ’ २० करोड बराबरको व्यापार गर्‍यो भने छक्का पन्जा ५ ले पनि १५ करोड माथि कमायो। ‘ज्वाइँ साप’‘ज्वाइँ साप’ले पनि लगानी उठायो। अन्य फिल्मले कमाउन सकेन।

फिल्म विश्लेषक सामिप्यराज तिमल्सेना पनि चाडपर्व भन्दा पनि फिल्मको क्वालिटीमा कमाइ भर पर्ने बताउँछन्। ‘जति नै राम्रो समय भए पनि फिल्म कस्तो बनेको छ भन्ने कुरामा भर पर्छ,’ तिमल्सेना भन्छन्, ‘फिल्म ठूलो ब्यानर होस् वा सानो तर राम्रो बने चल्छ।’

प्रकाशित: ३० असोज २०८३ २०:३४ | Friday, October 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast