बालविकास कक्षा । तस्बिर : एआई
काठमाडौँ- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले संघीय संसद् भवन, सिंहदरबारमा बुधबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै प्रारम्भिक बालविकास तथा शिक्षाको क्षेत्रमा केही सकारात्मक तथा केही चुनौतीपूर्ण संकेतहरू देखिएको बताएका छन्।
आर्थिक सर्वेक्षणअनुसार शैक्षिक सत्र २०८१ मा देशभर ३४ हजार ११ वटा प्रारम्भिक बालविकास केन्द्र सञ्चालनमा रहेका छन्। ती केन्द्रमध्ये करिब ८०.५ प्रतिशत सामुदायिक विद्यालयमा र १९.५ प्रतिशत संस्थागत विद्यालयमा सञ्चालन भएका छन्। अघिल्लो शैक्षिक सत्र २०८० मा सामुदायिक केन्द्रको हिस्सा ८१.१ प्रतिशत र संस्थागत केन्द्रको हिस्सा १८.९ प्रतिशत रहेको थियो।
सर्वेक्षणले प्रारम्भिक बालविकास केन्द्रमा भर्ना हुने बालबालिकाको सङ्ख्या घट्दो क्रममा रहेको देखाएको छ। शैक्षिक सत्र २०८१ मा यस्ता केन्द्रमा १३ लाख २० हजार ६५४ बालबालिका भर्ना भएका छन्। शैक्षिक सत्र २०८० मा यो सङ्ख्या १३ लाख २६ हजार २८५ थियो। यसले भर्ना सङ्ख्यामा करिब ०.४ प्रतिशतले कमी आएको देखाउँछ।
यद्यपि बालविकास केन्द्र पूरा गरेका बालबालिकाको कक्षा १ मा भर्ना हुने अनुपात भने बढेको छ। शैक्षिक सत्र २०८१ मा बालविकास केन्द्रबाट कक्षा १ मा प्रवेश गर्ने बालबालिकाको अनुपात ७६.३ प्रतिशत पुगेको छ। अघिल्लो शैक्षिक सत्र २०८० मा यो अनुपात ७५.२ प्रतिशत रहेको थियो।
आर्थिक सर्वेक्षणमा समावेश तथ्याङ्कअनुसार विगत पाँच वर्षमा प्रारम्भिक बालविकास केन्द्रको सङ्ख्या ३० हजार ९१५ बाट बढेर ३४ हजार ११ पुगेको छ भने कक्षा १ मा प्रवेश दर पनि क्रमशः सुधार हुँदै गएको देखिएको छ।
त्यसैगरी, बालविकास कक्षामा भर्ना भएका कुल बालबालिकामध्ये छात्रको सङ्ख्या छात्रीको तुलनामा केही बढी रहेको सर्वेक्षणले जनाएको छ। बालविकास केन्द्र तथा पूर्वप्राथमिक कक्षामा छात्रछात्रा अनुपात क्रमशः ५५.१ प्रतिशत र ५४.९ प्रतिशत रहेको उल्लेख गरिएको छ।
सरकारले प्रारम्भिक बालशिक्षामा पहुँच विस्तार, गुणस्तर अभिवृद्धि तथा विद्यालय प्रवेशलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।





