हेजिङ कूटनीति र बहुध्रुवीय विश्वको नयाँ समीकरण

हिमाल प्रेस १३ जेठ २०८३ २१:४४ | Wednesday, May 27, 2026
14
SHARES
हेजिङ कूटनीति र बहुध्रुवीय विश्वको नयाँ समीकरण एआईको सहयोगमा बनाइएको तस्बिर।

विश्व कूटनीतिक क्षेत्रमा एउटा भनाइ चर्चामा छ- स्थायी मित्रता होइन, परिस्थितिजन्य उपयोगिता। विश्व कूटनीति आज ‘स्थायी मित्रता होइन, परिस्थितिजन्य उपयोगिता’ को सिद्धान्तमा अघि बढिरहेको छ। शक्ति राष्ट्र अमेरिकाले सार्वजनिक मञ्चमा भारतलाई ‘प्रमुख रणनीतिक साझेदार’ र ‘हिन्द-प्रशान्त (इन्डो प्यासिफिक) को बलियो एंकर’ भनेर प्रशंसा गरिरहेको छ। अनि व्यवहारमा वा कुनै संकटका बेला अमेरिकाले दक्षिण एसियामा पाकिस्तानलाई पनि अगाडि सार्दै आएको छ।

अमेरिकाले चीनसँग व्यवस्थापनयोग्य प्रतिस्पर्धाको पुल बनाउँछ र भारतमाथि ट्यारिफ तथा व्यापारिक दबाब पनि बढाउँछ। यो विरोधाभासले नयाँदिल्लीदेखि काठमाडौँ र इस्लामाबादसम्म गम्भीर प्रश्नहरू खडा गरेका छन्। हुन त यस्तो जटिलता नयाँ होइन। शक्ति मुलुकले आफ्नो हितलाई ध्यान दिएर यस्तो कार्य अघि बढाउन सक्छन्।

भारत-अमेरिका सम्बन्ध उतारचढावको लामो कथा छ। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि जवाहरलाल नेहरूको अहस्तक्षेप नीतिले दुवै देशबीच दूरी बढाएको थियो। शीतयुद्धका बेला अमेरिका पाकिस्तानतर्फ झुक्यो। उता भारत सोभियत संघसँग नजिकियो। सन् १९६२ को भारत-चीन युद्धमा अमेरिकाले केही सहयोग गरे पनि १९७१ को बंगलादेश छुट्टै मुलुक हुने युद्धमा राष्ट्रपति निक्सन प्रशासनले पाकिस्तानको पक्ष लिएर भारतीय नौसेनालाई रोक्न युद्धपोत पठायो- त्यसपछि नयाँदिल्लीमा अविश्वासको गहिरो जग बसेको मानिन्छ। 

सन् १९९८ को पोखरण आणविक परीक्षणपछि अमेरिकी प्रतिबन्धले सम्बन्ध झन् चिसियो। शीतयुद्ध अन्त्य, भारतको आर्थिक उदारीकरण र चीनको उदयले दुवै देशलाई नजिक ल्यायो। सन् २००० मा बिल क्लिन्टनको भारत भ्रमणले नयाँ आयामको ढोका खोल्यो। अमेरिकी राष्ट्रपति जर्ज डब्लू बुसको पालामा सन् २००८ को नागरिक आणविक सम्झौताले अमेरिका र भारतलाई झन् नजिक मात्र होइन ऐतिहासिक मोडमा ल्यायो- फलस्वरूप भारत आणविक क्लबको मूलधारमा प्रवेश गर्‍यो। राष्ट्रपति बाराक ओबामाको समयमा रणनीतिक साझेदारीले गति लिएको थियो।

मोदी-ट्रम्पको व्यक्तिगत रसायनले सम्बन्धलाई थप तातो त बनायो। क्वाड (अमेरिका भारत जापान र अस्ट्रेलिया सहकार्य) को पुनरुत्थान, रक्षा सहकार्य, प्रविधि हस्तान्तरण र हिन्द-प्रशान्त रणनीतिले यो सम्बन्धलाई नयाँ उचाइ दिएको छ। तर ट्रम्प २.० मा फेरि पुरानो लेनदेनमुखी कूटनीति शैलीमा फर्किएको छ- २०२५ मा लगाइएका भन्सार शुल्क, रूसबाट तेल किनेकै कारण दबाब र २०२५ को भारत-पाकिस्तान द्वन्द्वमा ट्रम्पले मध्यस्थता दाबी गरेर पाकिस्तानसँग निकटता बढाएको घटनाले दुई देशको सम्बन्धको विरोधाभास झल्काउँछ।

मे १३-१५, २०२६ मा ट्रम्पको बेइजिङ भ्रमणले यो जटिलताको चित्र अझ स्पष्ट पार्‍यो। त्यहाँ अमेरिका-चीन सम्बन्धलाई ‘जी-टु’ शैलीमा प्रस्तुत गरियो- व्यापार सम्झौता, आपूर्ति शृंखला बलियो बनाउने र आर्थिक स्थिरताको जोड दिइयो। तर यो पूर्ण अलगावको कुरा थिएन, बरु प्रतिस्पर्धा र सहकार्यको सुन्दर मिश्रण थियो।

चीनको दुर्लभ खनिज, उत्पादन प्रणाली र विश्व अर्थतन्त्रमा रहेको गहिरो प्रभावलाई वासिङ्टनले बेवास्ता गर्न सक्दैन। मे १९-२० मा पुटिनको चीन भ्रमणले अर्को चित्र कोर्‍यो- रूस चीनतर्फ अझ गहिरो ढल्किएको देखिन्छ। त्यो भ्रमण पूरै रणनीतिक रहेको दुईपक्षीय वक्तव्यबाट स्पष्ट हुन्छ। ऊर्जा, रक्षा र पश्चिमविरोधी पक्ष बलियो बन्दै छ।

चीनमा ट्रम्प र पुटिनको भ्रमणले अमेरिकालाई एउटा स्पष्ट सन्देश दिए- चीन र रूस दुवै मोर्चामा पूर्ण टकराव सम्भव छैन। रुस र चीनबीच टकरावको अवस्था आएमा विश्वमा अमेरिकाले थप सय वर्ष एक ध्रुवीय प्रणालीमा लैजानेछ। तर रुस, चीन र भारत एक स्थानमा आए वा सहकार्य भएमा विश्व शक्ति सन्तुलनमा दीर्घकालीन असर पार्न सक्छ

चीनलाई सन्तुलनमा राख्न अमेरिकालाई भारतको साथ आवश्यक छ। रूसलाई पूर्ण रूपमा चीनको काखमा धकेल्न अमेरिका चाहँदैन। यही बिन्दुबाट भारतको रणनीतिक स्वायत्तता झन् अर्थपूर्ण बन्छ। भारतले आफूलाई स्वतन्त्र ध्रुवका रूपमा हेर्छ, जहाँ रणनीतिक स्वायत्तता उसको मूल मन्त्र हो। त्यसैले भारत क्वाड, आईटी, सेमिकन्डक्टर, रक्षा प्रविधि र हिन्द-प्रशान्त रणनीतिमा अमेरिकासँग हात मिलाउँछ, तर रुसी तेल किन्छ, एस-४०० लिन्छ, ब्रिक्समा सक्रिय रहन्छ र इरानसँग सम्बन्ध कायम राख्छ।

क्वाड सुरक्षा र प्रविधिको एक समुद्र हो- जहा समुद्री सुरक्षा, आपूर्ति  शृंखला र आर्टिफिसियल इन्टेलिजेन्समा सहकार्य गर्दै चीनको समुद्री दबदबालाई सन्तुलन गर्ने प्रयास यसबाट हुन्छ। ब्रिक्स भने बहुध्रुवीय विश्वको आर्थिक धार हो- ग्लोबल साउथको आवाज,  डलरको प्रभाव कम गराउँदै लैजाने (डिडलराइजेसन) प्रयास र वैकल्पिक विकास मोडेलको सपनामा ब्रिक्स अघि बढेको छ।

भारत यी दुवैलाई आफ्नो स्वायत्तताको एउटै लयमा गुनगुनाइरहेको छ, जुन उसकाे ‘हेजिङ’ कूटनीति हो। एउटा समुद्रको लहर हो भने अर्को पहाडको झरना। यी दुवै आवश्यक छन्, तर दुवैमा पूर्ण डुब्नु भारतका लागि सम्भव छैन। वासिङ्टनमा भारतबारे दुईवटा धार छन्। एउटा दीर्घकालीन धारले लोकतान्त्रिक भारतलाई चीनविरुद्धको बलियो काउन्टर ठान्छ, अर्को सावधानीपूर्ण धारले भन्छ- भारतले अमेरिकी बजार र प्रविधि प्रयोग गरेर आफ्नै राष्ट्रवादी शक्ति निर्माण गर्न सक्छ।

‘चीनसँग गरेको गल्ती भारतसँग दोहोर्‍याउने छैनौँ’, क्रिस्टोफर ल्यान्डाउले भन्नुको अर्थ यही सावधानी हो। यसै क्रममा भारतीय परराष्ट्रमन्त्री डा. एस जयशंकरको भूमिका निर्णायक बनेको छ। अमेरिकी प्रणाली बुझेका, पूर्वराजदूत जयशंकर पश्चिमसँग निकटता राख्छन् तर अधीनता स्वीकार गर्दैनन्। उनका छोरा ध्रुव जयशंकर ओ आरएफ अमेरिकामा सक्रिय छन्। यसले अमेरिकी वृत्तमा गहिरो पहुँचको संकेत गर्छ।

युक्रेन युद्धमा रुसी तेल बढाएको घटनाले स्पष्ट सन्देश दियो – भारत साझेदार हो, उपग्रह होइन। ट्रम्प प्रशासनले पाकिस्तानका सेना प्रमुख चिफ आसिम मुनिरसँग देखाएको निकटता पनि यही बहुस्तरीय खेलको अर्को अध्याय हो। इरान, अफगानिस्तान र बलुचिस्तानमा पाकिस्तानको भौगोलिक पहुँच र गुप्तचर क्षमताले यसलाई तत्कालीन संकट व्यवस्थापनमा अत्यन्त उपयोगी बनाउँछ।

२०२५ को भारत-पाकिस्तान द्वन्द्वमा ट्रम्पले मध्यस्थता दाबी गरेर पाकिस्तानसँगको सम्बन्ध तीव्र बनाए, जसले भारतमा असन्तुष्टि बढायो। ट्यारिफ पनि यसैको एउटा हिस्सा हो। नतिजास्वरूप अमेरिकाले दक्षिण एसियामा स्पष्ट दुई तहको नीति अपनाएको देखिन्छ: दीर्घकालीन शक्ति सन्तुलनका लागि भारत (क्वाड, एआई, सप्लाई चेन, रक्षा) र तत्कालीन सुरक्षा संकटका लागि पाकिस्तान। यो अमेरिकाको पनि हेजिङ कूटनीति हो। तर आफूलाई केन्द्रमा राखेर।

दक्षिण एसियामा पूर्ण ध्रुवीकरण भएको छैन। चीन-रूस नजिकिँदै छन्, अमेरिका-भारत साझेदारी बढ्दै छ तर पूर्ण गठबन्धन छैन, पाकिस्तान दुवैतिर खेलिरहेको छ। नेपालका लागि यो दृश्य एउटा अमूल्य पाठ हो। हामीले एक पक्षको क्याम्पमा जाने गल्ती गर्नु हुँदैन। भारतसँगको खुला सीमा, अर्थतन्त्र र सामाजिक बन्धन हाम्रो यथार्थ हो।

चीनसँग पूर्वाधार र व्यापारको सम्भावना छ भने अमेरिकासँग विकास, शिक्षा र प्रविधिको ढोका खुला छ। एकतर्फी झुकावले अर्को पक्षबाट दबाब निम्त्याउँछ। अमेरिका-भारत सम्बन्ध हित-आधारित साझेदारी हो, भावनात्मक गठबन्धन होइन। अमेरिका-चीन प्रतिस्पर्धा तीव्र छ, तर पूर्ण शीतयुद्धजस्तो विभाजन सम्भव छैन – दुवैसँग काम गर्ने क्षमता राख्नुपर्छ।

दीर्घकालीन रूपमा भारत दक्षिण एसियाको अपरिहार्य शक्ति हो, पुरानो ‘चीनमार्फत भारत सन्तुलन’ को सोच अब जोखिमपूर्ण बनेको छ। अहिलेको विश्वमा सबै देश ‘हेजिङ’ गरिरहेका छन्। नेपालले अब ‘एकतर्फी झुकाव’ होइन, ‘लचिलो रणनीतिक सन्तुलन’ सिक्नुपर्ने समय आएको छ। जोखिम न्यूनीकरणको यो कला नेपालले सिक्नुपर्छ।

भावनाभन्दा हितलाई प्राथमिकता दिँदै, स्वायत्तता कायम राख्दै लचिलो रणनीतिक र सन्तुलनमुखी कूटनीति अपनाउने समय आएको छ। यो बहुस्तरीय खेललाई बुझेर मात्र हामी हिमालको शान्तिलाई विश्वको जटिल धारासँग जोडेर नयाँ, सुन्दर कथा रच्न सक्छौँ। इतिहासले सिकाएको छ- कूटनीति कहिल्यै सरल हुँदैन, तर सन्तुलित बुद्धिमत्ताले हरेक विरोधाभासलाई अवसरमा बदल्न सक्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast