काठमाडौँ- चाइना सोसाइटी फर ह्युमन राइट्स स्टडीज, राष्ट्रिय मानव अधिकार आयोग नेपाल र त्रिभुवन विश्वविद्यालयको संयुक्त आयोजनामा ‘तिब्बतको परिदृश्य : नयाँ युग, नयाँ विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगर, चिनियाँ जनराजनीतिक परामर्शदात्री सम्मेलन (सीपीपीसीसी) राष्ट्रिय समितिको स्थायी समितिका सदस्य जिआङ जिआनजुओ र नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङको आतिथ्यमा आयोजित कार्यक्रममा नेपाल र चीनका विभिन्न क्षेत्रका तीन सयभन्दा बढी व्यक्तिको सहभागिता थियो।
कार्यक्रममा चीनको तिब्बत स्वायत्त क्षेत्र (सिजाङ) को शान्तिपूर्ण मुक्तिको ७५औँ वार्षिकोत्सवको सन्दर्भमा त्यहाँ भएको विकास र मानव अधिकारको अवस्थाबारे चर्चा गरिएको थियो।
कार्यक्रममा चिनियाँ पक्षका उपनिर्देशक जियाङले पछिल्लो ७५ वर्षमा चिनियाँ कम्युनिस्ट पार्टी र सरकारले जीवनयापन र विकासको अधिकारलाई प्राथमिक तथा आधारभूत मानव अधिकारका रूपमा अघि बढाउँदै आएको दाबी गरे। ‘सिजाङमा आएको नाटकीय परिवर्तन नयाँ युगमा चीनको मानव अधिकार विकासको सबैभन्दा जीवन्त उदाहरण हो,’ उनले भने।
राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष मगरले मानव अधिकारको प्रवर्द्धन र संरक्षणका क्षेत्रमा चीनले गरेका प्रयासको प्रशंसा गर्दै यस क्षेत्रमा चीनसँगको सहकार्य अझ सुदृढ गर्न आयोग इच्छुक रहेको बताए।
चिनियाँ राजदूत झाङले जीवन्त, खुला, सौहार्दपूर्ण र हरित सिजाङ निर्माणसम्बन्धी विकास अवधारणाले नेपाल–चीन सम्बन्धलाई थप गहिरो बनाउन सक्ने बताए। आर्थिक तथा सामाजिक विकास र तल्लो तहको शासन व्यवस्थापनमा सिजाङको अनुभव नेपालका लागि उपयोगी हुन सक्ने उनको भनाइ थियो।
उनले विकासका अवसरलाई ठोस सहकार्यको परिणाममा रूपान्तरण गर्न र नेपाल तथा चीनका जनतालाई थप लाभ पुर्याउन नेपालसँग सहकार्य गर्न चीन तयार रहेको बताए।
अनुभव तथा कथाहरू आदानप्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रमलाई ‘खुला सिजाङ’, ‘जीवन्त सिजाङ’, ‘सुमधुर सिजाङ’ र ‘हरित सिजाङ’ गरी चार विषयगत खण्डमा विभाजन गरिएको थियो। कार्यक्रममा चीन र नेपालका अतिथिले सिजाङको विकास, जनजीवन तथा सामाजिक परिवर्तनसँग सम्बन्धित अनुभव, कथा र तस्बिर प्रस्तुत गरेका थिए।


