काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकले गत सातादेखिको उकालो यात्रालाई निरन्तरता दिँदै साताको पहिलो कारोबार दिन सोमबार २७.८५ अंकले वृद्धि भएर २,७८६.३५ बिन्दुमा बन्द भएको छ। अघिल्लो कारोबार दिन परिसूचक १६.३८ अंकले बढेको थियो।
सोमबार बिहान कारोबार सुरु भएलगत्तै नेप्सेमा हरियाली कायम हुँदै अन्त्यमा १ प्रतिशतले उकालो लागेको हो। कारोबार अवधिमा २३५ कम्पनीको सेयर मूल्य बढ्यो भने २८ कम्पनीको मूल्य घट्यो। सात कम्पनीको मूल्य भने स्थिर रह्यो। कुल कारोबार रकम ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। जुन अप्रिल २८ यताकै उच्च दैनिक कारोबार हो। त्यस दिन ६ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
सोमबार कुल १ करोड ४५ लाख ४० हजार कित्ता सेयर ७५ हजार ८५६ पटकको कारोबारमार्फत किनबेच भएको थियो। व्यक्तिगत कम्पनीतर्फ थ्री स्टार हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.०१ प्रतिशतले बढ्यो भने बुङ्गल हाइड्रो लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै १०.३२ प्रतिशतले घट्यो।
त्यसैगरी अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको सबैभन्दा बढी ६० करोड २० लाख रुपैयाँ बराबरको कारोबार भयो। त्यसपछि रिडी पावर कम्पनी लिमिटेड र एपीआई पावर कम्पनी लिमिटेड क्रमशः ३० करोड १७ लाख ५० हजार रुपैयाँ र १८ करोड ४० लाख १० हजार रुपैयाँ कारोबारसहित दोस्रो र तेस्रो स्थानमा रहे।
समूहगत सूचकतर्फ म्युचुअल फन्ड उपसूचक ०.२ प्रतिशतले घटेर रातो क्षेत्रमा रहे पनि अन्य सबै समूह हरियो रहे। सबैभन्दा बढी वृद्धि हाइड्रोपावर उपसूचकमा देखियो, जुन १.५ प्रतिशतले बढ्यो।
त्यसपछि उत्पादन तथा प्रशोधन उपसूचक १.३५ प्रतिशत र अन्य उपसूचक १.२३ प्रतिशतले बढेका छन्।




