विद्यार्थीलाई चोयाका सामान बनाउन सिकाइदै

हिमाल प्रेस ११ जेठ २०८३ ९:४० | Monday, May 25, 2026
6
SHARES
विद्यार्थीलाई चोयाका सामान बनाउन सिकाइदै

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतमा रहेको दीपक माविका विद्यार्थीहरूलाई वातावरणमैत्री चोयाका सामान बनाउने सीप संरक्षण र हस्तान्तरण गर्न थालिएको छ।

विद्यार्थीलाई मौलिक र परम्परागत सीप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले डोको, दाम्लो, स्याखु निर्माणसम्बन्धी तालिम सञ्चालन भएको हो। बेनी नगरपालिकाको ‘हामी सक्छौ, हामी गर्छौ’ कार्यक्रममार्फत कक्षा ९ र १० का विद्यार्थीहरूलाई तालिम सञ्चालन गरिएको दीपक माविका सहायक प्रधानाध्यापक विजय सुवेदीले बताए।

एक महिनासम्म सञ्चालन हुने तालिममा २० जनाभन्दा बढी विद्यार्थीहरू सहभागी भएका छन्। स्थानीय मनबहादुर परियारले पठनपाठन हुनेबाहेकको समयमा दैनिक एक घण्टाका दरले निगालोबाट चोया बनाउने र विभिन्न सामग्री बुन्ने सीप सिकाएका छन्।

निगालो र बाँसको चोयाबाट डोका, नाङ्लो, डाली, थुन्से, भकारी, नाम्लो, दाम्लो बनाउन सिकाइने सहायक प्रअ सुवेदीले बताए। अघिल्लो पुुस्ताका नागरिकको मृत्युु, नयाँ पुस्ताका युवायुवतीमा ज्ञान, सीप हस्तान्तरण नभएको र प्लास्टिकबाट बनेका सामग्रीको बढ्दो प्रयोगका कारण चोयाबाट बनेका सामग्री र सीप लोप हुने अवस्थामा पुगेको छ। सामान भण्डारण र ढुुवानीमा प्रयोग हुुने चोयाका सामग्री वातावरणमैत्री हुुन्छन्।

प्लास्टिकका सामानका कारण प्रदूषण बढेकाले चोयाबाट बनेका सामग्री प्रयोगमा ल्याउन विद्यार्थीहरूको मागबमोजिम सीप हस्तान्तरण गर्न लागिएको हो। प्रतिडोकालाई रु एक हजारदेखि दुुई हजार ५०० मूल्य पर्छ।

गाउँमै रहेको कच्चा पदार्थको प्रयोगबाट आत्मनिर्भर र वायु प्रदूषण बढाउने प्लास्टिकजन्य सामानको आयात घटाइ आयआर्जनको अवसर सिर्जना हुने अपेक्षा गरिएको छ। बेनी नगरपालिकाले विद्यार्थी र शिक्षालाई सीप र श्रमसँग जोड्न माध्यमिक तहमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमै सीप सिकाउन ‘हामी सक्छौँ, हामी सक्छौँ’ कार्यक्रमलाई चार वर्षयता निरन्तरता दिदै आएको छ।

‘हाउस वायरिङ’, ‘प्लम्बिङ,’ कपाल काट्ने, अतिथि सत्कार, खाना पकाउने, प्रेसर कुकर बनाउनेलगायत सीपमूलक तालिम सञ्चालन गर्न नगरपालिकाले १४ वटा विद्यालयलाई चालु आर्थिक वर्षमा रु एक लाखका दरले बजेट उपलब्ध गराएको नगर प्रमुख सुरत केसीले बताए।

प्रकाशित: ११ जेठ २०८३ ९:४० | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast