एकैसाथ बहुआयामिक संकटमा अमेरिका

हिमाल प्रेस १० जेठ २०८३ १८:०९ | Sunday, May 24, 2026
8
SHARES
एकैसाथ बहुआयामिक संकटमा अमेरिका डोनाल्ड ट्रम्प। फाइल तस्बिर।

डोनाल्ड ट्रम्प ट्रम्प प्रशासनले चिनियाँ राष्ट्रपति सी जिनपिङप्रति देखाएको नरम दृष्टिकोण, भेनेजुएलाको शासन परिवर्तनप्रति गरिएको कठोर कदम, भ्लादिमिर पुटिनप्रति देखाइएको सहनशीलता, हुथी समूहसँगको युद्धविराम र इरानसँगको अधुरो युद्ध। यी सबैलाई बुझाउने कुनै एक स्पष्ट र सुसंगत व्याख्या छ कि छैन? आश्चर्यजनक रूपमा छ- अमेरिकामाथि एकै समयमा धेरैतिरबाट देखिने संकट। यो त्यस्तो खतरा हो जहाँ एकैसाथ धेरै विरोधीहरूले आक्रमण गर्दा महाशक्ति नै दबाबमा पर्छ।

यो अवधारणा ट्रम्पले मात्र ल्याएको होइन। सन् २०१२ सम्म पेन्टागनले दुई युद्ध रणनीति अपनाएको थियो-अर्थात् अमेरिका एकै समयमा दुई ठूला युद्ध जित्न सक्षम हुनुपर्छ भन्ने मान्यता। बाइडेन प्रशासनले यो क्षमताबाट पछि हट्दा र तानाशाहीहरूको अक्ष उदय हुँदा अमेरिकी सुरक्षाका लागि गम्भीर पुस्तागत संकट सिर्जना भएको ठानिएको थियो।

यस्ता संकटहरू जस्तै- मध्यपूर्वमा अर्को युद्ध, ताइवान जल क्षेत्रमार्गमा चीनको आक्रमण र नाटो क्षेत्रमा रुसको हस्तक्षेप फेरि एकैसाथ भड्किए भने अमेरिकी सेनालाई अत्यन्तै दबाबमा पार्नेछ। त्यसमाथि यी तानाशाही देशहरूले आणविक धम्कीमा समेत सहकार्य गर्न सक्छन्, जसले ८० वर्ष पुरानो प्रतिरोध क्षमताप्रणाली नै अस्थिर बनाउन सक्छ। सन् २०३५ सम्म चीन, रुस र उत्तर कोरियासँग अमेरिकाभन्दा दोब्बर आणविक हतियार हुने अनुमान छ। ती सबै देशसँग अमेरिकासम्म पुग्न सक्ने मिसाइल छन्।

बाइडेन प्रशासनको प्रयास कमजोर देशहरूलाई एकताबद्ध गर्दै तानाशाहीविरुद्ध गठबन्धन बनाउने थियो। ट्रम्प टोलीले यसलाई अवास्तविक सोच ठानेर भिन्न उपाय अघि सारेको छ- अपरिहार्य युद्धहरूलाई क्रमशः रोक्ने वा कमजोर पार्ने गरी पूर्व-आक्रमण गर्ने र कूटनीतिबाट विरोधी शक्तिहरूलाई विभाजित गर्ने। यसले अमेरिकालाई पुनः हतियार निर्माणका लागि समय दिन्छ।

यो नीति उदार, विश्वव्यापी विश्व व्यवस्थासँग गहिरो विच्छेद भए पनि नयाँ होइन। अमेरिका पहिले पनि यस्ता पूर्वआक्रमण युद्धहरूमा संलग्न भइसकेको छ। जस्तै- १९८९ मा पानामामाथि आक्रमण र २००३ मा इराक युद्ध। सन् १९७२ मा निक्सनले माओसँग सम्बन्ध सुधार गरेर सोभियत-चीन विभाजन गहिर्‍याउने प्रयास गरेका थिए। अहिले अमेरिकी परराष्ट्रमन्त्री मार्को रुबियोले १९४५ पछिको सुरक्षा व्यवस्था पुरानो भइसकेको भन्दै इरानविरुद्ध पूर्व-आक्रमणको उपयोगलाई समर्थन गरेका छन्। पेन्टागनका रणनीतिकार एल्ब्रिज कोल्बीका अनुसार नीति विशेष रूपमा एकैसाथ युद्ध नहुने गरी तय गरिएको छ।

यस कठोर रणनीतिक दृष्टिकोणबाट हेर्दा केही सफलता देखिएको छ। पेन्टागनका अनुसार अहिले भेनेजुएलामा मदुरोको उत्तराधिकारीसँग अमेरिकी सेनाले संवाद गरिरहेको छ। १९ मेमा अमेरिकी सेनाले इरानको रक्षा उद्योग, मिसाइल र नौसैनिक क्षमताको ८०-९० प्रतिशत नष्ट गरेको दाबी गरेको छ। इरानको हवाई, रडार र नौसेना क्षमतामा पनि ठूलो क्षति पुगेको र आणविक कार्यक्रम गम्भीर रूपमा पछाडि धकेलिएको बताइएको छ। तर इरान अझै पनि बाँकी क्षमताबाट होर्मुज जलमार्गमा दबाब सिर्जना गरिरहेको छ। चीन र रुस भने भेनेजुएला र तेहरानमा आफ्ना सहयोगीहरूलाई प्रत्यक्ष सहयोग गर्न अघि सरेका छैनन्।

यसैबीच अमेरिकाको २०२७ को रक्षा बजेट योजना १.५ ट्रिलियन डलरसम्म पुग्ने अनुमान छ, जुन २०२० को तुलनामा दोब्बर हो। यसमा आणविक शक्ति विस्तार, क्षेप्यास्त्र प्रतिरोध प्रणाली, अन्तरिक्ष निगरानी र हतियार उत्पादन वृद्धि समावेश छ। रक्षा उद्योग पनि तीव्र गतिमा विस्तार भइरहेको छ।

तर एकैसाथ संकट समाधान रणनीतिका तीन प्रमुख समस्या छन्।

पहिलो- अमेरिकाको आर्थिक क्षमता। रक्षा खर्च जीडीपीको करिब ४.५ प्रतिशत पुग्नेछ, तर अहिले उच्च ऋण र बजेट घाटाबीच यस्तो खर्च बढाउनु चुनौतीपूर्ण छ।

दोस्रो- मित्र राष्ट्रहरूको भूमिका। अमेरिकाले उनीहरूलाई पुनः सशस्त्र हुन प्रेरित गर्नुपर्छ, तर त्यति धेरै पनि होइन कि उनीहरू डराएर अमेरिका छोडून् वा कमजोर भएर आक्रमणको निसाना बनून्। यो सन्तुलन अत्यन्तै कठिन छ।

तेस्रो- प्रतिद्वन्द्वी तानाशाही देशहरूको व्यवहार। उनीहरूले अमेरिकाको पुनःसशस्त्रीकरणको समयलाई आफ्नो रणनीतिका लागि उपयोग गर्न सक्छन्। उनीहरूले अपेक्षित सहुलियत पाएनन् भने, उनीहरू छिटो कदम चाल्ने सम्भावना बढ्छ।

यसरी हेर्दा एकैसाथ धेरै संकट उत्पन्न हुने समस्या वास्तविक चुनौती हो। यसलाई समाधान गर्ने प्रयास भइरहेको छ, तर यसले आर्थिक दबाब, मित्र राष्ट्रहरूमा अस्थिरता र शत्रु राष्ट्रहरूको समय रणनीतिबीच विश्वलाई अझै खतरनाक दिशातर्फ धकेल्न सक्छ। फाइनान्सियल टाइम्सबाट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast