सुकुना माविमा छात्रामाथि दुर्व्यवहार : थप एक शिक्षक पक्राउ, निष्पक्ष छानबिन गर्न शिक्षक महासंघको माग

हिमाल प्रेस ५ साउन २०८३ १७:४७ | Tuesday, July 21, 2026
54
SHARES
सुकुना माविमा छात्रामाथि दुर्व्यवहार : थप एक शिक्षक पक्राउ,  निष्पक्ष छानबिन गर्न शिक्षक महासंघको माग

काठमाडौँ- नेपाल शिक्षक महासंघ नगर समिति, सुन्दर हरैँचाले नगरपालिकाको वडा नम्बर १० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको यथार्थ सत्यतथ्य बाहिर ल्याउन विद्यालय र अनुसन्धानमा संलग्न निकायसँग निष्पक्ष अनुसन्धानको माग गरेको हो।

अनुसन्धान सहज बनाउन विद्यालयले आरोपित शिक्षक-कर्मचारीलाई निलम्बन गरिसकेको तथा नेपाल प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको महासंघले जनाएको छ। नगरपालिकाले सुकुना माध्यमिक विद्यालय र शिक्षा शाखालाई प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ।

अनुसन्धानलाई पूर्ण सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै महासंघले तथ्य पुष्टि नहुँदै कुनै पनि व्यक्ति वा पक्षप्रति पूर्वाग्रह राखेर भ्रम फैलाउने कार्य नगर्न सबैमा आग्रह गरेको छ।

यसैबीच, छात्रामाथि दुर्व्यवहार गरेको आरोपमा संगीत शिक्षक भीम नेपाल पनि पक्राउ परेका छन्। उनी पक्राउ परेसँगै यस प्रकरणमा पक्राउ पर्नेहरूको संख्या चार पुगेको छ।

यसअघि सार्वजनिक भएका फेसबुक च्याटहरूका आधारमा मोरङ प्रहरीले विद्यालयका लेखा अधिकृत तथा शिक्षक अविरल मास्के, बस चालक प्रदीप भट्टराई र शिक्षक किशोरलाल गच्छेदारलाई सोमबार बिहान पक्राउ गरेको थियो।

घटना सार्वजनिक भएपछि फरार रहेका संगीत शिक्षक भीम नेपाललाई सोमबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा डीएसपी मकेन्द्र मिश्रले जानकारी दिएका छन्।

प्रकाशित: ५ साउन २०८३ १७:४७ | Tuesday, July 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast