शिक्षा प्रणालीमा सरकारको नयाँ ढाँचा, कक्षा ११ को भर्ना असार १ देखि

हिमाल प्रेस ६ जेठ २०८३ १५:४४ | Wednesday, May 20, 2026
1.4k
SHARES
शिक्षा प्रणालीमा सरकारको नयाँ ढाँचा, कक्षा ११ को भर्ना असार १ देखि

काठमाडौँ- सरकारले विद्यालय तह (१-१२) को शैक्षिक सत्र, पाठ्यक्रम परिमार्जन, परीक्षा प्रणाली र शिक्षक व्यवस्थापनलाई एकै प्याकेजमा समेटेर संरचनागत सुधार गर्ने तयारी अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ का लागि आगामी असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।

मन्त्रालयका सूचना अधिकारी तथा उपसचिव वीरबहादुर धामीले बुधबार हिमालप्रेससँग भने, ‘कक्षा ११ का लागि असार १ गतेबाट भर्ना सुरु हुन्छ। त्यसको प्रक्रिया अगाडि बढाउन सहजीकरण भएको छ। त्यो भनेको पहिलो लटको भर्ना हुन्छ। १ गतेबाटै एसईई ग्रेड वृद्धि परीक्षा पनि छ। १० दिनभित्र त्यसको नतिजा पनि आउँछ। शैक्षिक सत्र असार १ गते पछाडि गर्ने गरी छलफल भइरहेको छ।’

विद्यालय तहको शैक्षिक सत्रलाई एकै ढाँचामा ल्याउन मन्त्रालयले छलफल अघि बढाएको हो। यसअघि वैशाख १५ बाट नयाँ शैक्षिक सत्र सुरु गरिएको भए पनि अब १-१२ तहलाई समन्वय गरेर एउटै प्रणाली बनाउने तयारी छ।

यसका लागि काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेलको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरिएको छ। प्रारम्भिक बालविकासदेखि कक्षा १२ सम्मको पाठ्यक्रम परिमार्जन गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ।

धामीले भने, ‘त्यसबारे समग्र एउटा प्याकेजमै छलफल भइरहेको छ। पाठ्यक्रम परिमार्जन गर्न पनि। नयाँ वर्षका लागि कुन तरिका, त्यो भित्र नयाँ कार्यक्रम पनि आउँछ। विधि पद्धति आउँछ। यो कुरालाई उच्चस्तरीय समिति बनेको छ, प्रा.डा. बालचन्द्र लुइँटेलको अध्यक्षतामा। ६ महिनाको कार्यादेश दिएर काम भइरहेको छ।’

शिक्षक सरुवा निर्देशिका निष्क्रिय

त्यसैगरी शिक्षक सरुवा निर्देशिका-२०८१ निष्क्रिय भएको छ। कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको निर्देशनअनुसार प्रत्यायोजित विधायन ऐनबमोजिम दर्ता नभएका कार्यविधि स्वतः निष्क्रिय हुने प्रक्रियाअनुसार उक्त निर्देशिका अब लागू नहुने भएको हो।

धामीले भने, ‘कानुन मन्त्रालयले अहिलेसम्म भएका सम्पूर्ण कार्यविधि, मापदण्ड, निर्देशिका यी सबैलाई सूचीकृत र दर्ता गर्नुपर्ने भनेको भन्यो। प्रत्यायोजित विधायन ऐनको दफा २५ अनुसार हामीले सबै कार्यविधि दर्ताका लागि पठायौं। केही स्वीकृत भए, केही भएनन्। शिक्षक सरुवा कार्यविधि पनि स्वीकृत भएन। त्यसपछि त्यो निष्क्रिय भयो। अब त्यसपछि शिक्षक सरुवाका कामहरू शिक्षा नियमावली २०५९ को नियम ९९ अनुसार हुन्छ।’

अब मन्त्रालयले छुट्टै कार्यविधि ल्याउनुको सट्टा शिक्षा नियमावली संशोधन गर्ने तयारी गरेको छ। मन्त्री सस्मित पोखरेलको अग्रसरतामा नियमावली संशोधन प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

‘अब शिक्षक सरुवाको नयाँ कार्यविधिभन्दा पनि शिक्षा नियमावली संशोधन गर्ने गरी मन्त्रालय अगाडि बढेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलकै अग्रसरतामा नियमावली संशोधन अगाडि बढेको छ। संशोधन टुंगिएपछि मन्त्रिपरिषद्‌मा जान्छ,’ उनले भने।

यसअघि तत्कालीन शिक्षामन्त्री सुमना श्रेष्ठले ल्याएको शिक्षक सरुवा निर्देशिकाको व्यवहारिकतामाथि नेपाल शिक्षक महासंघले समेत आपत्ति जनाएको थियो।

प्रकाशित: ६ जेठ २०८३ १५:४४ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast