काठमाडौँ- आईसीसी विश्वकप लिग–२ त्रिकोणत्मक सिरिजको पहिलो खेमा नेपाललाई स्कटल्यान्डले २४४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले ८ विकेट गुमाएर २४३ रन बनाएको हो। नेपालका लागि सन्दीप लामिछानेले चार विकेट लिए भने करण केसी र नन्दन यादवले समान दुई दुई विकेट लिए।
स्कटल्यान्डका जर्ज मुन्सीले ७५ रनको अर्धशतकिय इनिङ खेले । उनले ६२ बलमा १२ चौका र दुई छक्का प्रहार गरे। फिन्ले म्याककिएथले ३५ र माइकल इंग्लिसले अविजित ३४ रनको योगदान दिँदा माइकल लिस्कले २९, मार्क वाटले २४ र म्याथ्यु क्रसले १८ रन बनाए । पहिलो विकेटका लागि मुन्सी र म्याककिएथले ११४ रनको साझेदारी गरेका थिए ।
घरेलु मैदान र समर्थकको साथ पाउने भएकाले आजको खेल नेपालका लागि लिग–२ को तालिकामा सुधार गर्न महत्त्वपूर्ण मानिएको छ। अबको केही बेरमा नेपाल ब्याटिङमा उत्रनेछ।



