विश्वकप उद्घाटन : केटी पेरी, साकिरा र लिसाको प्रस्तुति

हिमाल प्रेस २७ वैशाख २०८३ १३:५५ | Sunday, May 10, 2026
6
SHARES
विश्वकप उद्घाटन : केटी पेरी, साकिरा र लिसाको प्रस्तुति

काठमाडौँ- अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले विश्वकप फुटबल २०२६ को उद्घाटन समारोहका लागि चर्चित कलाकारहरूको सूची सार्वजनिक गरेको छ। फिफाका अनुसार विश्वप्रसिद्ध संगीत कलाकारहरूले प्रतियोगिताका तीन आयोजक राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोभरि प्रस्तुति दिनेछन्।

यस वर्षको विश्वकपमा प्रत्येक आयोजक राष्ट्रमा पहिलो खेलअघि छुट्टाछुट्टै उद्घाटन समारोह आयोजना गरिनेछ, जसले प्रतियोगिताको सुरुआतलाई विश्वव्यापी मनोरञ्जन महोत्सवमा परिणत गर्नेछ।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उद्घाटन समारोहहरूले प्रत्येक आयोजक राष्ट्रको चिनारी प्रस्तुत गर्नुका साथै प्रतियोगिताको विश्वव्यापी भावना झल्काउने बताए। उनले विज्ञप्तिमा लेखेका छन्, ‘मेक्सिको सिटीबाट सुरु भएर त्यसपछिका दिनमा टोरन्टो र लस एन्जलससम्म पुग्ने यी समारोहहरूले संगीत, संस्कृति र फुटबललाई यस्तो तरिकाले एकसाथ ल्याउनेछन्, जसले प्रत्येक राष्ट्रको विशिष्टता र यस प्रतियोगितालाई परिभाषित गर्ने एकतालाई प्रतिबिम्बित गर्छ।’

केटी पेरीले अमेरिकाको उद्घाटन समारोहमा प्रस्तुति दिने भएकी छन्। उनी जुन १२ मा सोफाइ रंगशालामा हुने अमेरिकाको उद्घाटन समारोहमा मुख्य प्रस्तोता हुनेछिन्। अमेरिकाले पाराग्वेविरुद्ध खेल्नुअघि हुने उक्त कार्यक्रममा उनी सहभागी हुनेछन्।

उनीसँगै फ्युचर, लिसा, टायला, अनिट्टा, रेमा र डीजे सञ्जयले पनि प्रस्तुति दिनेछन्।

यसैगरी जे बाल्भिन, बेलिन्डा र मानाले मेक्सिकोको समारोहमा प्रस्तुति दिनेछन्। प्रतियोगिताको पहिलो आधिकारिक उद्घाटन समारोह जुन ११ मा मेक्सिकोको एस्टाडियो अज्टेकामा हुनेछ। त्यस क्रममा मेक्सिकोले दक्षिण अफ्रिकासँग प्रतिस्पर्धा गर्नेछ। उद्घाटना समारोहमा अलेजान्द्रो फर्नान्डेज, ड्यानी ओसन, लिला डाउन्सलगायतको प्रस्तुति रहनेछ। मेक्सिकोको समारोहमा स्थानीय संस्कृति र सांगीतिक परम्परालाई विशेष प्राथमिकता दिइने अपेक्षा गरिएको छ।

जुन १२ मा बीएमओ फिल्डमा हुने टोरन्टो उद्घाटन समारोहमा क्यानडेली तथा अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ।

यसैबीच साकिरा एक दशकपछि विश्वकप मञ्चमा फर्किने भएकी छन्। उनको चर्चित गीत ‘वाका वाका’ विश्व फुटबल इतिहासकै सबैभन्दा लोकप्रिय गीतहरूमध्ये एक बनेको थियो।

कोलम्बियाली पप स्टार साकिराले हालै ‘दाइ दाइ’ नामक नयाँ विश्वकप गीत सार्वजनिक गर्ने घोषणा गरेकी छन्। साकिराले ब्राजिलको मराकाना स्टेडियमबाट उक्त गीतको झलक सार्वजनिक गरेकी हुन्। गीत मे १४ मा रिलिज हुनेछ।

फिफा विश्वकप २०२६ जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ। यो विश्वकप इतिहासकै सबैभन्दा ठूलो संस्करण हुनेछ। तीन आयोजक राष्ट्रमा कुल १०४ खेल खेलाइनेछन्। उद्घाटन खेल मेक्सिको सिटीमा हुनेछ भने फाइनल अमेरिकाको न्यु जर्सीमा आयोजना गरिने तय भएको छ।

प्रकाशित: २७ वैशाख २०८३ १३:५५ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast