काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाएका छन्।
अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघ र एकीकृत ट्रेड युनियन महासंघले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा सहसंयोजक नेपालले गणतन्त्रमा सबै नागरिकको अधिकार सुनिश्चित हुनुपर्नेमा वर्तमान सरकारले नागरिकको अधिकार खोस्न लागेको आरोप लगाए।
विद्यार्थी र मजदुरहरुको अधिकार नै सरकारले खोस्न लागेको भन्दै उनले संगठित हुन पाउने संवैधानिक अधिकार कसैले खोस्न नपाउने उल्लेख गरे। उनले देशलाई अघि बढाउन कुनै समस्या भए आफूहरु पनि सँगै बसेर समाधान खोज्ने धारणा राखे।
सहसंयोजक नेपालले वास्तविक सुकुम्बासीको पहिचान नै नगरी दमन गर्ने कामलाई जायज भन्न नसकिने स्पष्ट पारे। वर्तमान सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेकाले सरकारको प्रारम्भिक लक्षण राम्रो नदेखिएको उनको भनाइ छ।
उनले जनतालाई पीडा र यातना दिने गरी जनविरोधी काम नगर्न समेत सरकारलाई सुझाव दिए। नेपालले मजदुरहरुको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न पनि आग्रह गरे।



