काठमाडौँ- नेपाल प्रज्ञा-प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, दर्शनशास्त्र र सामाजिकशास्त्रलगायत विभिन्न विधामा प्रज्ञा पुरस्कार प्रदान गरेको छ।
बिहीबार काठमाडौँमा कार्यक्रम गर्दै प्रतिष्ठानले जनही एक लाख नगद राशिसहितको प्रज्ञा पुरस्कार १२ जना र जनही ५० हजार नगद राशिसहितको प्रज्ञा प्रादेशिक पुरस्कार सात जना स्रष्टाहरूलाई प्रदान गरेको हो।
जसअनुसार प्रज्ञा पुरस्कार समालोचनातर्फ प्रा.डा. अभि सुवेदी, भाषातर्फ प्रा. मुकुन्दशरण उपाध्याय, सामाजिकशास्त्रतर्फ डा. डम्बर चेम्जोङ, पद्य साहित्यतर्फ शैलेन्द्र साकार, संस्कृतितर्फ प्रा.डा. सोमप्रसाद खतिवडा, बालसाहित्यतर्फ सुशीला प्रधानाङ्गलाई प्रदान गरिएको छ।
त्यस्तै गद्यसाहित्यतर्फ आहुति, दर्शनतर्फ ईश्वरचन्द्र ज्ञवाली, अनुवादतर्फ डा. सर्वोत्तम श्रेष्ठ, अन्तर्देशीयतर्फ नरेशकाङमाङ राई (बेलायत), मातृभाषा (हिमाली पहाडी) तर्फ बुद्ध योञ्जन र मातृभाषा (मधेश तराई) तर्फ अमरेन्द्रकुमार यादवलाई प्रज्ञा पुरस्कार प्रदान गरिएको छ।
त्यसै गरी प्रज्ञा प्रादेशिक पुरस्कार कोशी प्रदेशतर्फ मलिसा याक्थुम्बा लिम्बु, मधेश प्रदेशतर्फ मुना चौधरी, बागमती प्रदेशतर्फ शान्ति प्रिय बन्दना, गण्डकी प्रदेशतर्फ अनिल श्रेष्ठ, लुम्बिनी प्रदेशतर्फ क्षितिज मगर, कर्णाली प्रदेशतर्फ रमानन्द आचार्य र सुदूरपश्चिम प्रदेशतर्फ कर्ण दयाल सोडारीलाई प्रदान गरिएको छ। प्रज्ञा प्रादेशिक पुरस्कार यसै वर्षदेखि प्रारम्भ गरिएको प्रतिष्ठानका कुलपति भूपाल राईले जानकारी दिए।




