अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनफिङ। फाइल तस्बिर
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा साझा गरेको ‘धरतीमा नर्क’ भन्ने पोस्टप्रति चीनले प्रतिक्रिया दिएको छ। भारतमा चिनियाँ दूतावासकी प्रवक्ता यू जिनले राष्ट्रपति ट्रम्पको यो पोस्टप्रति प्रक्रिया दिएकी हुन्।
उनले चीन र अमेरिकाका भिडियोहरू साझा गर्दै दुवै देशको तुलना गरेकी छन्।
जिनले सामाजिक सञ्जाल एक्समा लेखेकी छन्,‘एउटा देश कहिल्यै अन्त्य नहुने युद्धमा हरेक वर्ष एक ट्रिलियन खर्च गर्छ। अर्कोतर्फ हामी हाम्रा मानिसहरूका लागि राम्रो जीवन बनाउन एक ट्रिलियन खर्च गर्छौँ। यदि यो जीवनलाई ‘नर्क’ भनिन्छ भने, हामी यसलाई सधैँ सहन तयार छौँ।’
यसका साथै जिनले एउटा भिडिया पनि साझा गरेकी छन्, जसमा एउटा मेट्रो ट्र्याकमा फोहोर थुप्रिएको देखिन्छ र त्यसमा न्युयोर्क लेखिएको छ।अर्कोतर्फ चीनको सियान सहरको भिडियो छ, जसमा आकर्षक पूर्वाधार देखाइएको छ।
अमेरिकी राष्ट्रपति ट्रम्पले दुई दिनअघि अमेरिकाको दक्षिणपन्थी रोडियो प्रस्तोता माइकल स्याभेजको एउटा बयान साझा गरेका थिए।
बयानमा लेखिएको थियो,‘यहाँ एउटा बच्च तुरुन्तै नागरिक बन्छ र त्यसपछि उनीहरूले पूरा परिवारलाई चीन वा भारत वा संसारको कुनै नर्कबाट अमेरिका लिएर आउँछन्। यो हेर्नका लागि तपाईँलाई धेरै टाढा जानुपर्दैन, यहाँ अब अंग्रेजी बोलिँदैन।’
ट्रम्पको यो पोस्टपछि भारतमा विपक्षी दलहरूले आपत्ति जनाउँदै कडा प्रतिक्रिया दिएका थिए।
भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले ‘हामीले यस्ता रिपोर्टहरू देखेको’ प्रतिक्रिया दिएका थिए।
यद्यपि पछि भारत सरकारले पनि यस विषयमा कडा अडान लिएको थियो। भारतले आपत्ति जनाउँदै यो दुई देशबीचको मजबुत सम्बन्धअनुरूप नभएको प्रतिक्रिया दिएको थियो।




