नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनर्गठन गर्ने जिम्मा आफूहरुको काँधमा आएको बताएका छन्।
कम्युनिष्ट पार्टीको ७७ औँ स्थापना दिवस तथा १५६ औँ लेनिन जयन्तीको अवसरमा बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले मुलुकमा कम्युनिष्ट आन्दोलन निकै कमजोर भएको भन्दै फेरि पनि यसलाई पुनर्गठन गर्ने जिम्मा आफूहरुको काँधमा आएको बताए।
उनले निर्वाचनको परिणामले दिएको धक्का पार्टीभित्र जम्मा भएको फोहोरमैला सफा गर्ने अवसर भएको धारणा राखे। उनले कम्युनिष्ट पार्टीले बेहोर्नुपरेको धक्का मात्रै भएकाले कमीकमजोरीको वस्तुवादी मुल्यांकन गर्नुपर्ने उल्लेख गरे।
नेकपालाई जनताले घृणा गरेको नभई सच्चिएर आउने मौका दिएकाले त्यसलाई पार्टीले अवसरका रुपमा लिने बताए। संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर सबै राजनीतिक शक्तिहरूलाई एक ठाउँमा ल्याएर फेरि एकचोटि राष्ट्रको अगाडि देखा परेको स्वाधीनताको समस्या, भौगोलिक अखण्डताका समस्या लगायतका समस्याको सामना गरिने प्रचण्डले बताए।
पार्टीलाई पुनर्गठित र पुनर्संरचनासहित रुपान्तरण गरिने धारणा राख्दै प्रचण्डले सच्चिन नचाहनेहरुलाई पार्टी छाड्न समेत भनिसकेको उल्लेख गरे। त्यस्तै उनले वर्तमान सरकारका राम्रा कामलाई समर्थन हुने प्रतिबद्धता जनाए पनि प्रारम्भीक लक्षण राम्रो नदेखिएको टिप्पणी गरे।
कार्यक्रममा नेकपा सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनमा उकालो र ओरालो भइरहने भन्दै कमीकमजोरी सुधार गर्दै अघि बढ्नुपर्ने बताए। उनले लोकतन्त्रको संवाहक, गणतन्त्रको रक्षक र संघीयताको पक्षपोषक कम्युनिस्ट पार्टी हो भन्ने विश्वास जनतामा दिन सक्नुपर्ने बताए। लोकतन्त्रको बलियो खम्बाको रूपमा कम्युनिस्ट पार्टीले नै भूमिका खेल्न सक्ने उनको भनाइ छ।
नेपालले नेकपालाई जनतामा विश्वास भएको हुनाले जनताले फेरि पनि अवसर र न्याय दिने धारणा राखे।



